‘मेडिकल सिटी चितवनमा पत्रकारलाई स्वास्थ्य पत्रकारिता तालिम’


चितवन –नेपालको चिकित्सा नगरी कै रूपमा पहिचान बनाइरहेको चितवन भरतपुर का पत्रकारहरूले स्वास्थ्य पत्रकारिताको तालिम पाएका छन् ।

नेपाल पत्रकार महासंघ चितवनको आयोजना र भरतपुर अस्पतालको सहकार्यमा सम्पन्न एक दिने स्वास्थ्य पत्रकारिता तालिममा ४० भन्दा बढी पत्रकारहरूको उत्साह जनक सहभागितामा रहेको थियो । तालिमको उद्देश्य पत्रकारहरूलाई स्वास्थ्य सम्बन्धी समाचार लेखनमा थप दक्ष बनाउनु रहेको आयोजकले जनाएको छ ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त राज पराजुलीले चिकित्सा नगरीको रूपमा पहिचान बनाइ सकेको यो क्षेत्रका पत्रकारहरूको लागि स्वास्थ्य पत्रकारितामा समेत दक्षता अभिवृद्धि गर्नु अत्यावश्यक रहेको बताए ।

अध्यक्ष पराजुलीले पछिल्लो समय चितवनको पत्रकारिता क्षेत्रमा स्वास्थ्य विटलाई विशेष प्राथमिकता दिनु पर्ने अवस्था आएको र अगामी दिनमा यो विधामा थप तालिम, छलफल, क्षमता अभिवृद्धि आदि सञ्चालन गरिने बताए ।

तालिममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले सम्बोधन गर्दै सत्य, तथ्य र प्रमाणमा आधारित स्वास्थ्य समाचार संप्रेषणको महत्वलाई उजागर गरे । उनले स्थानीय रुप्मा स्वास्थ्य पत्रकारिता को सम्वर्धन र विकासमा भरतपुर अस्पतालको सक्रिय भूमिका रहेको समेत औँल्याए ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्ण प्रसाद पौडेलले स्वास्थ्य सम्बन्धी समाचार सङ्कलनमा पत्रकारहरू गहिराइमा पुग्न नसक्दा चुनौतीहरू उत्पन्न हुने बताए । उनले यस्ता तालिमहरूले पत्रकारहरूको ज्ञान अभिवृद्धि गर्दै जनमानसमा स्पष्ट र तथ्य परक स्वास्थ्य सम्बन्धी जानकारी पुर्‍याउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

तालिमका प्रमुख प्रशिक्षक, वरिष्ठ स्वास्थ्य पत्रकार एवं ‘नेपालहेल्थप्रेस डटकम’, का प्रधान सम्पादक अतुल मिश्रले स्वास्थ्य पत्रकारिताको महत्व, चुनौती, अवसर तथा तथ्य परक समाचार लेख्ने कलाबारे प्रशिक्षण दिए ।

उनले पत्रकारहरूले समाचार लेख्दा विश्वसनीय स्रोतहरूमा भर पर्नु पर्नेमा जोड दिँदै स्वास्थ्य सम्बन्धी प्राविधिक शब्दावलीको उचित प्रयोग र समझदारीबारे विस्तृत रूपमा जानकारी गराए ।

नेपाल जस्ता मुलुकमा स्वास्थ्य पत्रकारिता झन् आवश्यक रहेको उल्लेख गर्दै मिश्रले भने, ‘स्वास्थ्य सम्बन्धी सही जानकारीको अभावमा जनमानसमा भ्रम फैलिन सक्छ । अपुष्ट र अपुरो सूचनाले स्वास्थ्य सेवा प्रभावकारी हुन सक्दैन, त्यसैले पत्रकारहरूले जिम्मेवार भई अनुसन्धानमा आधारित समाचार सम्प्रेषण गर्नुपर्छ ।’

त्यस्तै, भरतपुर अस्पतालका फरेन्सिक विशेषज्ञ डा. कश्यप श्रेष्ठले पत्रकारिता र स्वास्थ्य कर्मीहरू बीच सहकार्यको आवश्यकता रहेको औँल्याउँदै असमझदारीका कारण समाचारमा त्रुटि आउन सक्ने भएका ले विशेष सतर्कता अपनाउनु पर्ने बताए ।

पत्रकार महासंघ चितवनका सचिव राजेश घिमिरेले महासंघले आगामी दिनमा पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि यस्तै प्रभावकारी तालिमहरू आयोजना गर्ने लक्ष्य राखेको जानकारी दिए । यो तालिम महासंघको नयाँ कार्य समितिद्वारा आयोजित पहिलो कार्यक्रम भएकाले विशेष महत्वको भएको उनले बताए।

तालिममा सहभागी पत्रकारहरूले स्वास्थ्य पत्रकारिताका विविध पक्षबारे उपयोगी ज्ञान प्राप्त गरेको अनुभव साझा गरे । उनीहरूले यस्ता तालिम निरन्तर आवश्यक रहेको भन्दै यसको निरन्तरताको माग गरेका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!