अनुसन्धान
‘बढी मोबाइल, टिभी हेर्ने बच्चाहरूको भाषिक क्षमता प्रभावित हुन सक्ने अध्ययनको दाबी’
![](https://ap-south-1.linodeobjects.com/nepalhealthpress/2025/02/children-WhatsApp-Image-2025-02-12-at-12.09.38_c7cc7dbc.jpg)
हालै गरिएको एक अन्तर्राष्ट्रिय अनुसन्धान अनुसार, सानै उमेर देखि अत्यधिक स्क्रिन प्रयोग गर्ने बच्चाहरूको भाषिक विकासमा नकारात्मक असर पर्ने सम्भावना रहेको छ ।
स्मार्टफोन, टिभी, ट्याबलेट जस्ता स्क्रिन युक्त उपकरणहरूको प्रयोगले बच्चाहरूको भाषा सिक्ने क्षमतामा बाधा पुर्याउन सक्छ । तर, बच्चाहरूलाई पुस्तकहरू सँग जोड्ने तथा अभिभावकहरूको संलग्नतामा स्क्रिन प्रयोग गराउने हो भने भाषिक सीप सुधार गर्न सकिने देखिएको छ ।
२० देशका १,८७८ बच्चाहरूमा गरिएको अध्ययन
यो अध्ययन २० वटा ल्याटिन अमेरिकी देशका अनुसन्धान कर्ताहरूले गरेका हुन । अनुसन्धानमा १२ देखि ४८ महिना उमेर समूहका १,८७८ बालबालिकाको तथ्याङ्क विश्लेषण गरिएको थियो ।
यस क्रममा बालबालिकाले स्क्रिन कति प्रयोग गर्छन्, पुस्तकहरू सँग कत्तिको जोडिएका छन्, भाषिक विकासमा कस्तो प्रभाव परेको छ भन्ने पक्षहरूमा समेत ध्यान दिइएको थियो । साथै, अभिभावकहरूको आर्थिक स्थिति, शिक्षा तथा रोजगारीको अवस्था को समेत अध्ययन गरिएको थियो ।
टिभी सबैभन्दा बढी प्रयोगमा
जर्नल ‘पिएलओएस वन’ (Plos One) मा प्रकाशित यो अनुसन्धान अनुसार साना बालबालिकाले सबै भन्दा बढी टिभी हेर्ने गरेका छन् । उनीहरू दैनिक औसत एक घण्टा भन्दा बढी समय टिभीमा बिताउने गरेका छन् ।
अध्ययनमा मनोरञ्जनात्मक कार्यक्रमहरू सबै भन्दा बढी हेरिएको पाइयो भने सङ्गीत र शैक्षिक कार्यक्रमहरू क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे । कमजोर आर्थिक पृष्ठभूमिका परिवारहरूमा पुस्तकहरू र शैक्षिक सामग्रीहरूको उपयोग कम हुने तथ्य पनि अध्ययनले देखाएको छ ।
शब्दावलीमा असर देखियो
स्क्रिनमा धेरै समय बिताउने बच्चाहरूको शब्द सङ्ग्रह (भोक्याबुलरी) सीमित देखिएको छ । साथै, उनीहरू भाषा सिक्ने क्रममा केही महत्वपूर्ण चरणहरू ढिलो पूरा गर्ने गरेको पत्ता लागेको छ ।
यद्यपि, पुस्तकहरू सँग बढी जोडिएका तथा अभिभावकहरू सँग मिलेर स्क्रिन प्रयोग गर्ने बच्चाहरूको भाषा सीप तुलनात्मक रूपमा राम्रो देखिएको छ । अध्ययनमा स्क्रिन प्रयोग र शारीरिक विकास बीच प्रत्यक्ष सम्बन्ध भने नदेखिएको उल्लेख छ ।
नकारात्मक असर कम गर्न सकिन्छ
अनुसन्धान कर्ताहरूका अनुसार, स्क्रिनको अत्यधिक प्रयोगले बालबालिकाको भाषिक विकासमा नकारात्मक प्रभाव पार्न सक्छ । तर, यदि अभिभावकहरू ले सन्तान सँगै बसेर शिक्षा मूलक सामग्रीहरू हेराउने तथा उनीहरूलाई पुस्तकहरू सँग जोड्ने हो भने, यस असरलाई केही हद सम्म कम गर्न सकिन्छ ।
भावनात्मक विकासमा असर पर्ने सङ्केत
अनुसन्धान कर्ताहरूले अत्यधिक स्क्रिन प्रयोगले बच्चाहरूको भावनात्मक विकासमा पनि असर गर्न सक्ने देखाएका छन् । मोबाइल फोन र ट्याबलेटको अत्यधिक प्रयोगले बालबालिकामा चिढिने तथा आवेग जन्य व्यवहार बढाउन सक्छ ।
विशेष गरी, कार्टुन वा अन्य मनोरञ्जनात्मक सामग्री हेर्नका लागि बालबालिकाले दैनिक जीवनका सामान्य गतिविधिहरू, जस्तै बिहान उठ्ने, खाजा खाने, ओछ्यानमा जाने जस्ता कुरामा अनावश्यक तनाव देखाउने सम्भावना रहन्छ ।
नयाँ अनुसन्धान आवश्यक
अनुसन्धान कर्ताहरूले स्क्रिन प्रयोगको असर अझ विस्तृत रूपमा बुझ्नका लागि थप अध्ययन आवश्यक रहेको बताएका छन्। अभिभावकहरूले बालबालिकालाई अनियन्त्रित रूपमा स्क्रिनमा समय बिताउन दिनु उचित नहुने र उनीहरूको भाषा तथा भावनात्मक विकासलाई सघाउन वैकल्पिक उपायहरू अपनाउनु पर्ने सुझाव समेत दिइएको छ।
प्रतिक्रिया दिनुहोस