गर्भावस्थामा भिडियो एक्स-रे, कहिले र किन ?


गर्भावस्थामा अल्ट्रासाउन्ड अर्थात् भिडियो एक्स-रे गराउँदा बच्चाको स्वास्थ्य र विकासको बारेमा जानकारी प्राप्त हुन्छ । सोनोग्राफी वा अल्ट्रासोनोग्राफी समेत भनिने यो प्रकृया ले स्वस्थ गर्भावस्था छ वा छैन र यसमा कुनै जटिलता छ कि छैन भन्ने पनि थाहा हुन्छ ।

अल्ट्रासाउन्डले स्वास्थ्य सेवा प्रदायकहरू लाई कुनै चिरफार नगरी शरीर भित्रका नरम तन्तुहरूको विवरण हेर्न सक्षम बनाउँछ र एक्स-रे को विपरीत, अल्ट्रासाउन्डमा विकिरण प्रयोग हुँदैन ।

यो एक एक ‘नन इन्वेसिभ’ इमेजिङ (चिकित्सकीय उद्देश्यले कुनै अङ्ग को तस्विर वा प्रतिविम्ब बनाउने काम) परीक्षण हो जसले उच्च तीव्रता ध्वनि तरङ्गहरू प्रयोग गरेर शरीर भित्र को संरचनाहरू देखाउँछ।अल्ट्रासाउन्ड ले ध्वनि तरङ्गहरू को माध्यमले शरीर भित्रको नरम तन्तुहरूको वास्तविक समयमा चित्र वा भिडियो देख्न सकिन्छ ।

स्वास्थ्य सेवा प्रदायकहरूले धेरै उद्देश्यका लागि अल्ट्रासाउन्ड परीक्षण गर्छन् । यस अन्तर्गत गर्भावस्थाको समयमा भ्रूण को अवस्था लगायतका विभिन्न निदान गर्न उपयोग गरिन्छ ।

गर्भावस्थामा अल्ट्रासाउन्ड गर्ने विधि र समय

पहिलो भिडियो एक्स-रे गर्भवती भएको थाहा हुने बित्तिकै गर्नु पर्दछ । यसबाट गर्भवती भएको पुष्टि हुनुका साथै गर्भ पाठेघर भित्र रहेको छ/छैन वा कहाँ नेर रहेको छ भन्ने जानकारी पाइन्छ । यस्तै गर्भमा कति वटा बच्चा रहेको छ र गर्भ रहेको कति समय भयो भन्ने जानकारी समेत पाउन सकिन्छ।

पहिलो भिडियो एक्स-रे मा बच्चाको मुटुको धड्कन नदेखिएमा २ हप्ता पछि पुनः अर्को भिडियो एक्स-रे गरी मुटुको धड्कन आएको, नआएको एकिन गर्नु पर्दछ । पहिलो भिडियो एक्सरे मै पाठेघर भित्र रहेको बच्चाको मुटुको धड्कन देखिएमा र सबै कुरा सामान्य रहेमा पुनः दुई साता पछि भिडियो एक्स-रे गर्न जरुरी छैन ।

गर्भवती महिलाले दोस्रो भिडियो एक्स-रे ११ देखी १३ हप्तामा गर्नु पर्दछ । मिति तोकेरै भन्नु पर्दा यो भिडियो एक्स-रे ११ हप्ता ३ दिन देखि १३ हप्ता ६ दिन सम्ममा गर्नु पर्दछ । यसमा नाकको हड्डी बनेको नबनेको हेर्नु का साथै गर्धनको पछाडि भागमा पानीको मोटाइ हेरिन्छ ।

यो र यस पछिका भिडियो एक्स-रे हरूमा विशेष परिस्थिति बाहेक लाई भिडियो एक्स-रे गर्नाका लागि पिसाब चेपेर बस्न पर्दैन । र गर्भवती महिलाले भिडियो एक्स-रे गर्नाका लागि खाना नखाई बस्नु पर्दैन ।

ढिलो विवाह गर्ने र आफ्नो वा श्रीमानको उमेर ढल्के पछि गर्भवती हुने महिलाहरूका लागि यो भिडियो एक्स-रे एकदमै महत्वपूर्ण हुन्छ । यो भिडियो एक्स-रे र डुवेल मार्कर टेस्ट लाई जोड्दा भ्रूणमा क्रोमोजोमल असामान्यता हरू जस्तै डाउन सिन्ड्रोम भए नभएको समेत अनुमान गर्न सकिन्छ ।

