‘अब धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पढाइ समेत हुने’


भक्तपुर–शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पहिलो पटक पठन, पाठन प्रकृया शुरु भएको छ । प्रत्यारोपण केन्द्रले वर्षौ देखी पठन पाठन कार्य समेत शुरु हुनु पर्ने माग गर्दै आएको थियो ।

प्रत्यारोपण केन्द्रमा ‘मिर्गौला प्रत्यारोपण शल्यक्रिया’ र ‘मिर्गौला प्रत्यारोपण चिकित्सा’, विषयमा १ वर्षे फेलोसिप कार्यक्रम शुरु भएको हो ।

नेपाल मेडिकल काउन्सिलले सोमवार प्रत्यारोपण केन्द्रमा किड्नी ट्रान्सप्लान्ट सर्जरी र रेनल ट्रान्सप्लान्ट मेडिसिन विषयमा एक एक जना लाई १ वर्षे फेलोसिप कार्यक्रमको लागि स्वीकृति प्रदान गरेको हो ।

‘प्रत्यारोपण केन्द्रमा अब पठन पाठन प्रकृया शुरु भएको छ’, काउन्सिलका रजिष्ट्रार डा.सतिस कुमार देवले भने–‘केन्द्र वाट पेश भएका विभिन्न आवश्यक कागजात र काउन्सिल वाट भएको निरीक्षण प्रतिवेदनको आधारमा क्लिनिकल फेलोसिप कार्यक्रम लाई स्वीकृति प्रदान गरिएको हो ।’

पठन पाठन शुरु हुनु सकारात्मक रहेको जनाउँदै प्रत्यारोपण केन्द्र का निर्देशक एवं कलेजो तथा मिर्गौला प्रत्यारोपण विज्ञ डा.पुकार चन्द्र श्रेष्ठले भने–‘मुलुकमा कलेजो र मिर्गौलाको प्रत्यारोपण एवं डाइलासिस को क्षेत्रमा संख्यात्मक र गुणात्मक रूपमा प्रत्यारोपण केन्द्र अग्रणी संस्था हो । देश भरमा हामीले नै डायलासिसको लागि तालिम दिने गरेका छौं । तर दुखको कुरा के छ भने यसलाई प्रशिक्षण केन्द्रको रुपमा विकास गर्ने प्राज्ञिक संस्था बनाउने भरमग्दुर प्रयास हुँदा हुँदै पनि यसले मूर्त रूप लिन सकेन ।’

अहिले प्रदिप पौडेल स्वास्थ्य मन्त्री बने पछि यसलाई अङ्ग प्रत्यारोपण को हब बनाउने प्रयास शुरु भएको जनाउँदै डा.पुकारले भने–‘प्रदीप पौडेल ज्यू स्वास्थ्य मन्त्री भए पछि विशेष रूपमा उहाँ को पहलले हालको फेलोसिप कार्यक्रम ले मूर्त रूप लिएको हो ।’

तर दुई वटा विषयमा फेलोसिप कार्यक्रम सञ्चालन हुनु सकारात्मक रहे पनि संस्थाको क्षमता अनुसार अत्यन्त न्यून रहेको औँल्याउँदै डा.पुकारले भने–‘प्रत्यारोपण केन्द्र फेलोसिप भन्दा माथिको जनशक्ति एमएस/एमडी, डिएम/एमसिएच आदि शुरु गर्न सक्षम र उपयुक्त संस्था हो ।’

उनले राष्ट्रिय प्रत्यारोपण केन्द्र लाई शैक्षिक प्रतिष्ठान बनाएर देश भरी सेवा विस्तार गर्न वर्तमान स्वास्थ्य मन्त्री समेत सकारात्मक रहेर जोस जाँगर साथ अगाडि बढी रहेकोले आफू थप आशावादी रहेको समेत बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!