महिला र शिशुको कुपोषण न्यूनीकरणमा सहकार्य: अमेरिकी परोपकारी संस्थाको प्रतिबद्धता

काठमाडौं – स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नेपालमा गर्भवती महिला तथा नवजात शिशुमा देखिएको कुपोषण न्यूनीकरणका लागि अमेरिकी परोपकारी संस्था एलेनर क्रुक फाउण्डेसन सँग सहकार्य गर्न प्रस्ताव गरेका छन्।
फ्रान्सको पेरिसमा आयोजित पोषण सम्बन्धी विश्व सम्मेलनमा सहभागिता जनाइरहेका मन्त्री पौडेलले पेरिस स्थित नेपाली दूतावासमा फाउण्डेसनका प्रमुख कार्यकारी तथा अनुसन्धान निर्देशक विलियम मुरसँग वार्ता गरेका थिए।
उक्त वार्तामा नेपालमा गर्भवती महिलालाई हाल दिइने आइरन चक्कीमा आवश्यक १५ तत्वको अभाव रहेको उल्लेख गर्दै ती आवश्यक तत्व समावेश गर्न संस्थासँग सहकार्य गर्न प्रस्ताव गरिएको थियो।
सरकारले गर्भवती महिला तथा नवजात शिशुको पोषण सुधारका लागि हाल प्रयोग गरिरहेको आइरन चक्कीलाई ती १५ तत्वयुक्त पोषक मिश्रणले प्रतिस्थापन गर्ने तयारी गरिरहेको छ।
यस योजनामा सहयोग गर्न मन्त्री पौडेलको आग्रहलाई अमेरिकी संस्थाले सकारात्मक रूपमा लिएको छ। संस्थाले नेपाल सरकारलाई आवश्यक बजेट अध्ययन गरी सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
‘आर्थिक अभावका कारण मातृ-शिशु स्वास्थ्य कमजोर नहोस् भन्ने हाम्रो प्रयास हो,‘ स्वास्थ्य मन्त्री पौडेलले भने, ‘यो वार्ता त्यसैको एक महत्वपूर्ण कडी हो, जसबाट हामी उत्साहित छौं।‘
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालका अनुसार केही महिना भित्रै सहकार्य गर्न सकिने गरी कार्य योजना तयार पारिएको छ। उनले नेपालको मातृ शिशु कुपोषण न्यूनीकरणमा यो पहल महत्वपूर्ण हुने समेत बताए।
यसै क्रममा, मन्त्री पौडेलले नेपाली उद्योगलाई पोषक तत्व मिश्रित सामग्री उत्पादनमा संलग्न हुन आग्रह गरेका छन, जसमा पनि संस्थाले सकारात्मक प्रतिक्रिया दिएको छ। नेपालमा कुपोषणका कारण उच्च मातृ शिशु मृत्युदर न्यूनीकरण गर्न गर्भवती महिला लाई दिइने पोषक तत्वको सुधार निर्णायक हुने डा. लालले बताए।
प्रतिक्रिया दिनुहोस