विश्व बिरामी सुरक्षा दिवस २०२४

‘ग्रामीण स्वास्थ्य सुरक्षामा निदानात्मक सुधारको आवश्यकता, एमडिजीपी को निर्णायक भूमिका’


पत्याउनु हुन्छ हरेक १० जना बिरामीमा १ जना लाई स्वास्थ्य सेवाको चुकले गर्दा हानि पुग्छ र असुरक्षित हेरचाहका कारण वर्षेनी ३० लाख भन्दा बढीको मृत्यु हुन्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार न्यून देखि मध्यम आय भएका देशहरूमा, १०० मध्ये ४ जना मानिसहरू असुरक्षित हेरचाहबाट मृत्यु बरण गर्छन । ५० प्रतिशत भन्दा बढी स्वास्थ्य सेवा द्वारा हुने चुक अर्थात् हानी (प्रत्येक २० बिरामीमा १ जना) लाई रोक्न सकिन्छ भने यसको आधा हानी औषधिको कारणले गर्दा हुन्छ ।

अझ केही अनुमानहरू ले सुझाव दिन्छ कि १० मध्ये ४ बिरामीहरूलाई प्राथमिक र एम्बुलेटरी सेटिङहरूमा हानि पुग्छ, जबकी ८० प्रतिशत (२३.६ देखि ८० प्रतिशत) सम्म यो नोक्सान बाट जोगिन सकिन्छ ।

यसैले ज्यान जोगाउने र जीवन दिने उपचार, असुरक्षित भए ज्यान समेत लिन सक्छ । यसै कारण बिरामीहरूको सुरक्षित उपचार सुनिश्चित गर्नु को साथै स्वास्थ्य कर्मी तथा बिरामीहरूका जागरूकता बढाउने उद्देश्यको साथमा वर्षेनी सेप्टेम्बर १७ तारिखमा विश्व बिरामी सुरक्षा दिवस मनाइन्छ । यो एक विश्वव्यापी रूपमा सुरक्षित उपचार प्रकृया वारे जागरूकता बढाउने अभियान हो ।

यस वर्ष ‘निदानमा सुधार, बिरामी सुरक्षाको आधार’ भन्ने सङ्केत शब्द को साथ ‘ठीक गरौं, सुरक्षित गरौं’ भन्ने नारामा जोड दिएको छ । यो दिवसमा बिरामीको सुरक्षा सुनिश्चित गर्न र उपचारको लागि गरिने निदानहरूबाट आउने परिणामहरूमा सुधार गर्न समयमै रोगहरूको निदानमा सुधारको आवश्यकतालाई जोड दिइएको छ ।

नेपालको परिवेशमा समेत बिरामीको उपचारमा सुरक्षा संयन्त्रको महत्व अवश्य नै बढ्दै गइ रहेको छ । सुरक्षित उपचार को लागि निदान गर्ने तरिका र प्रक्रियामा सुधार गर्न आवश्यक छ ।

यो न बिर्सौं  समयमा गरिने सही निदान प्रभावकारी उपचारको आधार हो । डायग्नोस्टिक (रोग परीक्षण सँग सम्बन्धित) त्रुटिहरू, जस्तै ढिलो गरी हुने डाइग्नोसिस (रोग निर्णय) , गलत डाइग्नोसिस वा डाइग्नोसिस गर्दा केही छुट्नु जस्ता कुराहरू बिरामीको सुरक्षाको दृष्टिकोणले प्रमुख जोखिममा पर्दछ ।

यी त्रुटिहरू हुनुमा प्रणाली गत समस्याहरू पनि कारक छन् जस्तै : स्वास्थ्य कर्मीहरू बीच आफूमा तथा स्वास्थ्य कर्मी र बिरामीहरू बीच सही तरिकाले रोगको निदान र उपचार बारेमा पर्याप्त छलफल नहुनु ।

नेपालको परिवेशमा एउटै स्वास्थ्य कर्मी माथि प्रशासनिक, निदानात्मक तथा उपचारात्मक कामको बोझ थुप्रिनु र विभिन्न अवस्थामा अपर्याप्त आपसी समन्वय वा टिमवर्कको अभावको कारणहरू पनि विभिन्न किसिमको त्रुटिहरू हुन सक्छ । त्यस्तै नयाँ सङ्क्रमण, नयाँ रोग को आगमन सँग सँगै सम्बन्धित स्वास्थ्य कर्मीहरूको आवश्यक प्रशिक्षणको अभाव, कुनै विशेष अवस्थाको बारेमा अनुभवको कमी जस्ता कारणहरू बाट पनि त्रुटि गत परिणाम आउन सक्छ ।

