‘कुन अस्पतालमा जलन पीडितको निःशुल्क उपचार ?’


काठमाडौं– मुलुकको ८ वटा अस्पतालमा जलन पीडितको निःशुल्क उपचार हुने भएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलको जलन पीडितको उपचार निःशुल्क बनाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकले पारित गरे पछि देशका विभिन्न भागमा रहेका ८ वटा अस्पतालमा निःशुल्क उपचार हुने भएको हो ।

मन्त्री परिषदको निर्णयमा उपचार गर्न नसक्ने बिरामीलाई कस्मेटिक बाहेकका जलनको उपचार व्यवस्था निःशुल्क गर्ने उल्लेख छ । मुलुकमा वर्षेनी करिब ५५ हजार जनामा आगलागी वा कुनै माध्यमबाट जलनको समस्या देखिने गरेको स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ ।

निःशुल्क उपचार अन्तर्गत काठमाडौं उपत्यकामा कीर्तिपुर अस्पताल र वीर अस्पताल मा जलन पीडितको निःशुल्क उपचार हुने छ । मुलुकमा सबै भन्दा बढी जलन पीडितको कीर्तिपुर अस्पतालमा उपचार हुने गरेको थियो, यहाँ आठ सय जनाको उपचार भएको हो ।

यस्तै कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगन्ज, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बिनीमा भेरी अस्पताल कर्णालीमा जलन पीडितको उपचार निःशुल्क हुने भएको हो ।

यसै गरी कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूर पश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा समेत जलन पीडितको उपचार निःशुल्क हुनेछ ।

‘आर्थिक अभावले कसैले पनि जलनको उपचार बाट वञ्चित हुनु पर्दैन’, स्वास्थ्य मन्त्री पौडेलले भने, ‘आर्थिक अभावमा विपन्न समुदायका नागरिकले पाएको समस्या कम गर्न निर्णय गरेका हौँ ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!