डुवेल मार्कर परीक्षण, जसलाई मेटेरनल सीरम स्क्रिनिङ पनि भनिन्छ, रगत परीक्षण हो जसले विकासशील भ्रूणमा क्रोमोजोमल असामान्यताहरूको जाँच गर्दछ ।

यो समयमा डक्टस भेनोसस नामको मुटुमा शुद्ध रगत लाने रक्त नलीमा रगतको वहाव हेरेर बच्चामा भएको क्रोमोजोमल असामान्यता, बच्चाको मुटुको गडबडी जस्तैः पल्मोनरी एट्रेसिया (एक खतरनाक जन्म दोष जसले मुटु बाट फोक्सोमा रगत प्रवाह गर्न बाट रोक्छ), बच्चामा हुन सक्ने ट्यूमर जस्तै (सैक्रोकोकसीजियल टेराटोमा) आदीको बारेमा समेत जानकारी लिन सकिन्छ । साथै, ब्रेन (मस्तिष्क) स्टेमर, ब्रेन स्टेम ओसिपिटल बोन रेसियो (हड्डीको अनुपात) नापेर न्यूरल ट्युब डिफेक्ट (दोष) भए नभएको पनि अनुमान गर्न सकिन्छ ।

युटरीन आर्टरी (पाठेघरको धमनी) को डपलर बाट गर्भवती महिलामा भविष्यमा हुन सक्ने प्रिक्ल्याम्पसीया (गर्भावस्था मा हुने रक्त चाप बढ्ने जस्तो रोग) को बारेमा समेत अनुमान गर्न सकिन्छ । हाम्रो देश नेपालमा यो समयको भिडियो एक्स-रे लाई धेरै नजर अन्दाज गरेको पाइन्छ ।

फस्ट ट्राइमस्टर एनोमोली स्क्यान (पहिलो त्रैमासिक गडबडी सम्बन्धी स्क्यान) बाट बच्चाको मस्तिष्क तथा मुटुमा भएका निको हुने तथा नहुने धेरै प्रकारका स्ट्र्रक्चर एनोमोली (संरचनात्मक विसंगति) पत्ता लगाउन सकिन्छ र निको नहुने समस्या भएका गर्भवती महिलाहरूलाई बेलैमा गर्भ पतन गराएर डिटेल्ड एनोमोली स्क्यान (विस्तृत विसंगति स्क्यान) भन्दा करिब दुई महिना पहिले नै काम नलाग्ने गर्भ बोकी रहने झन्झट बाट मुक्ति दिलाउन सकिन्छ । त्यसैले यो भिडियो एक्स-रे दक्ष रेडियोलोजिष्टबाट राम्रो मेशिनमा गराउन आवश्यक हुन्छ ।

एनोमोली स्क्यानः एनोमोली स्क्यान भनेको गर्भवती अवस्थामा गराउने सबैभन्दा महत्वपूर्ण भिडियो एक्स-रे हो । यसमा बच्चा बन्न पर्ने अङ्ग प्रत्यङ्ग बनेको नबनेको विस्तृत रूपमा हेर्न सकिन्छ ।

एनोमोली स्क्यान पछिको भिडियो एक्स-रे कहिले गर्ने भन्ने कुरा बच्चा र आमाको अवस्थामा भर पर्दछ । ३० हप्ता पछिको समयमा स्त्री तथा प्रसूति रोग बिषेशज्ञको सल्लाह अनुसार भिडियो एक्स-रे गर्नु पर्ने हुन्छ ।

सामान्यतया ३२ हप्तादेखि ३६ हप्ता र ४० हप्तामा भिडियो एक्स-रे गराउन पर्दछ ।यो समयमा गरिने भिडियो एक्स-रे बाट बच्चाको वृद्घि/तौल आमाको पेटमा भएको पानीको मात्रा, (एम्नियोटिक फ्लुइड इन्डेक्स), बच्चा उल्टो वा सुल्टो रहेको अवस्था, घाँटीमा नाल बेरिएको अवस्था, सालको अवस्था र सालले बच्चाको बाटो छेकेको अवस्था र बच्चामा भएको रक्त संचारको अवस्था आदीको बारेमा जानकारी लिन सकिन्छ ।

यी बाहेक गर्भवती अवस्थामा धेरै पेट दुखेमा, रक्तस्राव भएमा वा बच्चा चलेको आमालाई थाहा नभएमा स्त्री तथा प्रसूति रोगको सल्लाहमा अन्य कुनै पनि बेला भिडियो एक्स-रे गर्न पर्ने हुन्छ ।(कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. केसी वीरेन्द्र अस्पताल र एभरेस्ट अस्पतालमा कार्यरत छन् ।)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!