विश्व रेबिज दिवस २०२४

‘एक डाक्टरको अनुभूति: राजु, रकी र रेबिज’

‘बाल्य कालमा साथीले कुकुर जस्तै भुक्दै, अनौठो व्यवहार गर्दै प्राण त्यागे’


अन्दाजी आजभन्दा चार दशक अघिको कुरा हो । म एक पटक मीन पचासको को छुट्टीमा आफ्नो दिदीको घर सर्लाही को सिसौट गाउँ गएको थिए । त्यहाँ बस्ने क्रममा राजु मेरो सबैभन्दा मिल्ने साथी बन्यो ।

उसले मलाई भरपूर मेहनतको साथमा साइकल चलाउन सिकाउथ्यो । सिक्ने क्रममा म लड्छु कि भनेर पछाडि बाट क्यारियर समातेर साइकल सँगै कुद्ने गर्थ्यौ । आफूलाई जति चोट पटक लागे पनि मुसुक्क हाँस्दै राजु पुनः लडेको साइकल उठाउँदै मलाई साइकल सिकाउने क्रम जारी राख्थ्यो ।

एक दिन, साइकल सिक्ने काम सके पछि हामी आ–आफ्नो घर फर्कियौं । त्यो गाउँमा एउटा भुस्याहा कुकुर पनि रहेछ । उस लाई रकी भनेर साथीहरूले बोलाउने र जिस्काउने गर्थे । त्यो दिन रकी (कुकुर)ले राजुलाई घर फर्किदैं गर्दा खेल्ने क्रममा टाउकोमा टोकी दिए छ । कुट्नु हुन्छ कि भनेर कुकुरले टोकेको कुरा डरले राजुले आमालाई भनेन छ सायद । अर्को दिन राजु साइकल सिकाउन आएन ।

म भेट्न जाँदा टाउको दुखेको र ज्वरो आएको भन्दै घरमै सुतिरहेको रहेछ । रकीले टोकेको केही साता पछि , राजु धेरै जसो समय घरमै सुतेर बिताउने गरेको थियो ।

टाउको दुख्ने, धेरै ज्वरो आउने लगायतका समस्या सहित राजुले खाना पनि नखाएको धेरै दिन भयो भनेर उसको आमाले छिमेकी दिदीलाई लाई भन्दै गरेको म अझै पनि सम्झन्छु ।

अलि पछि भेट्न जाँदा त छिमेकहरूले राजुलाई घेरेर बसेका रहेछन् । वहाँहरूले पानी दिँदा पानी पिउन अप्ठ्यारो हुने, धेरै आत्तिएर छटपटाउने र डराउने जस्तो अवस्था म छेउबाट निरन्तर हेरेर बसिरहेको मलाई अझै सम्म सम्झना छ ।

म काठमाडौं फर्किए । त्यसको केही समय पछि, भिनाजु काठमाडौं फर्किँदा मैले राजुको बारेमा सोधे । तर उसको त मृत्यु भइ सकेको रहेछ । म काठमाडौं फर्किएको केही समय पछि नै ।

मलाई त्यति बेला थाहा थिएन कि रेबिज, यति सामान्य टोकाइको कारणले ज्यानै लिने घातक रोग हो । जसको लागि उपयुक्त समयमा नै रेबिज विरुद्धको सुई लिएमा यो रोग वाट बाच्न सकिन्छ ।

राजुको मृत्युले मेरो मन मस्तिष्कमा गहिरो प्रभाव पारेको छ । मेरो लागि ज्यान दिने साथीलाई किन त्यो बेला बचाउन सकिएन भन्ने कुरा मेरो मनमा बारम्बार खेलिनै रहन्थ्यो र अझै पनि अझै पनि खेली रहन्छ ।

माथिको मेरो जीवनको व्यक्तिगत घटना ले रेबिज कति खतरनाक छ भन्ने कुरा तपाइहरूले महसुस गरि नै सक्नु भएको होला । एका तिर ग्रामीण क्षेत्रमा जहा यस्तो रोगहरूको उपचार सेवामा सहज पहुँच छैन भने अर्कातिर यो गम्भीर रोग प्रति सर्वसाधारणहरूमा जागरूकता समेत एकदम कम छ ।

