सुर्ती जन्य पदार्थ नियन्त्रण कानुन कार्यान्वयनमा कमजोरीः स्वास्थ्य सचिव डा.रोशन पोख्रेल
पोखरा– स्वास्थ्य सचिव डा रोशन पोख्रेलले मुलुकमा सुर्ती जन्य पदार्थ नियन्त्रण कानुनको कार्यान्वयन केही कमजोरी रहेको जनाउँदै सङ्घ, प्रदेश र स्थानीय सरकार बीचको साझा दायित्वको आवश्यकता औँल्याएका छन् ।
सुर्ती जन्य पदार्थ नियन्त्रण तथा नियमनलाई प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य मन्त्रालय द्वारा कास्कीमा आइत बार आयोजित एक दिने अन्तरक्रिया कार्यक्रम मा स्वास्थ्य सचिव डा.पोख्रेलले उक्त कुरा बताएका हुन ।
सुर्ती जन्य पदार्थ नियन्त्रण तथा नियमन कानुन को प्रभावकारी कार्यान्वयन गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारको साझा दायित्व रहेको समेत उनले जनाए ।
स्वास्थ्य सचिव डा. पोख्रेलले संघिय स्वास्थ्य मन्त्रालय यसको लागि सहयोग गर्न सधैँ तत्पर र प्रतिबद्ध रहेको समेत बताए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक एवं सुर्ती जन्य पदार्थ नियन्त्रण, नियमन विज्ञ डा. भक्त बहादुर केसीले सुर्ती जन्य पदार्थ नियन्त्रण तथा नियमनको लागि प्रभावकारी कार्यान्वयनका उपाय र स्थानीय सरकार तथा प्रदेश सरकारका जिम्मेवारी सहितको प्रस्तुति गरेका थिए ।
गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका सचिव डा.विनोद विन्दु शर्माले सुर्ती जन्य पदार्थको कार्यान्वयन गर्न प्रदेश सरकारले गरेका केही अभ्यास सहित सुर्ती जन्य पदार्थको प्रयोगको अवस्था बारे प्रष्टाएका थिए ।
यस्तै स्वास्थ्य मन्त्रालयको कानुन उपसचिव गोपीकृष्ण रेग्मीले नेपालमा सुर्ती जन्य पदार्थका कानुनी व्यवस्था बारे जानकारी दिएका थिए ।
उक्त कार्यक्रममा तनहुँ र स्याङ्जा जिल्लाका सम्पूर्ण स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख र दुवै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सो जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुखहरू र गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका विभिन्न निकायमा कार्यरत सम्बन्धित व्यक्तित्वहरू, पत्रकार लगायतका सहभागिता थियो ।
सुर्ती जन्य पदार्थ नियन्त्रणका लागि कार्य योजना
उक्त कार्यक्रममा सहभागी हरेक स्थानीय तहले निम्न बुँदातल कार्यहरू पहिलो चरणमा लागू गर्ने निर्णय गरेका छन् ।
- सार्वजनिक स्थलमा सुर्ती जन्य पदार्थ प्रयोग निषेध गर्न सार्वजनिक सूचना जारी गर्ने।
- सुर्ती जन्य पदार्थ प्रयोगबारे अनुगमन गर्ने।
- जनचेतनामूलक कार्यक्रमहरू संचालन गर्ने। विद्यालय केन्द्रित कार्यक्रमहरू संचालन गर्ने।
- कार्यालय प्रमुखहरूको बैठकमा सुर्ती जन्य पदार्थ नियन्त्रण र नियमनका लागि अनुगमन कार्य योजना एजेन्डाको रूपमा समावेश गर्ने।
- फाल्गुन महिनामा नसर्ने रोग रोकथाम र पहिचानका लागि आयोजना गरिने अभियानमा सुर्ती जन्य पदार्थ नियन्त्रण तथा नियमन अभियानलाई समेट्ने ।
प्रतिक्रिया दिनुहोस