प्रधानमन्त्री ओली को निर्देशनः स्वास्थ्य बीमा सुधारको कार्य योजना सात दिनभित्र ल्याउनू


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधारका लागि सुझाव कार्य दलको प्रतिवेदनका आधारमा छिटो सुधारको कार्य योजना तयार गर्न निर्देशन दिएका छन् ।

स्वास्थ्य बीमा सम्बन्धी सुधार र सुझावबारे बालुवाटारमा आयोजित ब्रिफिङ पछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल निर्माणका लागि नागरिकलाई शिक्षित बनाउनुपर्ने र उपचारमा आर्थिक अभावको कारणले कोही पनि वञ्चित हुनु नहुने बताए ।

प्रधानमन्त्रीले कार्य दलले दिएको प्रतिवेदनलाई व्यवहारिक रूपमा लागू गर्न एक साता भित्र सुधार योजना तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।

ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कार्य दलका संयोजक डा. शम्भु आचार्य, सदस्यहरू डा. भगवान कोइराला, डा. रघु राम काफ्ले र सदस्य सचिव डा. सरोज शर्माले स्वास्थ्य बीमा कार्यक्रमको नीति गत, कानुनी र संरचना गत सुधारको आवश्यकता रहेको जानकारी गराएका थिए ।

हाल स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत करिब रु ११ अर्ब भुक्तानी गर्न बाकी रहेका छ । कुल जनसङ्ख्याको २७ प्रतिशत नागरिक यस कार्यक्रममा आबद्ध छन्, जस मध्ये ४८ प्रतिशतले मात्र सेवा लिएका छन्।

कार्य दलले सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य रूपमा सहभागी गराउने व्यवस्था गर्नुपर्ने र गरिबीको रेखा मुनि रहेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने सुझाव दिएको छ ।

साथै, आधारभूत स्वास्थ्य सेवा तथा अन्य सामाजिक सुरक्षाका कोषहरू सँग बीमा कार्यक्रमलाई एकीकृत गर्नुपर्ने बताइएको छ । स्वास्थ्य बीमा सुधार सुझाव कार्य दलले गत पुस १४ गते मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!