डब्लुएचओको चेतावनी : ७०% देशमा स्वास्थ्य सेवा प्रभावित, आपतकालीन सहयोगको खाँचो

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एक पछिल्लो मूल्याङ्कन पछि ७० प्रतिशत देशहरूमा स्वास्थ्य प्रणालीमा गम्भीर असर देखिएको चेतावनी दिएकोछ।विशेष गरी निम्न र निम्न-मध्यम आय भएका देशहरूमा विकास सहायता को एक्कासी कटौती वा स्थगनका कारण स्वास्थ्य सेवाहरू प्रभावित भएका हुन्।
डब्लुएचओले मार्च–अप्रिल २०२५ मा १०८ देश कार्यालयहरूसँग गरेको छिटो मूल्याङ्कन अनुसार धेरै देशहरू आन्तरिक स्रोत वा वैकल्पिक बाह्य स्रोतहरूबाट बजेट व्यवस्थापन गर्ने प्रयासमा छन्। तर, करिब २४ प्रतिशत देशहरूले आम नागरिकलाई नै बढी खर्च गर्नुपर्ने अवस्था आएको बताएका छन्, जसको प्रत्यक्ष मार गरिब र कमजोर वर्गमाथि परेको छ।
डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भने, ‘यी नतिजाहरूले अचानक आएको सहयोग कटौतीले करोडौं मानिसको स्वास्थ्यमा पार्न सक्ने असरको चिन्ताजनक तस्वीर देखाउँछ।’ उनले अझ थपे, ‘यद्यपि यो एउटा झट्का हो, यसले देशहरूलाई सहयोगमा निर्भरता घटाएर आत्मनिर्भरता तर्फ जान उत्प्रेरित पनि गरेको छ।’
१०८ मध्ये ८१ देश को कार्यालयले डब्लुएचओसँग नवीन स्रोत परिचालन, प्रविधिमा सहयोग र लक्षित प्रविधिक सहायताको माग गरेका छन्।
डब्लुएचओले आगामी दिनहरूमा यो संकटलाई नजिकबाट नियाल्दै विश्वव्यापी स्वास्थ्य समुदाय र दातृ निकायहरू सँग सहकार्य गरी तत्कालीन राहत योजना कार्यान्वयन गर्ने जनाएको छ।
प्रमुख निष्कर्षहरू
- स्वास्थ्य आपतकालीन तयारी, सार्वजनिक स्वास्थ्य निगरानी, सेवा प्रवाह, मानवीय सहायता तथा स्वास्थ्यकर्मीमा सबैभन्दा बढी असर परेको छ।
- तेस्रो भाग भन्दा बढी देशहरूमा औलो, एचआईभी, क्षयरोग, यौनजन्य रोग, परिवार नियोजन र मातृ-शिशु स्वास्थ्य सेवामा व्यापक अवरोध देखिएको छ।
- औषधि र स्वास्थ्य सामग्रीको अभावले धेरै देशहरूमा उपचार सेवामै संकट ल्याएको छ।
- आधा भन्दा बढी देशहरूमा स्वास्थ्यकर्मीको रोजगारी गुमेको र तालिम कार्यक्रम अवरुद्ध भएको उल्लेख गरिएको छ।
- सूचनातन्त्र पनि प्रभावित भएको छ। ४० प्रतिशत देशमा रोग निगरानी, आपतकालीन सूचना प्रणाली, रिपोर्टिङ प्रणाली तथा जनसांख्यिक सर्वेक्षणमा अवरोध देखिएको छ।
प्रतिक्रिया दिनुहोस