‘नारायणी अस्पताल सङ्कटमाः स्वास्थ्य कर्मीहरूको आक्रोश– ‘सरकारको उपेक्षा कहिले सम्म?’
‘सरकारले अब पनि बेवास्ता गर्ने हो, मौन बस्ने हो भने यो उपेक्षाले ठूलो जन आक्रोश निम्त्याउन सक्छ । स्वास्थ्य कर्मीहरू मात्र होइन, यहाँका जनता समेत सडकमा उत्रिने छन् । नारायणी अस्पताल लाखौँ जनताको जीवन सँग जोडिएको छ ।’
वीरगन्ज (पर्सा) – नेपालकै प्रमुख अस्पतालमध्ये एक, नारायणी अस्पताल, अहिले जर्जर अवस्थाको सिकार भएको छ । उपचार सेवा लिन आउने बिरामी मात्र होइन, यहाँ कार्यरत स्वास्थ्य कर्मीहरू समेत अत्यन्तै कठिनाइ झेल्न बाध्य भएका छन् ।
जीर्ण भवनमा सेवा दिनु पर्ने बाध्यता, आवश्यक पूर्वाधारको चरम अभाव, र सरकारको निरन्तर उपेक्षाले यहाँका स्वास्थ्य कर्मीहरू आन्दोलित भएका छन् ।स्वास्थ्यकर्मीहरूले अस्पतालको सेवामा असर नपर्ने गरी शुक्रवार दिउसाे ११ वजे देखी १२ वजे सम्म नारायणी अस्पताल अगाडि रहेको त्रिभुवन राजपथ ठप्प पारे ।
१०० वर्ष पुरानो अस्पताल, तर अवस्था भयावह
वीर अस्पताल सँगै स्थापना भएको नारायणी अस्पताल मधेस प्रदेशको प्रमुख रेफरल अस्पताल हो। तर, यसको भौतिक संरचना अहिले कुनै पनि बेला दुर्घटना निम्त्याउन सक्ने अवस्थामा पुगेको छ ।
नेपालका अन्य केन्द्रीय सरकारी अस्पतालहरूमा नयाँ भवन निर्माण भइसकेको भए पनि नारायणी अस्पताल भने अझै पनि पुरानै कमजोर भवनमा सीमित छ ।
अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीहरूका अनुसार, अस्पतालको अवस्था यति जोखिम पूर्ण छ कि बिरामीको उपचार गरिरहँदा कहिले भवन भत्किन्छ भन्ने डरमै काम गर्नु परेको छ ।
अस्पतालमा कार्यरत डा. नीरज कुमार सिंह भन्छन्, ‘हामी बिरामीको उपचार गरिरहेका हुन्छौं, तर आफै डराइरहेका हुन्छौ, कहिल्यै भवन भत्किन्छ कि भनेर । राज्यले न हामीलाई हेर्यो, न अस्पताललाई । अब हामी चुप लागेर बस्दैनौ ।’
५०० सैयाको नयाँ भवनको सपना अधुरै
सरकारले आर्थिक वर्ष २०७४–७५ मा प्रत्येक प्रदेशमा ५०० सैयाको अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । नारायणी अस्पतालका लागि १ अर्ब ५५ करोड रुपैयाँको लागत अनुमान गरिएको थियो, तर टेन्डर प्रक्रियामा देखिएको विवादका कारण यो योजना न्यायालयसम्म पुगेको छ । यसले गर्दा बिरामीहरू अत्यन्तै असहज परिस्थितिमा उपचार गराउन बाध्य छन् ।
अस्पतालका धेरैजसो भवनहरू जीर्ण भइसकेका छन्, जसले बिरामी, कुरुवा र स्वास्थ्य कर्मीहरू सबैलाई जोखिममा पारिरहेको छ।
‘हाम्रो अस्पताल त सरकारी बेवास्ताको प्रत्यक्ष उदाहरण हो,’ अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साह भन्छन्, ‘अरू प्रदेशका अस्पतालहरू नयाँ र सुविधा सम्पन्न भइसके, हामी भने ज्यानको बाजी राखेर बिरामीको उपचार गरिरहेका छौं ।’
राजनीतिक नेतृत्वको असफलता, जनतामा निराशा
यो गम्भीर विषयमा पटक पटक आवाज उठाइए पनि सरकार अझै मौन छ। सांसदहरू ले संसदमा नारायणी अस्पतालको स्तरोन्नतिको माग राखे पनि कुनै ठोस निर्णय आएको छैन। यसले गर्दा यहाँका जनता समेत निराश भएका छन्।
डा. सिंह भन्छन्, ‘अब हामी शान्त आन्दोलन मात्र गर्दैनौ । राज्यले बेवास्ता गरिरहृयो भने स्वास्थ्य कर्मीहरू र स्थानीय बासिन्दाहरू सामूहिक रूपमा ठूला विरोध प्रदर्शनमा उत्रनेछ ।’
उनि अगाडी थप्छन्–‘सरकारले अब पनि बेवास्ता गर्ने हो, मौन बस्ने हो भने यो उपेक्षाले ठूलो जन आक्रोश निम्त्याउन सक्छ । स्वास्थ्य कर्मीहरू मात्र होइन, यहाँका जनता समेत सडकमा उत्रिने छन् । नारायणी अस्पताल लाखौँ जनताको जीवन सँग जोडिएको छ ।’
प्रतिक्रिया दिनुहोस