‘भारतीय सिकलसेलको औषधि नेपालमा वितरण गर्ने प्रधानमन्त्री ओलीको घोषणा’
धरान– प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन् ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोहमा सोमवार प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन । नेपालको थारू समुदायमा सिकलसेल रोग बढी लाग्ने गरेको छ ।
प्रधानमन्त्री ओली ले संसारमा खोज र अनुसन्धानबाट पत्ता नलाग्ने र इमानदार तथा लगनशील भएर काम गरेमा सफलता प्राप्त हुने भएकोले उत्पादित नयाँ चिकित्सकहरूलाई सिकलसेलको औषधि वितरण गर्न तयार हुनुपर्ने बताए ।
नेपालको धर्तीबाट ऋषि चरकले स्वास्थ्य विज्ञानको थालनी गरेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्रीले सकभर निरोगी हुने र बिरामी भए सुलभ रूपमा उपचार पद्धतिका लागि सरकारले ध्यान दिएको समेत जनाए ।
प्रधानमन्त्री ओलीले नेपालका स्वास्थ्य संस्थामा चिकित्सक विद्यार्थीको कोटा थप्न, यस क्षेत्रलाई प्रभावकारी र सुशासन युक्त बनाउन सरकार प्रतिबद्ध रहेको समेत स्पष्ट गरे । समारोहमा ६ सय ५७ विद्यार्थी दीक्षित भएका छन् ।
प्रतिक्रिया दिनुहोस