रेबिज मानिस र जनावरहरूमा रर्‍यालको माध्यमबाट फैलिन्छ, सामान्यतया टोक्ने, कोपर्ने, चिथोर्ने, म्यूकोसा सँग प्रत्यक्ष सम्पर्क (जस्तै आँखा, मुख वा खुला घाउहरू) मार्फत । एक पटक क्लिनिकल लक्षणहरू देखा पर्दा, रेबिज  लगभग १०० प्रतिशत घातक हुन्छ ।

नेपालमा रेबिज, विशेष गरी ग्रामीण क्षेत्रमा प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहेको छ । यसको रोकथाम गर्न सकिन्छ, तर समयमै उपचार नहुने हो भने, यो घातक बन्न सक्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुसार यद्यपि एक पटक नैदानिक लक्षणहरू देखा पर्दा रेबिज घातक हुन्छ, रेबिज पूर्ण रूपमा बच्न सकिन्छ, रेबिजबाट हुने मृत्युलाई रोक्न भ्याक्सिन, औषधि र प्रविधिहरू लामो समय देखि उपलब्ध छन् । यद्यपि, रेबिजले अझै पनि प्रत्येक वर्ष दसौं हजार मानिसको ज्यान लिन्छ । यी अवस्थाहरू मध्ये, लगभग ९९ फ्रतिशत संक्रमण रेबिज बाट संक्रमित कुकुरको टोकाइले गर्दा हुने गर्छ ।

नेपालमा समेत धेरै जसो केसहरू कुकुरको टोकाइले रेबिज हुने गरेको छ । रेबिज भाइरसको वाहक भुस्याहा कुकुरहरू शहरी र ग्रामीण दुवै क्षेत्रमा स्वतन्त्र रूपमा घुमिरहेका हुन्छन् ।

वर्षेनी धेरै मान्छे रेबिज को कारणले मृत्यु भएको रिपोर्ट गरिएको छ । स्थानीय तहमा भुस्याहा कुकुरको नियन्त्रण गर्न नसक्नू, समयमा खोपको पहुँच नहुनु जस्ता पक्षहरूले गर्दा रेबिज रोग लाग्ने र यसबाट मृत्यु हुनेहरूको संख्या बढ्दै गइरहेको छ ।

डब्लुएचओको अनुसार रेबिजका कारण १५० भन्दा बढी देशहरूमा वार्षिक ५९०० मानव मृत्यु हुने अनुमान गरिएको छ । जसमध्ये ९५ प्रतिशत घटनाहरू अफ्रिका र एसियामा हुन्छन्।

ग्रामीण क्षेत्रमा रेबिज नियन्त्रणमा चुनौतीहरूः

सहज स्वास्थ्य सेवामा पहुँचको अभावः

ग्रामीण क्षेत्रहरूमा, स्वास्थ्य संस्थाहरू प्रायः टाढा हुन्छन् । जसले गर्दा कुकुरले टोकेको व्यक्तिहरूलाई ज्यान बचाउने खोप लिन जान गाह्रो हुन्छ । धेरै परिवारहरूले स्वास्थ्य केन्द्रहरू सम्म पुग्न लाग्ने यातायात, गाँस बास लगायतका खर्च समेत बहन गर्न सक्ने अवस्थामा हुँदैन ।

ग्रामीण क्षेत्रमा सीमित पशु चिकित्सा सेवाहरूः सहज र उपयुक्त पशु चिकित्सा सेवाहरूको कमीले गर्दा घरेलु जनावरले प्रभावकारी खोप पाएको हुँदैन । खोप नलगाइएको कुकुरहरूबाट मानिसमा रेबिज सर्ने खतरा बढ्छ ।

रेबिज जस्तो गम्भीर रोगको बारेमा जागरूकतामा‌ कमी:

धेरै ग्रामीण क्षेत्रहरूमा रेबिज कतिको गम्भीर रोग हो र यसको उपचार चाँडो भन्दा चाँडो गर्नु कतिको आवश्यक छ भन्ने बारेमा धेरै जना अनजान छन् । एक त घर पालुवा कुकुर बिरालोलाई खोप लाउनु कतिको आवश्यक छ ? भन्ने कुराको ज्ञानमा कमी छ । भने खोप नलगाएको घर पालुवा जनावरहरूले टोक्दा ‘आफूले पालेको त हो नि’, किन खोप लगाउनुपर्यो ? जस्ता सोच राख्नु र केही भेगमा त परम्परागत उपचारको नाममा झार फुक गर्न थाल्दा मान्छेको ज्यान नै गएको छ ।

