‘कान्ति बाल अस्पतालको पूर्वाधारमा सघाउन कतार सकारात्मक’
काठमाडौं–स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतार सँग आग्रह गरेका छन् ।
देशकै ठूलो सरकारी अस्पतालमा उपचार विस्तार का लागि भवन सहितका संरचना र पूर्वाधार विकास गर्न स्वास्थ्य मन्त्रालयले डिपिआर निर्माण गरेर योजना अघि बढाएको छ । यसमा मित्र राष्ट्र कतारबाट नेपालले सहयोग अपेक्षा गरेको मन्त्री पौडेलले बताए ।
कतारी राजदूत मिसाल बिन मोहम्मद अल अन्सारी सँगको भेटमा स्वास्थ्य मन्त्री पौडेलले बालबालिकाको स्वास्थ्य सुधारलाई सरकारले प्राथमिकता राखेको जनाउँदै अस्पतालको पूर्वाधार विकासमा कतार बाट साथ सहयोगको अपेक्षा गरेको बताए ।
कतारको विकासमा नेपाली नागरिकको योगदान रहेको चर्चा गर्दै मन्त्री पौडेलले कतारले समेत नेपालको विकासमा साथ दिएकामा प्रशंसा गरे ।
कतारी राजदूत अन्सारीले दुई देश बीचको सम्बन्ध असल रहेको जनाउँदै सहयोगका क्षेत्र विस्तार गर्न चाहेको बताए । कतार सरकारको सहयोगी संस्था कतार च्यारिटीले नेपालमा स्वास्थ्य क्षेत्रमा सहयोगका लागि समेत काम गरिरहेको राजदूत अन्सारीले बताए ।
उनले नेपाली बालबालिकाको स्तरीय उपचार सेवाका लागि कान्ति अस्पतालमा सहयोग गर्न सकारात्मक रहेको जनाएको मन्त्री पौडेलको सचिवालयले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस