विश्व मानसिक स्वास्थ्य दिवस
‘कार्यस्थल र विद्यालयमा मानसिक स्वास्थ्य’
कार्य स्थल कुनै पनि व्यक्तिको जीवनको एउटा महत्वपूर्ण पाटो हो । हामी दिनहुँ करिब ६ देखी ८ घण्टा वा यो भन्दा पनि बढी समय कार्यस्थलमा व्यतीत गर्छौ । कार्य स्थलको अवस्थाले प्रत्यक्ष रूपमा हाम्रो मानसिक स्वास्थ्य लाई प्रभावित गर्छ ।
स्मरण रहोस् सुरक्षित र सकारात्मक कार्य स्थलको परिवेशले मानसिक स्वास्थ्यको सकारात्मकता लाई बढाउँछ जबकी असुरक्षित एवं नकारात्मक कार्य स्थलको परिवेशले मानसिक स्वास्थ्यलाई नराम्ररी प्रभावित गर्छ ।
कार्यस्थल मा कुनै पनि व्यक्तिको उत्पादकत्व र गुण स्तरीय जीवन जिउनको लागि जति शारीरिक स्वास्थ्य आवश्यक छ, त्यो भन्दा बढी आवश्यक भनेको उसको मानसिक स्वास्थ्य समेत हो । यसरी समग्र रूपमा हेर्दा एउटा स्वस्थ व्यक्तिमा मानसिक स्वास्थ्यको महत्वपूर्ण भूमिका रहेको हुन्छ। अफिस वा पढ्ने विद्यालयहरूमा काम गर्दा वा पढ्दा मानसिक स्वास्थ्यमा सहयोग हुने सहज वातावरण, काम गर्ने वा पढ्ने वातावरण सहज बनाउन वा मानसिक स्वास्थ्यमा बढावा दिनको लागि मानसिक स्वास्थ्यका कार्यक्रमहरू महत्वपूर्ण हुन्छ ।
जसले कर्मचारीहरू र विद्यार्थीहरू तनाव रहित वातावरणमा हाँसी खुसी काम गर्न र पढ्न सक्छन् । कर्मचारीले कार्य स्थलमा भोग्नु पर्ने व्यावसायिक मानसिक उत्पीडन र चुनौतीहरू उच्च ओहोदाका प्रशासकहरू र चिकित्सकहरू जस्ता शिक्षित कर्मचारीहरू ले समेत आफ्नो कार्यस्थलमा आवश्यकता भन्दा बढी कामको बोझ, व्यवस्थापकीय समस्याहरू , काम अनुसारको कम तलव, सामाजिक उपेक्षा र कार्यस्थलमा आफ्नो पहिचानको कमीको रूपमा मानसिक उत्पीडनको सामना गर्नु परिरहेको हुन्छ ।
यसले गर्दा, प्रशासक, चिकित्सक तथा अन्य स्वास्थ्य कर्मीहरूमा बर्न आउट, चिन्ता र डिप्रेसन निम्त्याइरहेको हुन्छ । उनीहरूले आफ्नो काम र निर्णय गर्दा जनप्रतिनिधि र जनताको अपेक्षा अनुसार सीमित समयमा कार्य सम्पादन गर्नुपर्ने भएकोले समेत मानसिक अस्थिरता र अत्याधिक तनाव महसुस गर्न सक्छन् । जसले उनीहरूको मानसिक स्वास्थ्यलाई कमजोर बनाइ रहेको हुन्छ।
सरकारी वा गैरसरकारी संस्थाहरूमा मध्यमस्तरका कर्मचारीहरू र सहायक स्तरका कार्यालयका कर्मचारीहरूका लागि, निर्णयहरूमा आफ्नो सीमित पहुँच, आफ्नो कामको अस्पष्ट भूमिका, र तोकिएको समय सीमामा काम पूरा गर्नुपर्ने दबाबबाट उत्पन्न तनाव झेली रहेका हुन्छन्। होटल सेवा, दोहोरी ,डान्स बार र क्लबहरू जस्ता मनोरञ्जनका क्षेत्रहरूमा, कामदारहरूले प्रायः ग्राहकहरू बाट मौखिक दुर्व्यवहार, यौन जन्य दुर्व्यवहार, लामो घण्टाको सिफ्ट ड्युटी र कार्य स्थल तथा काममा असुरक्षा, पारिवारिक र व्यक्तिगत आर्थिक र सुरक्षाको चिन्ता ,त्यसै गरी सामाजिक सम्मान तथा आत्म–सम्मानमा कमीले मानसिक समस्या बढी रहेको हुन्छ ।
कार्पेट तथा इटा भट्टा कारखानाका कामदारहरूले कम ज्याला, असुरक्षित कार्यस्थल ले गर्दा थप चुनौतीहरूको सामना गरिरहेका हुन्छन् भने स्वायत्तताको अभाव, आर्थिक तनाव र शारीरिक थकानले यी सबै क्षेत्रहरूमा डिप्रेसन र दीर्घकालीन तनाव जस्ता मानसिक स्वास्थ्य समस्याहरू बढाउन मा योगदान पुर्याइरहेको हुन्छ।
