‘प्रदीप पौडेल मन्त्री बनेको ६९ औ दिन स्वास्थ्यका प्रमुखहरू हेरफेर’


काठमाडौं–स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रालय सम्हालेको ६९ दिन पछि आइतवार स्वास्थ्य मन्त्रालय र यस अन्तर्गत निकायका प्रमुखहरू फेरेका छन् ।

उच्च स्रोतका स्वास्थ्य मन्त्री पौडेलले लामो तयारी पछि स्वास्थ्य सेवा विभागको महा निर्देशक देखि अस्पताल प्रमुख सम्मको जिम्मेवारीमा हेरफेर गरेका हुन ।

यस अघि उनी स्वास्थ्य मन्त्रालय सम्हालेको २७ औ दिन नेपालको स्वास्थ्य प्रणाली व्यवस्थित नभएको सबैले महसुस गरेको जनाउँदै आफ्नो कार्य योजना प्रस्तुत गरेका थिए ।

‘आफ्नो कार्य योजना अनुकूल हुने गरी उनले विभिन्न प्रमुखहरूको हेरफेर गरेका हुन’, स्रोतको अनुसार जिम्मेवारी हेरफेर गर्नु अघि उनले प्रमुखहरू लाई व्यक्तिगत रूपमा भेटेर स्वास्थ्य लाई जन सुलभ र जन अनुकूल बनाउने लगायतका बारेमा छलफल समेत गरेका थिए ।

यस अन्तर्गत स्वास्थ्य सेवा विभागको महा निर्देशकमा डा विकास देवकोटालाई ल्याइएको छ भने डा. संगीता कौशल मिश्र लाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ ।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख रहेका डा मदन उपाध्यायको ठाउँमा डा सरोज शर्मालाई ल्याइएको छ । डा. उपाध्यायलाई वीर अस्पताल पठाइएको छ । यस्तै स्रोतको अनुसार स्वास्थ्य समन्वय महाशाखा प्रमुख को जिम्मेवारी डा. भीम प्रसाद सापकोटालाई दिएका छन् । त्यहाँ रहेका डा. चुमन लाल दासलाई नारायणी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएकोछ।

यस्तै भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. निराजन सुवेदीलाई दिइएको छ । कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. रुना झा, गजेन्द्र नारायण सिंह अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. श्रीराम तिवारी लाई जिम्मेवारी दिइएको छ ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा प्रमुखमा डा पवन जंग रायमाझीलाई पठाइएको छ भने त्यहाँ रहेका डा. श्रवण थापा लाई ट्रमा सेन्टरमा सरुवा गरिएको छ ।

यस्तै स्वास्थ्य तालिम केन्द्रको निर्देशकको जिम्मेवारी यशोदा अर्याल लाई दिइएको छ । केन्द्रका निर्देशक डा. अनुज भट्टचनलाई सार्क टिबी सेन्टरको निर्देशकको रूपमा सरुवा गरिएको छ । सार्क टिबी सेन्टरमा रहेकी डा. मनीषा रावललाई केन्द्रीय कारागार अस्पतालको निर्देशकको रूपमा पठाइएको छ । कारागारका निर्देशक रहेका डा. प्रकाश बुढाथोकीलाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ ।

स्वास्थ्य सेवा विभाग, उपचारात्मक महाशाखाका डा. अनुप बास्तोला लाई शुक्र राज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा सरुवा गरिएको छ । उपचारात्मक महाशाखाको जिम्मेवारी डा. सुधा देवकोटा लाई दिइएको स्रोतले जनाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!