चीनमा नयाँ भाइरस ‘एचएमपीभी’ को प्रकोपः के हो यो भाइरस? प्रकोपले महामारी निम्त्याउला ? 


काठमाडौँ – चीनमा एउटा नयाँ भाइरस, ह्युमन मेटान्युमोभाइरस (एचएमपीभी), को प्रकोप फैलिएको खबर सामाजिक सञ्जाल र मिडियामा छाएको छ । तर अधिकारी हरूले हालसम्म human metapneumovirus काे  प्रकोपलाई आधिकारिक रूपमा पुष्टि गरेका छैनन् ।

चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार २०२४ को अन्तिम साता सम्मको तथ्याङ्कले चीनमा विभिन्न फ्लु (रुघा) जस्तै रोगहरूको दर बढ्दै गएको देखाएको छ ।

ती तथ्याङ्कका आधारमा, फ्लु प्रमुख प्रकोपको रूपमा देखिएको छ, जसमा ३०.२ प्रतिशत परीक्षणहरू फ्लु पोजिटिभ आएका छन् । यो दर अघिल्लो साताको तुलनामा ६.२ प्रतिशतले बढी हो । साथै, गम्भीर श्वास प्रश्वास सम्बन्धी समस्याबाट पीडित १७.७ प्रतिशत बिरामीमा फ्लु पोजिटिभ पाइएको छ ।

यद्यपि, तथ्यले देखाएको छ कि एचएमपीभी अन्य फ्लु जस्ता रोगहरू (जस्तै, कोभिड–१९, राइनोभाइरस, एडेनोभाइरस) भन्दा अगाडि रहेको छ । चीनमा ६.२ प्रतिशत श्वास प्रश्वास सम्बन्धी परीक्षणहरू एचएमपीभी पोजिटिभ पाइएको छ र ५.४ प्रतिशत अस्पताल भर्ना भएका बिरामी यो मामिला सँग जोडिएका छन ।

एचएमपीभी के हो? 

ह्युमन मेटान्युमोभाइरस (एचएमपीभी) एउटा यस्तो भाइरस हो, जसले सबै उमेरका मानिसहरूमा फ्लु जस्तो समस्या निम्त्याउन सक्छ । विशेष गरी साना बालबालिका, वृद्ध वृद्धा र कमजोर प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूलाई यसको जोखिम बढी हुन्छ । यो भाइरस सन् २००१ मा मात्र पत्ता लागेको हो ।

यो भाइरस रेस्पिरेटरी सिंसिटियल भाइरस (आरएसभी) जस्तै परिवारको हो । फ्लु जस्तो लक्षण भएका बिरामीमा विशेष परीक्षणहरू गर्ने प्रवृत्तिले एचएमपीभीलाई श्वास प्रश्वास सम्बन्धी रोगको एक प्रमुख कारणका रूपमा पहिचान गर्न सजिलो बनाएको छ ।

एचएमपीभी कसरी फैलिन्छ? 

एचएमपीझी सामान्यतया सङ्क्रमित व्यक्तिको हाच्छिउँ वा खोक्दा निस्कने पानीका ससानो थोपाहरू, सङ्क्रमित व्यक्ति सँगको शारीरिक सम्पर्क (अङ्गालो हाल्दा वा चुम्बन गर्दा) र भाइरसबाट दूषित सतह वा वस्तु छोएर नाक, मुख वा आँखा छोए पछि फैलिन्छ । संयुक्त राज्य अमेरिकामा यो भाइरस फ्लु र अन्य रोगहरू सँगै फैलिन्छ र जाडो र वसन्त ऋतुमा बढी सक्रिय रहन्छ ।

लक्षण र रोकथाम
एचएमपीभीका लक्षणहरूमा खोकी, ज्वरो, टाउको दुखाइ, नाक बन्द हुने वा बग्ने समस्या समावेश छन् । गम्भीर अवस्थामा यसले श्वास फेर्न कठिनाइ, ब्रोङ्काइटिस (फोक्सोको वायुमार्गको सुन्याइ) वा निमोनियाँ (फोक्सोको सुन्न्याइ) सम्म पुर्याउन सक्छ।

रोकथामका लागि साबुन पानीले नियमित रूपमा हात धुने, अनुहार नछुने, बिरामी सँग नजिकको सम्पर्क नगर्ने र बिरामी भएको अवस्थामा घरमै आराम गर्ने सुझाव दिइएको छ ।

एचएमपीभीको प्रकोपले महामारी निम्त्याउला ? 

एचएमपीभीको लागि हाल सम्म कुनै विशिष्ट उपचार वा खोप उपलब्ध छैन । सङ्क्रमित व्यक्तिलाई फ्लु जस्तै उपचार गर्न सिफारिस गरिएको छ।

चीनमा एचएमपीभीको सम्भावित प्रकोपको गम्भीरता र व्यापकता बारे हाल सम्म पर्याप्त जानकारी उपलब्ध छैन । तर, यो भाइरस पहिले नै विश्वका धेरै स्थानमा फैलिई सकेको र यसका विरुद्ध मानिसहरूमा आंशिक प्रतिरोधात्मक क्षमता भएकोले, कोभिड–१९ जस्तै नयाँ महामारीको सम्भावना कम छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!