कार्यस्थलमा मानसिक स्वास्थ्य
कार्यस्थलमा मानसिक स्वास्थ्यले प्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ जस्तै कर्मचारीको उत्पादकता, सन्तुष्टि, र त्यसले समग्रमा संगठनात्मक सफलतालाई असर गर्छ। मानसिक स्वास्थ्य समस्याहरू जस्तै तनाव, चिन्ता र डिप्रेसनको समयमा परामर्श वा उपचार नगरिएमा यसबाट कर्मचारीहरूको अनुपस्थिति, बर्नआउट, र काम गराइमा ह्रास आउनको साथै संस्थाकै असफलता निम्त्याउन सक्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार डिप्रेसन र चिन्ताका कारण विश्व अर्थतन्त्रमा वार्षिक १ ट्रिलियन डलरको उत्पादकत्वमा कमी आएको छ । मानसिक रूपमा स्वस्थ कार्यस्थल त्यो हो जहाँका कर्मचारीहरू ले काम गर्दा एक अर्काबाट साथ सहयोग पाइ रहेका हुन्छन्। काम गरे बापत प्रशंसा पाउनुको साथ खुसी र प्रोत्साहित महसुस गर्छन्।
कार्य स्थलहरूमा कर्मचारीलाई परामर्श सेवा, सहायताका कार्यक्रमहरू र मानसिक स्वास्थ्य सचेतना प्रशिक्षण जस्ता मानसिक स्वास्थ्य सँग सम्बन्धित कार्यक्रमहरूमा लगानी गर्नाले कर्मचारी तथा विद्यार्थीहरूको मनोबलमा सुधार आउनु को साथै उत्पादकत्वमा सुधार र कर्मचारीहरूको कार्य सम्पादनमा सुधार देखिएको छ । यी कार्यक्रमहरू कर्मचारीहरूको भलाइ को लागि लगानी मात्र नभई कुनै पनि संगठनको दीर्घकालीन सफलताको लागि पनि अति आवश्यक छ।
विद्यालयहरूमा मानसिक स्वास्थ्य
विद्यार्थीहरूले शैक्षिक र सामाजिक दबाबहरू बढ्दो रूपमा सामना गर्नुपर्ने हुँदा मानसिक स्वास्थ्य कार्यक्रमहरू विद्यालयहरूमा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। चिन्ता, अवसाद र धम्की हेर्दा सामान्य समस्याहरू भएता पनि यसलाई समयमा सम्बोधन गरिएन भने, विद्यार्थीको शैक्षिक सफलता र व्यक्तिगत विकासमा बाधा पुग्न सक्छ।
स्कूलहरूमा मनो सामाजिक परामर्श कर्ता, विद्यालय नर्स, साइकोलोजिस्ट द्वारा प्रदान गरिने मनो सामाजिक परामर्श र मानसिक स्वास्थ्य शिक्षाले विद्यार्थीहरूलाई उनीहरूको वर्तमान र भविष्यको मानसिक स्वास्थ्य लाई फाइदा पुर्याउनको साथ साथै विद्यार्थीहरूलाई जीवनको कठिन परिस्थितिमा लचिलो बन्न र कठिन परिस्थितिहरूको सामना गर्न मानसिक रूपमा तयार गर्दछ। मानसिक रूपमा स्वस्थ विद्यार्थीहरूले आत्मविश्वासको साथ शैक्षिक र सामाजिक क्रियाकलापहरूमा राम्रो नतिजा प्रदर्शन गर्दै, सकारात्मक सिक्ने सिकाउने वातावरणमा समेत योगदान पुर्याउन सक्छन् ।
कार्यस्थलमा मानसिक स्वास्थ्य को परामर्श तथा उपचारमा आइपर्ने अवरोधहरू
मानसिक स्वास्थ्य हेरचाहको धेरै फाइदाहरूको बावजुद,कार्यस्थलहरूमा मानसिक स्वास्थ्य परामर्श तथा उपचारको पहुँचमा अझै धेरै किसिमको बाधा अड्चनहरू छन् । त्यस मध्ये सबैभन्दा महत्वपूर्ण भनेको समाजमा मानसिक समस्यालाई सामाजिक कलंक र व्यक्तिगत कमजोरीको रूपमा हेरिन्छ।