सरकारी तथा गैर सरकारी संस्थाबाट रेबिज रोकथाम र सचेतन मूलक कार्यक्रमको अभावः स्वास्थ्य क्षेत्रमा मापदण्ड अनुसारको बजेट नआउनू, आएको सीमित बजेटबाट सीमित मात्रामा महँगो खोपहरू खरिद गर्नु पर्दा रोग रोकथाम कार्यक्रमहरूको परिणाम नै निकै कमजोर हुन् जान्छ । यसबाट ग्रामीण क्षेत्रहरूमा उपयुक्त समयमा र आवश्यक मात्रामा खोप उपलब्ध नुहुँदा यस्ता समस्यालाई थप जटिल बनाउँछ ।

रेबिज विरुद्ध लड्नका लागि समाधानहरू

  • जनावरहरूको लागि खोप कार्यक्रमहरूः रेबिज नियन्त्रण गर्न भुस्याहा कुकुर र घरेलु कुकुरहरू लाई लक्षित गरी सामूहिक खोप अभियानहरू सञ्चालन गर्न महत्वपुर्ण छ। त्यस्तै सरकारी र गैरसरकारी संस्थाहरूले विशेष गरी उच्च जोखिममा रहेका क्षेत्रहरू को पहिचान गरी ती क्षेत्रहरूमा आवश्यक सख्या र समयमा निःशुल्क वा सहुलियत पूर्ण खोप अभियानहरू सञ्चालन गर्नुपर्छ। यस्ता अभियान तान्जेनिया जस्तो देशमा सफल भएका छ । जसले रेबिजका केसहरूलाई उल्लेखनीय रूपमा कम गरेको थियो ।
  • खोप सेवामा सबैको पहुचः ग्रामीण स्वास्थ्य केन्द्रहरूमा खोपको, उपलब्धता तथा भण्डारण र साथै आवश्यक प्रशिक्षित स्वास्थ्य कर्मीहरूको उपलब्धता सुनिश्चित गर्नु महत्वपुर्ण छ। घर धुरीमा पुगेर खोप सेवा दिन सक्ने मोबाइल स्वास्थ्य एकाइहरूले पृथक् रूपमा यस क्षेत्रमा हेरचाह तथा उपचार प्रदान गर्न सक्छ। सहज र सस्तो उपचारले अकालको मृत्युहरू रोक्न लागि महत्वपूर्ण छ ।
  • सामुदायिक जागरूकता अभियानहरूः ग्रामीण समुदायहरूलाई घरपालुवा जनावरको खोप लगाउन किन महत्वपुर्ण छ भन्ने बारे सचेतन फैलाउने र घरपालुवा कुकुर बिरालोहरूले टोकि हाले तत्काल स्वास्थ्य कर्मीको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लिईहाले जीवन बचाउन सकिन्छ जस्ता कुराहरू बाट स्थानीय जनप्रतिनिधिहरूले सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन्।
  • विद्यालयमा आधारित शिक्षाः बालबालिकाहरू विशेष गरी रेबिजको जोखिममा हुन्छन् । शिक्षक शिक्षिका, विद्यालय नर्स, स्वास्थ्य कर्मी र स्थानीय जन प्रतिनिधिहरूले सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । विद्यालयमा शिक्षक तथा विद्यालय नर्सहरूले बच्चाहरूलाई पशु सुरक्षा र कुकुरले टोकी हालेमा के गर्ने? किन खोप लिने? कहाँ जाने? कसलाई भन्ने ?खोप लिन किन आवश्यक छ जस्ता कुराहरू सिकाउन सक्छन् ।

रेबिज विरुद्धको खोप सेवामा ग्रामीण जनताको पहुच पुर्‍याउनलाई सरकारी, गैर सरकारी संस्थाहरूले सचेतना जगाउने कार्यक्रमहरू, प्रभावकारी खोप कार्यक्रमहरू, जनावरहरूको लागि सामूहिक खोप अभियानहरू सञ्चालन गरेर हामी नेपालमा रेबिजका केसहरू अवश्यनै कम गर्न सक्छौ । तपाई हाम्रो गाऊ सहरमा राजुहरूको दुःखद अन्त्यहरूलाई रोक्न सक्छौं । (लेखक डा. त्रिभुवन चन्द्र झा, रसुवा अस्पतालका वरिष्ठ कन्सल्टेन्ट मेडिकल जनरलिस्ट हुन)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!