मधेशमा होली र भाँग सेवन: परम्परा, प्रभाव र सावधानी

मधेसमा आज रङ्गको पर्व होली उल्लासपूर्ण रूपमा मनाइ राखिएको छ। मधेशमा होली परम्परागत रूपमा रंग, अबिर, विभिन्न परिकार तथा पेय पदार्थहरू सँगै भाँग सेवन गर्ने चलन रहेको छ।
भाँग, जसलाई कैनेबिस बिरुवाको पातबाट तयार गरिन्छ, एक प्रकारको नसालु पदार्थ हो। यसको उपयोग प्राचीन कालदेखि नै हुँदै आएको पाइन्छ। विशेष गरी महाशिवरात्रि र होलीका अवसरमा यसको प्रयोग बढी गरिन्छ।
भाँगको प्रभाव र सावधानी
भाँग सेवन गरे पछि यसको नशा तीव्र रूपमा लाग्ने गर्छ। अन्य मादक पदार्थको तुलनामा भाँगको असर धेरै समय सम्म रहन सक्छ, जुन केही दिनसम्म पनि हुन सक्छ।
स्वास्थ्यको दृष्टिकोणले होली जस्ता चाडपर्वमा भाँग तथा मदिरा लगायतका अन्य मादक पदार्थको सेवन नगरी उल्लास पूर्वक मनाउनु राम्रो मानिन्छ।
अत्यधिक भाँग सेवनका कारण कतिपय अवस्थामा अस्पताल भर्ना सम्म गर्नुपर्ने अवस्था आउन सक्छ। विशेष गरी उच्च रक्तचाप वा मुटुरोग भएका व्यक्ति हरूका लागि भाँगको असर अझ खतरनाक हुन सक्छ ।
भाँग सेवनका लक्षणहरू
- अत्यधिक भाँग सेवन गरेपछि स्नायु प्रणाली (नर्भस सिस्टम) कमजोर बन्ने हुँदा व्यक्तिले आफ्नो गतिविधिहरू नियन्त्रण गर्न सक्दैन ।
- अनियन्त्रित हाँसो, अत्यधिक निद्रा वा अनावश्यक रुनेजस्ता लक्षण देखिन सक्छन्।
- धेरै सेवन भएको अवस्थामा व्यक्तिले आफ्नो पहिचानसमेत बिर्सने सम्भावना रहन्छ।
- यदि कुनै व्यक्ति भाँग सेवन पछि आँखा खुला राखी अचेत जस्तो देखिन्छ भने तुरुन्त अस्पताल लैजानु आवश्यक हुन्छ, किनभने यस्तो अवस्थामा व्यक्ति कोमामा जाने सम्भावना रहन्छ।
भाँगको नशा उतार्ने घरेलु उपायहरू
यदि कसैले अत्यधिक भाँग सेवन गरि सकेको छ भने निम्न उपायहरू प्रभावकारी हुन सक्छन्:
- घ्यू र मख्खन: भाँगको नशा कम गर्न घ्यू वा मख्खन सेवन गर्न सकिन्छ।
- अमिलो पदार्थहरू: कागती पानी, दही, इमली जस्ता अमिलो पदार्थहरूको सेवनले नशा कम गर्न मद्दत गर्छ ।
- पानी: अत्यधिक पानी पिउँदा शरीरबाट भाँगको असर कम गर्न सहयोग पुग्छ।
- गुलियो वस्तुहरूबाट बच्नुपर्छ: भाँग सेवनपछि गुलियो पदार्थ खानु हानिकारक हुन सक्छ, किन भने यसले नशा अझ बढाउने मान्यता रहेको छ।
होली उल्लास र उत्सवको पर्व हो। यसलाई स्वस्थकर रूपमा मनाउनु महत्वपूर्ण छ। भाँग लगायत अन्य मादक पदार्थहरूको अति सेवनले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।
यदि कसैले अत्यधिक भाँग सेवन गरिसकेको छ तुरन्त चिकित्सकीय सहयोग लिनुको साथै उपयुक्त सावधानी अपनाउनु आवश्यक छ। (आयुर्वेद विशेषज्ञद्वारा चिकित्सा समीक्षा गरिएको स्वास्थ्य सामग्री)
प्रतिक्रिया दिनुहोस