त्यसैले धेरै जसो कर्मचारीहरू परिवार र समाज बाट हेपिने वा जागिर जाने डरले मानसिक स्वास्थ्यको लागि परामर्श तथा उपचार लिन बाट डराइ रहेका हुन्छन् । जसले तिनिहरूलाई अति नै आवश्यक पर्दा समेत मानसिक परामर्श तथा उपचार सेवा या त लुकी छिपी लिरहेका हुन्छन् या लिनबाट वञ्चित भइरहेका हुन्छन्।
आर्थिक समस्या , नेपाल जस्तो विकासोन्मुख देशमा अर्को प्रमुख चुनौतीको रूपमा रहेको छ। जुन मानसिक समस्याको उपचार लीनमा अर्को बाधकको रूपमा रहेको छ। धेरै कर्मचारीहरू ले पर्याप्त मानसिक स्वास्थ्यको फाइदाको बारेमा थाहा हुदाहुदै आर्थिक समस्याको कारणले परामर्श तथा उपचारमा सहज पहुँचको अभाव छ।
विशेष गरी ग्रामीण क्षेत्रहरूमा कार्यरत सरकारी तथा गैर सरकारी कर्मचारीहरू ,अध्ययन रत विद्यार्थीहरू, होटल व्यवसायी र त्यसमा काम गर्ने कामदारहरू, मनोरञ्जनको क्षेत्रमा काम गर्ने कामदारहरू, सानोतिनो व्यवसायहरूमा संलग्न व्यवसायीहरू वा कामदारहरू, गलैँचा कारखाना,इँटा भट्टामा काम गर्ने कामदारहरू र कर्मचारीहरू माझ मानसिक रोग विशेषज्ञ तथा मनोसामाजिक परामर्श कर्ता सम्म सीमित पहुँचको कारण समयमै उपचार पाउन गाह्रो भइरहेको हुन्छ।
अवरोधहरू पार गर्न ?
यी अवरोधहरू पार गर्न, कार्यालय, कम्पनी, फ्याक्ट्री, होटेल, व्यवसायी, तथा विद्यालयहरूले मानसिक स्वास्थ्य जागरूकता अभियानहरू सञ्चालन गर्नुपर्छ । र मानसिक समस्या तथा मानसिक स्वास्थ्यको बारेमा खुला संवाद मार्फत ‘यो कुनै पनि किसिमको सामाजिक कलङ्क नभइ उपचार तथा परामर्श पछि ठीक हुने’ जागरूकता समाज र जनता समक्ष पुर्याएर कर्मचारी तथा विद्यार्थीहरूलाई सामाजिक रूपमा कलंकित हुनबाट जोगाउनु पर्छ।
संघीय प्रदेश र स्थानीय स्तरमा सस्तो र सुलभ मानसिक स्वास्थ्य सँग सम्बन्धित सेवाहरू प्रदान गर्दै, धेरै भन्दा धेरै व्यक्ति वा परिवार माझ मानसिक सेवालाई विस्तार गर्ने त्यसको लागि जस्तै विशेषज्ञ सग टेलि मेडिसिन बाट परामर्श तथा उपचार को कार्यक्रमहरू र काम गर्ने समय लाई र छुट्टीलाई कर्मचारीको मानसिक स्वास्थ्य को आवश्यकता अनुसार लचिलो कामको शिफ्ट र ड्युटी को व्यवस्था गर्न सकिएमा मानसिक स्वास्थ्यमा पहुँच र सुधार गर्न सकिन्छ ।
नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड, स्थानीय सरकार र स्वास्थ्य सेवा प्रदायक स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाहरू मार्फत मानसिक स्वास्थ्य सेवाहरू किफायती र सहज र स्वास्थ्य बीमा द्वारा हाल कभर गरिएको भन्दा अझै जटिल मानसिक समस्याहरू कभर गर्ने गरी सेवा विस्तार गरेर लग्न सकेमा मानसिक स्वास्थ्य उपचारमा पहुँच सुनिश्चित गर्न सकिन्छ।
कार्यस्थलहरू र विद्यालयहरूमा मानसिक स्वास्थ्य लाई प्राथमिकता दिएर कार्यक्रमहरू अगाडि बढाउन सकेमा, हामीले व्यक्ति,समाज र अर्थतन्त्र सबैलाई फाइदा पुग्ने गरी कार्यस्थल तथा विद्यालयमा मानसिक स्वास्थ्य फस्टाउन सक्ने वातावरण सिर्जना गर्छौं। (डा.झा, रसुवा अस्पतालका वरिष्ठ कन्सल्टेन्ट मेडिकल जनरलिष्ट हुन)
प्रतिक्रिया दिनुहोस