कुनै पनि रोगको डाइग्नोसिस (निदान) गर्न विभिन्न प्रक्रियाहरू प्रयोग गरिन्छ । जस्तैः क्लिनिकल डाइग्नोसिस, रेडियोलोजीकल , प्रयोगशाला, माइक्रोस्कोपीक, सर्जिकल, थेराप्यूटीक डाइग्नोसिस र साथ साथै रोगहरूको डिफरेन्सीयल डाइग्नोसिस पनि गरिन्छ ।

निदान गर्नु एक समस्या अर्थात् पजल (पहेली) जस्तै हो जसरी टुक्रा, टुक्रा रहेको तस्विरको प्रत्येक भागहरू जोडेर पूर्ण तस्विर बनाइन्छ ।

त्यस्तै कुनै पनि बिरामीको फाइनल डाइग्नोसिस मा पुग्न भन्दा अगाडि बिरामीको विभिन्न प्रकारको दिशा, पिसाब, रगत, अल्ट्रासाउन्ड, सिटी स्क्यान लगायत जाँचको रिपोर्टहरू हेरि सके पछि सबैको निष्कर्षबाट बनाइने अन्तिम डाइग्नोसिसलाई फाइनल डाइग्नोसिस भनिन्छ ।

प्वाइन्ट–अफ–केयर परीक्षणहरू (प्वाइन्ट अफ केयर टेस्ट) साधारण चिकित्सकिय परीक्षणहरू हुन् जुन बेड साइडमा गर्न सकिन्छ । प्वाइन्ट अफ केयर टेस्ट हरूमा हाल घर घरमा प्रयोग गरिने रगतबाट ग्लुकोज परीक्षण । त्यस्तै रगतमा ग्याँसको मात्रा र इलेक्ट्रोलाइट्सहरूको विश्लेषण, कोयागुलेसन परीक्षण, कार्डियाक मार्कर हरुको परीक्षण, लागू औषध दुरुपयोग स्क्रीनिंगको लागि गरिने जाँच, पिसाबको स्ट्रिप्स परीक्षण, गर्भावस्थाको परीक्षण, संक्रामक रोग निदान (जस्तै कोभिड परीक्षण), कोलेस्ट्रोल स्क्रिनिङ र बिरामीको उपचार भइरहेको वार्डमा र उपचार भइ रहेकै समयमा बिरामीको बेड साइडमा गरिने विभिन्न प्रविधिहरूको प्रयोग लाई प्वाइन्ट अफ केयर टेस्ट भनिन्छ ।

यस्तै बिरामीको उपचार भइ रहेकै स्थान र समयमा जाँच गर्न सकिने एउटा पोइन्ट अफ केयर जाँच गर्ने साधन हो, पोर्टेबल अल्ट्रासोनोग्राम ।

पोर्टेबल अल्ट्रासोनोग्राम सन् २००० देखि २०१० सम्म समेत सस्तो, सरल र सहज रूपमा सबै ठाउँमा उपलब्ध थिएन । तर अहिले पोर्टेबल अल्ट्रा सोनोग्राफी लाई प्रायः सबै मुलुकमा सामान्य परीक्षणको रूपमा हेरिन्छ ।

नेपालका ग्रामीण अस्पतालहरूमा प्वाइन्ट–अफ–केयर अल्ट्रासाउन्डको महत्व र फाइदा–

नेपाल भरका ग्रामीण अस्पतालहरूमा, जहाँ विभिन्न विधाका विशेषज्ञ डाक्टरहरूको प्रायः अभाव हुन्छ । जस्तै उदाहरणको लागि दुर्गमका धेरैजसो अस्पतालहरूमा रेडियोलोजिस्ट डाक्टरको दरबन्दी नै छैन । जहा दरबन्दी छ, त्यहाँ उहाँ हरूको विशेषज्ञता अनुसार सेवा प्रदान गर्न आवश्यक मल्टिप्रोब युएसजी, सिटी स्क्यान , एमआरआई र रेडियोलोजीकल इन्टरभेन्सन गर्नको लागि आवश्यक सेटअप छैन ।

यसरी अत्यावश्यक उपकरण को सेटअप नभएको कारणले एक त अधिकांश जान मान्दैनन् र कोही गई हाले पनि आफ्नो सीपमा ह्रास आउने समस्याले लामो समय बस्ने वातावरण नै हुँदैन ।

हाल विभिन्न विधाका छात्रवृत्ति, करारका, अस्थायी दरबन्दी करार, स्थायी विशेषज्ञ चिकित्सकहरूबाट केही मोफसलका अस्पतालहरूमा राम्रो सेवा दिनु–भएको कुरालाई अस्वीकार गर्न सकिन्न । तर विभिन्न विधाको चिकित्सकहरू उपलब्ध नहुदा समयमा निदान र उपचार गर्न कठिनाइ अवश्य हुन्छ ।

