‘प्लेटलेट रिच प्लाज्मा थेरापी ठगी हो, यो ‘प्लेसेबो’ भन्दा बढी केही होइन’

नयाँ दिल्ली (ब्युरो) – भारतको तेलंगाना राज्य स्थित हैदराबाद को निजाम्स इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एनआइएमएस) लगायत निजी र सरकारी अस्पतालका हड्डी रोग विशेषज्ञ डाक्टरहरूले प्लेटलेट रिच प्लाज्मा (पिआरपी) थेरापीलाई अनैतिक र ठगीको रूपमा दाबी गर्दै तेलंगाना मेडिकल काउन्सिल (टिएमसी) मा उजुरी दर्ता गराएका छन् । उक्त थेरापी हाडजोर्नी, छाला रोग विशेषज्ञ र पेन फिजिसियन हरू नेपालमा समेत गर्दै आएका छन ।
तेलंगाना मेडिकल काउन्सिलका अध्यक्ष डा. के महेश कुमारले स्थानीय सञ्चार माध्यमहरू लाई पुष्टि गर्दै भने पिआरपी थेरापीको प्रभावकारिता र यसको प्रचार प्रसार सम्बन्धी धेरै उजुरीहरूकाे हाल समीक्षा भइरहेको छ ।
गत केही महिनामा ओस्मानिया जेनरल हस्पिटल, गान्धी हस्पिटल र निजाम्स इन्स्टिच्युट अफ मेडिकल साइन्सेज अस्पतालका विशेषज्ञ सहित ७५ जना भन्दा बढी हड्डी रोग विशेषज्ञले लिखित उजुरी दिएका छन ।
डाक्टरहरूको दाबी अनुसार, विगत तीनचार दशक देखि प्रयोग हुँदै आएको पिआरपी थेरापीमा वैज्ञानिक प्रमाणको अभाव छ । डाक्टरहरू भन्छन् की प्लेटलेट–रिच प्लाज्मा थेरापीको प्रभावकारिता पुष्टि गर्ने कुनै ठोस वैज्ञानिक प्रमाण छैन ।
पिआरपी थेरापी के हो ?
यसमा बिरामीको आफ्नै रगतबाट प्लेटलेटहरू सङ्केन्द्रित गरी असर परेको ठाउमा इन्जेक्सन दिइन्छ, जसले घाउ निको पार्ने र पुनर्जीवन (रिजेनरेसन) प्रक्रियामा सहयोग गर्ने भनिन्छ, विशेष गरी जोर्नी दुखाइ र कपाल झर्ने समस्याका लागि ।
उजुरी अनुसार, पिआरी थेरापीलाई केही गैर–योग्य व्यक्तिहरू द्वारा आक्रामक रूपमा प्रवर्द्धन गरिदैछ । उनीहरू लाई घुडाको अर्थराइटिसको उपचार गर्ने योग्यता छैन भने पनि, सेलेब्रिटीहरूद्वारा गरिएको प्रचार मार्फत पिआरपी लाई ‘चमत्कारी उपचार’ का रूपमा प्रस्तुत गरी बिरामीहरूलाई भ्रममा पारिएको आरोप छ ।
हैदराबादका एक अग्रणी हड्डी रोग विशेषज्ञ डा. के सुधीर रेड्डी ले स्थानीय सञ्चार माध्यम लाई भने अनुसार, थुप्रै क्लिनिकहरूले पिआरपी थेरापीलाई गलत रूपमा क्रान्तिकारी उपचारको रूपमा प्रचार गरिरहेका छन ।
डा. रेड्डी ले उच्च गुणस्तरका र्यान्डमाइज्ड कन्ट्रोल्ड ट्रायलहरूको हवाला दिदैँ भने –’पिआरपी थेरापीले न त कार्टिलेज वृद्धि गर्छ न त टिस्यु (तन्तु) निको पार्छ ।’
डाक्टरहरू भन्छन्, यस्ता झूटा दाबीमा विश्वास गर्दै धेरै बिरामीहरूले आफ्नो जग्गा बेचे, ऋण लिए, आर्थिक समस्या भोगे, तर अवस्था झनै बिग्रिएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस