सूर्तीजन्य पदार्थ नियन्त्रणमा कडा कदम : शत प्रतिशत चेतावनी मूलक सन्देश अनिवार्य गर्ने निर्देशिका स्वीकृत
काठमाडौं – स्वास्थ्य मन्त्री प्रदीप पौडेलले क्यान्सर लगायतका रोगको जोखिम न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थको प्याकेजिङमा शत प्रतिशत चेतावनीमूलक सन्देश अनिवार्य गर्ने नयाँ निर्देशिका स्वीकृत गरेका छन्।
यस अघि ९० प्रतिशत भागमा मात्र चेतावनी दिने व्यवस्था थियो। अब संशोधित निर्देशिका अनुसार, चुरोट, सूर्ती लगायतका उत्पादनहरूको अगाडि तथा पछाडिको सम्पूर्ण भागमा चेतावनी मूलक सन्देश र चित्र अनिवार्य रूपमा छाप्नु पर्नेछ।
मन्त्री पौडेलका अनुसार यो निर्णय जनस्वास्थ्य संरक्षणका लागि गरिएको हो। ‘क्यान्सर जस्ता घातक रोगहरूको उपचार मात्र होइन, रोकथामका उपायहरूलाई पनि प्राथमिकता दिनु आवश्यक छ,’ उनले भने। ‘धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सचेतनामूलक सन्देश प्रभावकारी हुने विश्वव्यापी अध्ययनहरूले पुष्टि गरेका छन्।’
स्वास्थ्य मन्त्रालयका तथ्यांक अनुसार, नेपालमा हरेक वर्ष करिब ३७ हजार मानिसको ज्यान सुर्ती तथा चुरोट सेवनका कारण गुम्ने गरेको छ।
यस्तै, विभिन्न देशका अध्ययनहरूले चेतावनीयुक्त प्याकेजिङले धुम्रपान त्याग्नेको संख्या बढाउने देखाएका छन्।
उदाहरणका लागि, थाइल्याण्डमा ८५ प्रतिशत व्यक्तिले धुम्रपान छाडेका छन् भने, पाकिस्तान र म्यानमारमा पनि सकारात्मक प्रभाव देखिएको छ।
नयाँ निर्देशिका ‘सूर्तीजन्य पदार्थको प्याकेजिङमा चेतावनीमूलक सन्देश अंकित गर्ने निर्देशिका २०८१’ लागू भएपछि, नेपालमा पनि धुम्रपान तथा सुर्ती सेवन गर्नेको संख्या घट्ने र क्यान्सर तथा अन्य स्वास्थ्य समस्याहरू कम हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस