‘गण्डकीका स्वास्थ्यमन्त्री कृष्ण पाठकले भने, आयुर्वेदिक उपचार पद्धतिको माग बढ्दो’


पोखरा – गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले पछिल्लो समय आधुनिक चिकित्सा पद्धतिका साथै आयुर्वेदिक उपचारको मागमा उल्लेखनीय वृद्धि भएको बताएका छन् ।

उनले आयुर्वेदिक उपचार पद्धतिले जनतामा विश्वसनीयता र विश्वास सिर्जना गरेको भन्दै गण्डकी प्रदेश सरकार यसलाई उच्च प्राथमिकतामा राखेर अघि बढिरहेको जानकारी दिए।

शनिवार पोखरा महा नगरपालिका वडा नं. २८ मा आयोजना गरिएको एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री पाठकले भने–‘गण्डकी प्रदेश सरकारले आयुर्वेदिक उपचारलाई आगामी नीतिहरूमा उच्च प्राथमिकता मा राख्ने र यसका लागि आवश्यक बजेट उपलब्ध गराउँदै यसलाई थप प्रभावकारी बनाउन योजनाबद्ध काम गरिरहेको छ ।’

मन्त्री पाठकले आयुर्वेदिक उपचारको महत्वलाई रेखाङ्कित गर्दै भने –‘आयुर्वेदले प्राकृतिक उपचारको माध्यमबाट शारीरिक, मानसिक र आध्यात्मिक सन्तुलन कायम राख्न मद्दत पुर्याउँछ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने र जीवन शैली सुधार्न महत्वपूर्ण भूमिका खेल्दछ ।’

आयुर्वेदिक उपचारले शरीर र मनलाई सन्तुलित राख्नका लागि जडीबुटी र प्राकृतिक चिकित्सा विधिहरू प्रयोग गर्ने हुँदा यसको कुनै प्रकारको नकारात्मक असर नगरी उपचार गर्ने विशेषता रहेको मन्त्री पाठकले बताए ।

उनले भने–‘आयुर्वेदले शारीरिक र मानसिक सन्तुलनमा सुधार ल्याउने भएका ले यसका उपचार विधिहरूको माग बढ्दै गएको छ ।’

स्वास्थ्य मन्त्री पाठकले थपे–‘म स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै समग्र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि चिकित्सा विज्ञान सँगै आयुर्वेद र प्राकृतिक चिकित्सा प्रणालीलाई पनि महत्व दिन चाहन्छु । यसले दीर्घकालीन स्वास्थ्य निदान र मानसिक सन्तुलनको लागि ठूलो योगदान पुर्याउन सक्छ ।’

जिल्ला नागरिक आरोग्य समितिका संयोजक र जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिला धर पौडेलले आयुर्वेदको महत्व र आवश्यकता जन स्तरमा बुझाउन चेतना अभियानको आवश्यकता रहेको बताए ।

उनले भने,–‘हामीले आवश्यकता अनुसार मात्र स्वास्थ्य संस्थामा जानु हुँदैन, रोगको सही पहिचान र उपचारका लागि आयुर्वेदले प्रभावकारी उपचार प्रदान गर्दछ ।’

पोखरामा बृहत् निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

गण्डकी आयुर्वेद अस्पताल, कास्कीको आयोजनामा पोखरा महा नगरपालिका वडा नं. २८ स्थित कालिका स्वास्थ्य चौकीमा शनिवार एक दिवसीय निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा ४२२ जनाले निःशुल्क स्वास्थ्य परीक्षण र औषधि प्राप्त गरे । शिविरमा १०५ जनाको सुगर र पिसाब परीक्षण, ३७ जनाको एकांग स्नेहन स्वेदन, र २० जनालाई कपिंग सेवा प्रदान गरिएको थियो ।

शिविरमा हाड जोर्नी, नशा रोग, पाइल्स, फिसर, फिस्टुला, नाक, कान, घाटी रोग, स्त्री र प्रसूति रोग, पेट र छातीका समस्याहरू, र पिसाब सम्बन्धी रोगहरूको उपचार गरियो ।

यो शिविर पोखरा महा नगरपालिका, स्वास्थ्य महाशाखा, कालिका स्वास्थ्य चौकी र माझठाना स्वास्थ्य चौकीको समन्वयमा आयोजना गरिएको थियो, र स्थानीय आयोजक पोखरा महा नगरपालिका वडा नं. २८ कार्यालय थियो ।

गण्डकी आयुर्वेद अस्पतालका प्रमुख डा. शंकर गौतमको नेतृत्वमा चिकित्सकीय टोलीले शिविरमा सहभागिता जनाएका हरू लाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्यो । टोलीमा डा. दीक्षा पौडेल, डा. नरेन लामिछाने, डा. किरण कमल बस्ताकोटी, डा. अनिल थापा, डा. शुभाष भुजेल, र डा. बिपिन बन्धु आचार्य समावेश थिए।

डा.गौतमको अनुसार शिविर आयुर्वेदिक उपचारको महत्व र प्रभावकारिता समुदायमा अझ बढी फैलाउने उद्देश्यले आयोजना गरिएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!