पक्षघातको उपचारका लागि एक मात्राको १ लाख ३८ हजार पर्ने औषधी निःशुल्क वितरण गरिने
काठमाडौं – स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पक्षघातको उपचारमा प्रयोग हुने र एक मात्राको मूल्य झन्डै १ लाख ३८ हजार रुपैयाँ पर्ने औषधी मुलुकमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् ।
अमेरिकाको च्यारिटी संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोगमा प्राप्त थ्रोम्बोलाइटिक ड्रग्स संघीय तथा प्रदेश अस्पताल मार्फत निःशुल्क वितरण गरिनेछ । वर्षेनी पक्षघातका कारण करिब ८ सय जनाले ज्यान गुमाइरहेको तथ्यांकको आधारमा यो पहल गरिएकोहो।
मन्त्री पौडेलले पोखरामा आयोजित एक कार्यक्रममा भने, ‘पक्षघातको उपचार सम्भव भए पनि दुर्लभ र महँगो औषधीका कारण धेरैले ज्यान गुमाइ रहेका छन् । यसलाई रोक्न सरकार आफैंले औषधी उपलब्ध गराउने व्यवस्था मिलाइ रहेको छ ।‘
थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधीले पक्षघातको सफल निदान गर्न सकिने चिकित्सकहरूले बताएका छन् । यस औषधीको एक मात्राको मूल्य झन्डै १ लाख ३८ हजार रुपैयाँ पर्छ। हाल सम्म सहजै उपलब्ध नहुने यो औषधी अब पाँच वर्ष सम्म सरकारको माग अनुसार निःशुल्क प्रदान गरिनेछ ।
स्वास्थ्य मन्त्रालय को अनुसार औषधी वितरणका लागि निर्देशिका निर्माणको प्रक्रिया अघि बढि सकेको छ । यो निर्देशिका संघीय र प्रदेश अस्पताल हरूमा लागू हुनेछ । यो कदमले पक्षघातका कारण हुने मृत्यु दर घटाउने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस