१६ लाख किशोरीलाई एचपीभी खोप लगाइने योजना स्वीकृत, मनीषा कोइराला खोप दूत
काठमाडौं– स्वास्थ्य मन्त्रालयले माघ तेस्रो साताबाट सुरु हुने १६ लाख किशोरीलाई एचपीभी (ह्युमन प्यापीलोमा भाइरस) खोप लगाउने अभियानको योजना स्वीकृत गरेकाे छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यो महत्वाकांक्षी योजना स्वीकृत गर्दै अभियानको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओली बाट हुने जानकारी दिएका छन् ।
यो खोप कार्यक्रम माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । देश भरका विद्यालयमा अध्ययन रत ६ देखि १० कक्षाका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप लगाइनेछ ।
मनीषा कोइराला खोप दूत
क्यान्सर विजेता एवं बलिउड अभिनेत्री मनीषा कोइरालालाई खोप अभियानको खोप दूत बनाइएको छ । स्वास्थ्य सेवा विभागका महा निर्देशक डा. विकास देवकोटाका अनुसार, कोइरालाले एचपीभी खोप सम्बन्धी सचेतना फैलाउन विशेष भूमिका खेल्ने छिन् ।
समयमै पहिचान र रोकथामको आवश्यकता
विशेषज्ञहरूका अनुसार यो खोप अभियानले महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या, पाठे घरको मुखको क्यान्सर, नियन्त्रणमा महत्वपूर्ण योगदान दिनेछ ।
ग्लोबल क्यान्सर अब्जरभेटरीका अनुसार, नेपालमा २०२२ मा क्यान्सरबाट मृत्यु भएका १४ हजार व्यक्तिमध्ये ७,७६८ जनाको मृत्यु पाठेघरको मुखको क्यान्सरका कारण भएको थियो। नेपालमा दैनिक चार जना महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाइरहेका छन्। समयमै परीक्षण र खोपको माध्यमबाट यो समस्याबाट बच्न सकिने चिकित्सकहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस