नाइजर, ओन्कोसेर्सियासिस उन्मूलन गर्ने अफ्रिकी क्षेत्रको पहिलो देशः डब्लुएचओ


काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले नाइजरलाई ओन्कोसेर्सियासिस (Onchocerciasis) उन्मूलनको मापदण्ड पूरा गरेकोमा बधाई दिएको छ ।

डब्लुएचओ द्वारा जारी विज्ञप्ति अनुसार, यस उपलब्धि सँगै, नाइजर विश्व भरि यो रोग उन्मूलन गर्ने पाँचौ तथा अफ्रिकी क्षेत्रमा पहिलो देश बन्न सफल भएको छ ।

डब्लुएचओका महा निर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भने,–‘रोग उन्मूलन गर्नु एक महत्त्वपूर्ण उपलब्धि हो, जसका लागि निरन्तर समर्पण आवश्यक पर्छ । नाइजरले अन्धो पन तथा कलङ्कित रोगबाट मुक्त गराउने प्रतिबद्धता देखाएकोमा म हार्दिक बधाई दिन्छु। यो सफलता उपेक्षित उष्णकटिबंधीय रोगहरू (Neglected Tropical Diseases) विरुद्ध हामीले गरेका महत्वपूर्ण प्रगतिहरू मध्ये एक हो।’

ओन्कोसेर्सियासिसः नदी जन्य अन्धो पन रोग

ओन्कोसेर्सियासिस, जसलाई रिभर ब्लाइन्डनेस (नदी जन्य अन्धो पन), पनि भनिन्छ, एक परजीवी रोग हो। यो रोग ट्रेकोमा (Trachoma) पछाडि विश्वव्यापी रूपमा अन्धो पन गराउने दोस्रो प्रमुख सङ्क्रामक कारण हो । सङ्क्रमित कालो झिँगाको टोकाइबाट सर्ने यो रोग मुख्यतः अफ्रिका तथा यमनका ग्रामीण समुदायहरूमा देखिन्छ।

नाइजरको रोग नियन्त्रण प्रयासहरू 

सन् १९७६ देखि १९८९ सम्म, डब्लुएचओको पश्चिम अफ्रिका ओन्कोसेर्सियासिस नियन्त्रण कार्यक्रम अन्तर्गत नाइजरले कीटनाशक प्रयोग गरी सङ्क्रमित झिँगाको नियन्त्रण गर्यो। त्यसपछि, २००८ देखि २०१९ सम्म, ल्याम्फेटिक फिलारियासिस  प्रभावित क्षेत्रमा आइभरमेक्टिन (Ivermectin) तथा अल्बेण्डाजोल (Albendazole) औषधिको सामूहिक वितरण गरियो। आइभरमेक्टिन दुवै रोगमा प्रभावकारी भएकोले, यसले  ओन्कोसेर्सियासिस परजीवीको प्रसारलाई समेत रोक्न मद्दत गर्यो।

२०१४ मा प्रारम्भिक अध्ययनहरू सुरु गरिए, जसअनुसार औषधि र कीट नियन्त्रणको संयोजनले ओन्कोसेर्सियासिस को सङ्क्रमणलाई लगभग ६० प्रतिशत बाट ०.०२ प्रतिशतमा झार्न सफल भयो।

सफलताका प्रमुख कारणहरू

नाइजरको सफलताका पछाडि सरकार, डब्लुएचओ, तथा गैरसरकारी संस्थाहरूको प्रभावकारी साझेदारी प्रमुख कारण रहयो। नियमित निगरानी, आवश्यक परिमार्जन, र सही रणनीतिले रोग उन्मूलन प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेले।

डब्लुएचओ अफ्रिकी क्षेत्रीय निर्देशक डा. मात्शिडिसो मोएती भन्छन्, ‘ओन्कोसेर्सियासिसले दशकौं सम्म मानवीय दुःख मात्र नभई, आर्थिक प्रगति पनि अवरुद्ध गर्यो। नाइजरको यो सफलता अन्य अफ्रिकी देशहरूका लागि प्रेरणाको स्रोत बन्नेछ। यसले अफ्रिकी क्षेत्रमा उपेक्षित उष्णकटिबंधीय रोगहरूको अन्त्य गर्ने अभियानलाई बल पुर्याउनेछ।’

विश्वव्यापी प्रगति

हालसम्म, ५४ देशहरूले कम्तीमा एउटा उपेक्षित उष्णकटिबंधीय रोग उन्मूलन गरि सकेका छन्। ओन्कोसेर्सियासिस उन्मूलन गर्ने नाइजर पाचौँ देश हो, यस अघि कोलम्बिया (२०१३), इक्वेडर (२०१४), ग्वाटेमाला (२०१६) र मेक्सिको (२०१५) रहेका थिए।

यस अघि, सन् २०१३ मा, नाइजरले गिनी कीरा रोग (Dracunculiasis) उन्मूलन गरेर सार्वजनिक स्वास्थ्य क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरिसकेको थियो। अब ओन्कोसेर्सियासिस उन्मूलन सँगै, नाइजरले पुनः अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!