विश्व एडस दिवस
ग्रामीण क्षेत्रमा यौनिक अल्पसङ्ख्यक, सीमान्त कृत समुदायमा एचआइभी एड्स असमानताका प्रभावहरू
नेपालका ग्रामीण क्षेत्रहरूमा एचआइभी एड्स जन स्वास्थ्यको हिसाबले एउटा ठूलो चुनौतीका रूपमा छ । यहाँको यौनिक अल्पसङ्ख्यक तथा सीमान्त कृत समुदाय, विशेष गरी महिला, लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, क्वियर, इन्टरसेक्स, र एसेक्सुअल(LGBTQIA ) व्यक्ति, र गरिबीमा जीवन यापन गरिरहेका हरू, असमानताको कारण अझ बढी जोखिममा छन् । सीमित स्वास्थ्य सेवाको पहुँच, सामाजिक कलङ्क को डर र आर्थिक असुरक्षाले यी समुदायलाई अझ कमजोर बनाएको छ ।
महिलाहरू र लैङ्गिक असमानताः
ग्रामीण नेपालमा परम्परागत लैङ्गिक भूमिकाले महिलाहरूलाई धेरै पिछडिएको अवस्थामा राखेको छ । एकातिर शिक्षाको कमी र स्वास्थ्य सेवाको अभावका कारण महिलाहरूलाई एचआईभी रोकथाम र प्रजनन स्वास्थ्य बारे थाहा पाउने अवसर नै हुँदैन । अर्कोतिर महिलाहरूलाई यौन सम्बन्धमा सुरक्षित अभ्यास अपनाउन वा स्वास्थ्य सेवाका लागि निर्णय लिन कठिनाइ हुने गरेको पाइएको छ ।
मुख्य चुनौतीहरूः
- बाल विवाहः कम उमेरमै विवाह भएका किशोरीहरू यौन जन्य रोगको जोखिममा परेका हुन्छन् ।
- लैङ्गिक हिंसाः यौन दुर्व्यवहारका शिकार भएका महिलाहरू एचआइभीको जोखिममा रहन्छन् । तर सहयोग लिन र खोज्न नसक्ने अवस्थामा भएकोले पनि उनीहरूमा जोखिम बढेको हुन्छ ।
- स्वास्थ्य सेवाको पहुँचः ग्रामीण क्षेत्रमा स्वास्थ्य केन्द्र टाढा हुनु र महिला स्वास्थ्य कर्मीको अभावले महिला, यौनिक अल्पसङ्ख्यक हरू सेवाबाट टाढिएका हुन्छन ।
- यौनिक अल्पसङ्ख्यक (LGBTQIA ) समुदायः नेपालमा (LGBTQIA ) अधिकारमा केही प्रगति भए पनि ग्रामीण क्षेत्रमा कलङ्क र विभेद अझै नभएको होइन । यी व्यक्तिहरूलाई, सूचना, सामाजिक सञ्जालबाट अलग गरिन्छ, जसले उनीहरूको जानकारी र सेवाको पहुँचमा अवरोध पुर्याइरहेको हुन्छ । विभेद वा दुर्व्यवहारको डरले, आफ्नो अधिकार र जानकारीको अभावमा धेरै LGBTQIA व्यक्ति एचआईभी परीक्षण र उपचार खोज्न सक्दैनन्।
- सामाजिक विभेदःLGBTQIA व्यक्तिहरूलाई सामाजिक रूपमा बहिष्कृत गरिन्छ।
- कानुनी चुनौतीः सम लिङ्गी सम्बन्धलाई अवैध नभने पनि ग्रामीण क्षेत्रमा अझै यस समूहका व्यक्तिहरू दुर्व्यवहार गरिन्छ र गरिने सम्भावना रहन्छ ।
- यौनिक समानता सहितको स्वास्थ्य सेवाको अभावः LGBTQIA व्यक्तिका लागि हाल कुनै पनि किसिमको विशेष सेवा प्याकेजहरू उपलब्ध छैन ।
नेपालका LGBTQIA व्यत्तिहरूले स्वास्थ्य सेवामा गम्भीर चुनौतीहरूको सामना गर्नु परेको छ । जन्मजात महिलाले पुरुषको भेषमा वा पुरुषले महिलाको भेषमा अस्पताल जानु पर्दा सामान्य सार्वजनिक शौचालयको प्रयोग देखि रक्त परीक्षण, भिडियो एक्स-रे, सिटी स्क्यान जस्ता परीक्षणमा स्वास्थ्य कर्मी र चिकित्सकहरूकै बीच भ्रम पैदा हुने गरेको छ । यसले उनीहरूको उपचार प्रक्रियामा ढिलाइ र असुविधा ल्याउँछ । यस वर्गका अगुवाहरूले यौनिक समानता र यौनिक विविधता सम्बन्धी जानकारी मूलक तालिम स्वास्थ्य कर्मी र चिकित्सकहरूका लागि अनिवार्य गर्न जोड दिएका छन् । जसले यस समुदायका व्यक्तिहरूलाई समावेशी र सहज वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुर्याउनेछ ।
