विश्व स्वास्थ्य दिवस २०२५: स्वस्थ सुरुवात, आशापूर्ण भविष्य

हरेक वर्षको अप्रिल ७ तारिख विश्वभर ‘विश्व स्वास्थ्य दिवस’ मनाइन्छ। यो विशेष दिन स्वास्थ्य प्रति जागरूकता फैलाउने उद्देश्यले मनाइन्छ, जसले मानिसहरूलाई स्वस्थ जीवन शैली अपनाउन प्रेरित गर्छ। २०२५ मा यो दिवस ‘स्वस्थ सुरुवात, आशापूर्ण भविष्य’ भन्ने मूल नारासहित मातृ तथा नवजात स्वास्थ्यप्रति समर्पित गरिएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना सन् १९४८ मा अप्रिल ७ तारिखका दिन भएको थियो। यसै दिनलाई सम्झेर हरेक वर्ष विश्व स्वास्थ्य दिवस मनाइन्छ। विश्व स्वास्थ्य संगठन स्वास्थ्य क्षेत्रको अन्तर्राष्ट्रिय निकाय हो जसले विश्वव्यापी रूपमा स्वास्थ्यसम्बन्धी नीति निर्माण, कार्यक्रम सञ्चालन र सहयोग पुर्याउने कार्य गर्दछ।
डब्लुएचओ को प्रमुख उद्देश्य ‘सबैजनाको लागि स्वास्थ्य’ भन्ने मूल मन्त्र अनुरूप सबै देशका मानिसहरूलाई आधारभूत स्वास्थ्य सेवामा पहुँच दिलाउनु हो। सन् १९५० देखि औपचारिक रूपमा हरेक वर्षको अप्रिल ७ लाई ‘विश्व स्वास्थ्य दिवस’ को रूपमा मनाउने थालिएको हो।
विश्व स्वास्थ्य दिवस मनाउनुको मुख्य उद्देश्य जनमानसमा स्वास्थ्य प्रति चेतना फैलाउनु हो। स्वास्थ्य कुनै पनि देशको सामाजिक र आर्थिक विकासको आधार हो। जब नागरिकहरू स्वस्थ हुन्छन्, उनीहरूको उत्पादकता बढ्छ, सामाजिक सहभागिता बढ्छ, र समृद्धिको बाटो खुल्छ।
यो दिवसले निम्न कुराहरूमा बल दिन्छ:
- स्वास्थ्यसम्बन्धी चुनौतीहरूबारे जनचेतना फैलाउने।
- सरकार, संस्था, र समुदायलाई स्वास्थ्य नीतिमा सुधार ल्याउन प्रेरित गर्ने।
- स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने।
- अत्यन्त जरुरी स्वास्थ्य सेवाहरूको पहुँच सुनिश्चित गर्ने कुरामा ध्यान केन्द्रित गराउने।
२०२५को विषय वस्तु: स्वस्थ सुरुवात, आशापूर्ण भविष्य
प्रत्येक वर्ष विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रको तत्कालीन चुनौतीलाई ध्यानमा राख्दै एक विशेष थिम घोषणा गर्छ। २०२५ को लागि तय गरिएको थिम हो -‘स्वस्थ सुरुवात, आशापूर्ण भविष्य’ ।
यो थिम मातृ तथा नवजात शिशुको स्वास्थ्य र सुरक्षामा केन्द्रित छ। गर्भावस्था, सुत्केरी हुने प्रक्रिया र सुत्केरीपछिको समयका स्वास्थ्य सेवाहरूमा सुधार ल्याउनु यस थिमको मूल उद्देश्य हो। आज पनि धेरै देशहरूमा गर्भावस्थादेखि नवजात सन्तानको जन्म र त्यसपछिको हेरचाहमा चुनौतीहरू छन्।
थिमको सन्देश र उद्देश्यहरू
- गर्भवती महिलालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु – गर्भावस्थाका बेला आवश्यक स्वास्थ्य परीक्षण, पोषण र सल्लाह मार्फत सुरक्षित गर्भधारण सुनिश्चित गर्नु अत्यावश्यक छ।
- सुरक्षित सुत्केरी सेवा -अझै पनि थुप्रै महिलाहरू असुरक्षित अवस्थामा सुत्केरी हुने बाध्यतामा छन् जसले मातृ मृत्युदर बढाउने खतरा निम्त्याउँछ।
- नवजात शिशुको प्रारम्भिक हेरचाह – जन्मे पछि पहिलो सात दिनभित्र हुने शिशु मृत्यु उच्च हुने भएकाले यो समयमा स्वास्थ्यकर्मीको निगरानी आवश्यक हुन्छ ।
- पोस्टपार्टम केयर (सुत्केरी पछिको सेवा) – महिलालाई सुत्केरी पछिको मानसिक, शारीरिक र पोषणसम्बन्धी सहयोग प्रदान गर्नु।
- समान पहुँच सुनिश्चित गर्नु – चाहे महिलाहरू ग्रामीण होऊन् वा शहरी, धनी होऊन् वा गरिब, सबैलाई समान रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्नेछ।
नेपालमा मातृ र नवजात स्वास्थ्य अवस्था
नेपालले विगत केही दशकमा मातृ मृत्युदर र शिशु मृत्युदर घटाउने दिशामा केही सकारात्मक कदम चालेको छ। तर अझै पनि ग्रामीण भेगमा अस्पताल सम्म पहुँचको कमी, दक्ष स्वास्थ्यकर्मीको अभाव, र स्वास्थ्य सेवा माथिको विश्वासको कमीले समस्या सिर्जना गरिरहेको छ।
थप पहल र उपायहरू
- गर्भवती महिलाका लागि निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था।
- स्वास्थ्य परीक्षण केन्द्रहरू स्थापना।
- दक्ष स्वास्थ्यकर्मीहरूको तालिम र स्थायी नियुक्ति।
- गाउँगाउँमा सुरक्षित मातृत्व अभियान।
- पोष्टपार्टम मानसिक स्वास्थ्यमाथि विशेष ध्यान।
स्वस्थ जीवनशैलीको महत्त्व
विश्व स्वास्थ्य दिवस केवल अस्पताल वा डाक्टरको सन्दर्भ सम्म सिमित छैन। यो दिवसले आम नागरिकलाई आफ्नो जीवनशैली सुधार गर्न प्रेरित गर्छ। व्यायाम, स्वस्थ आहार, तनाव व्यवस्थापन, र नियमित स्वास्थ्य परीक्षणले व्यक्तिको जीवनलाई दीर्घकाल सम्म स्वस्थ राख्न मद्दत गर्दछ।
विश्व स्वास्थ्य दिवस २०२५ को नारा स्वस्थ सुरुवात, आशापूर्ण भविष्य ले हामीलाई स्वास्थ्य सुरुवातको महत्त्व बुझाउँछ – मातृ गर्भमै स्वास्थ्य सुरुवात हुँदा भविष्य सुरक्षित र उज्ज्वल बन्छ। यो केवल सरकार वा संस्थाहरूको दायित्व होइन, हामी सबै नागरिकहरूको साझा जिम्मेवारी हो।
सहज पहुँच, गुणस्तरीय सेवा, र जनचेतनाले मात्र हामी ‘स्वस्थ नेपाल, समृद्ध नेपाल’ को सपना साकार पार्न सक्छौं। (बालरोग विशेषज्ञ डा. सिंह बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा एसोसिएट प्रोफेसर हुन)
प्रतिक्रिया दिनुहोस