‘मस्तिष्क मृत्यु पछि अङ्गदान गर्ने परिवार लाई २ लाख’


काठमाडौं–स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मस्तिष्क मृत्यु पछि अङ्ग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गरेका छन् ।

मस्तिष्क मृत्यु भएका बिरामीहरूको अङ्ग दान गर्न चाहने त्यस्ता परिवारलाई यस अघि शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर मार्फत १ लाख रुपैयाँ दिने गरिएको थियो । अब यस्ता दाताका परिवारलाई दिने रकममा १ लाख थप गर्ने निर्णय मन्त्री पौडेलले गरेका हुन् ।

अर्थ मन्त्रालयले मन्त्री पौडेलको निर्णय कार्यान्वयनमा आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ । मन्त्रालयको आन्तरिक श्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको मन्त्री पौडेलले जनाए ।

यस्तै अंग दानमा सघाउने अस्पताललाई यस अघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पुर्याएको छ ।

मुलुकमा वर्षेनी मृगौला प्राप्तिका लागि १ हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले अङ्ग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने गरेका छन् ।

नेपालमा मस्तिष्क मृत्यु  भएका व्यक्तिबाट मिर्गौला प्रत्यारोपण सुरु गरेको मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी प्रमुख डा.पुकारचन्द्र श्रेष्ठका अनुसार हाल सचेतना अभावमा दान गर्न चाहने को सङ्ख्या अत्यन्त न्यून छ ।

पछि हुने दान बढाउन सकिए धेरैको ज्यान जोगाउन सकिने औँल्याउँदै डा.पुकार स्वास्थ्य मन्त्रीको प्रोत्साहन मूलक निर्णयले दाता बढेर धेरैको ज्यान जोगाउन सकिने र दाताको सङ्ख्या दोब्बर हुने आशा गरेको बताउँछन् ।

हाल भक्तपुरको शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मुलुकमा वर्षेनी २ सय मृगौला र २० जनाको कलेजो प्रत्यारोपण गर्दै आएको छ ।

स्वास्थ्य मन्त्रालयको अनुसार यो मुलुकमा हुने कुल अङ्ग प्रत्यारोपणको झन्डै ७० प्रतिशत हो । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल सँगै केही निजी अस्पतालले समेत अङ्ग प्रत्यारोपण गर्दै आइरहेका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!