- गरिबी र आर्थिक असमानताः गरिबी, ग्रामीण नेपालमा एचआइभीको प्रमुख कारक हो । आर्थिक असुरक्षाले मानिसहरूलाई उच्च जोखिमका गतिविधिमा संलग्न गराउँछ, जस्तै आर्थिक अभाव पूरा गर्न यौन व्यवसाय अपनाउनु । शिक्षाको अभाव र कमजोर स्वास्थ्य संरचनाले जोखिम अझ बढाउँछ ।
- आप्रवासनः धेरै ग्रामीण नेपालीहरू कामका सिलसिलामा भारत जान्छन्, जहाँ उनीहरू उच्च जोखिममा परेका हुन्छन्।
- स्वास्थ्य सेवाको लागतः एचआइभी एड्स साग सम्बन्धित स्वास्थ्य सेवा र यातायात खर्च धान्न नसकिने अवस्था ।
- पोषणको अभावः कुपोषण र क्षयरोग जस्ता सह–रोगले एचआईभी भएका व्यक्तिको स्वास्थ्यलाई झन् कमजोर बनाइरहेको हुन्छ । हाल सरकारले पोषणको लागि Antiretroviral therapy (ART) एआरटी सेन्टरबाट निःशुल्क पोषण वितरण कार्यक्रम सुरुवात गरेको छ।
- असमानताका अन्तर सम्बन्धित चुनौतीहरूः ग्रामीण क्षेत्रमा सीमान्त कृत समुदायका व्यक्तिहरूले विभिन्न चुनौतीको सम्मिश्रित असर बेहोर्नु पर्छ । जस्तै, गरिबीमा बस्ने महिलालाई लैङ्गिक असमानता, आर्थिक असुरक्षा, र स्वास्थ्य सेवाको अभावले झन् जोखिममा पार्छ।
समाधान र उपायहरू
ग्रामीण नेपालमा एचआईभी रोकथामका लागि विविध तरिका अपनाउनु आवश्यक छ ।
- १. स्वास्थ्य सेवाको पहुँचमा सुधारः सहरी इलाकामा समेत यौनिक अल्पसङ्ख्यक तथा सिमांकृत समुदायका हरू स्वास्थ्य सेवा लिन जाँदा असमानता महसुस गर्नु परेको छ । एआरटी सेन्टर छुट्टै भए पनि उहाँहरूलाई चाहिने सामान्य चिकित्सा, सामान्य शल्यक्रिया जस्ता उपचारहरू को लागि यौनिक समानता को अवधारणा सहित र मनो सामाजिक परामर्श, स्वास्थ्य सँग सम्बन्धित परामर्शहरू को लागि दुर्गम ठाउँमा मोबाइल क्लिनिक सञ्चालन र टेलि मेडिसिन सेवा विस्तार गर्नु आवश्यक छ । त्यस्तै गरी, स्वास्थ्य कर्मीलाई समावेशी र यौनिक समानता सहित विभेद रहित सेवाका लागि तालिम दिन आवश्यक छ।
- २. सामुदायिक जागरुकता र शिक्षाः ग्रामीण समुदायका सीमान्त कृत तथा यौनिक अल्पसङ्ख्यक हरुलाई खुलेर सेवा लिन लागि स्थानीय भाषामा जन चेतना कार्यक्रम सञ्चालन को आवश्यकता रहेको छ ।
- ३. आर्थिक सशत्तीकरणः व्यावसायिक तालिम र साना उद्यमका लागि आर्थिक सहयोग । महिलाको सहकारी र LGBTQAI संस्थालाई सशत्त पार्ने पहल गर्नु आवश्यक छ ।
- ४. नीति र वकालतः LGBTQAI अधिकारलाई थप बलियो बनाई, कार्यान्वयन गर्न कानुनी सुधार आवश्यक रहेको छ ।
ग्रामीण क्षेत्रमा एचआईभी सम्बन्धी स्वास्थ्य सेवामा लगानी ।
अझै दुर्गमका अस्पतालहरूमा एआरटी सेन्टरहरू नभएको र भएको ठाउँमा पनि सेवा ग्राहीहरू आफ्नो गाउ ठाउँमा गोप्यताको अभाव, विभेद र सामाजिक कलंकको समस्याले टाढा टाढाको स्वास्थ्य संस्थामा आफूलाई दर्ता गराई उपचार लिइरहेका छन् ।जसले गर्दा नियमित खानु पर्ने औषधिहरू नियमित लिन सकिरहेका छैनन् भने अनावश्यक खर्च र झन्झट बेहोर्नु परिरहेको छ।
ग्रामीण नेपालमा एचआइभी एड्स केवल स्वास्थ्य समस्या नभई सामाजिक असमानताको समस्या हो। महिला, यौनिक अल्पसंख्यक LGBTQAI व्यक्ति, र गरिबीमा परेका समुदायहरूले स्वास्थ्य सेवाको अभाव, कलङ्क, र विभेदको समस्या सामना गरिरहेका छन्।
यी चुनौतीहरूको समाधान गर्न समावेशी नीति, स्वास्थ्य, शिक्षा, र आर्थिक सशक्तीकरण सामाजिक न्यायलाई एकसाथ अघि बढाउन अत्यन्त आवश्यक छ । यसबाट मात्रै नेपाल को ग्रामीण भेगमा एचआईभी/एड्सको प्रभावलाई घटाउँदै सबैका लागि न्याय पूर्ण स्वास्थ्य सुनिश्चित गर्न सकिन्छ । (डा.झा रसुवा अस्पतालमा सिनियर कन्सल्टेन्ट मेडिकल जनरलिस्ट हुन )
प्रतिक्रिया दिनुहोस