हाल विभिन्न सुगम तथा दुर्गम अस्पतालहरूमा ‘एमडी जिपी एण्ड इएम’ विशेषज्ञ डाक्टरहरूले विभिन्न प्रकारको इमर्जेन्सी शल्यक्रियाहरू जस्तै गर्भवती महिलाको सिजेरियन सेक्सन सफलतापूर्वक गर्नुभएको छ । जसबाट कयौ गर्भवती महिलाहरू अकालमा मृत्यु हुनबाट जोगिएका छन् ।

त्यसै गरी एपेन्डिसाइटिसको अप्रेसन, हाड जोर्नी सम्बन्धी फ्रैक्चर हरूको प्लास्टर तथा शल्यक्रियाहरू गरिरहेका छन् । गर्भावस्थामा विभिन्न समयमा हुने पेटको दुखाइ ,पानी जाने ,रगत जाने, बच्चा उल्टो हुने ,बच्चाको मुटुको धड्कन कम बढी हुने, साल अगाडि आउने जस्ता समस्या ।

त्यसै गरी पत्थरीका दुखाइहरू जस्ता समस्याहरूको तुरुन्त निर्णय गरेर या त बिरामीलाई सही परामर्श दिनुपर्ने हुन्छ वा तुरुन्तै अप्रेसन गर्नुपर्ने हुन्छ ।

यस्ता किसिमको निदान र उपचारमा प्वाइन्ट–अफ–केयर अल्ट्रासाउन्ड निदानको लागि र बिरामीको सुरक्षित उपचार गर्नको लागि महत्वपूर्ण उपकरणको रूपमा रहेको छ ।

एमडीजीपी हरु, प्रायः ग्रामीण स्वास्थ्य सेवामा पहिलो सम्पर्क बिन्दु को रूपमा सेवा प्रदान गरेका छन् । उनीहरू प्राथमिक तथा आकस्मिक उपचार तथा निदानमा प्रक्रियामा महत्वपुर्ण भूमिका खेल्छन् ।

जिपी डाक्टरहरूलाई तथा मेडिकल अधिकृत हरूलाई अल्ट्रासाउन्ड ट्रेनिङ दिने उपयुक्त संयन्त्र बनाउन सके हामी उल्लेखनीय रूपमा ग्रामीण उपचार तथा निदानमा सुधार गर्न सक्छौं ।

  • १. प्वाइन्ट–अफ–केयर अल्ट्रासाउन्ड ले पेटको दुखाइ, हाड जोर्नी को चोट पटक, छाती र मुटु सम्बन्धी समस्याहरू जस्ता अवस्थाहरूको द्रुत निदानमा मद्दत गर्दै छाती र पेट भित्रको समस्या तथा आन्तरिक संरचनाहरूको तत्काल जाँच गर्न सकिन्छ । ग्रामीण सेटिङहरूमा यो अत्यन्त महत्वपूर्ण छ ।
  • २. समयमा निर्णय गर्नः प्वाइन्ट–अफ–केयर अल्ट्रासाउन्ड को साथ, स्वास्थ्य सेवा प्रदायकहरूले छिटो भन्दा छिटो बिरामीको जोखिम पूर्ण अवस्थाहरू पहिचान गरी उपयुक्त उपचार सुरु गर्न सक्छन् । यो विशेष गरी आपतकालीन अवस्थाहरूमा बिरामीको उपचारमा अत्यन्त लाभदायक हुन्छ, जुन बेला प्रत्येक मिनेट मात्र नभइ सेकेन्ड समेत महत्वपूर्ण हुन्छ ।
  • ३. सस्तो र प्रभावकारी : प्वाइन्ट–अफ–केयर अल्ट्रासाउन्ड सस्तो र प्रभावकारी निदान गर्ने उपकरण हो । जसले सुविधा सम्पन्न अस्पतालहरूमा बिरामी रेफर गर्नुपर्ने आवश्यकतालाई कम गर्छ । जुन बिरामीको लागि महँगो र धेरै समय लाग्ने हुन सक्छ । एउटा भिडियो एक्स-रे गर्दा बिरामीलाई अस्पतालमा राखेर उपचार गर्न सकिन्छ कि अन्यत्र सुविधा सम्पन्न अस्पतालमा रेफर गर्नुपर्ने हो, भन्ने विषयमा तुरुन्तै निर्णय गर्न सकिन्छ । यसबाट बिरामीहरूको उपचार प्रतिको विश्वास बढाउन सकिन्छ ।
  • ४. तालिम र सीप विकासः दुर्गममा काम गर्ने ‘एमडीजीपी, इएम’ र तालिम प्राप्त मेडिकल अधिकृत द्वारा प्वाइन्ट–अफ–केयर अल्ट्रासाउन्ड को प्रयोगले चिकित्सकहरू बीच निरन्तर सिकाइ र सीप वृद्धिमा सहयोग गर्न सक्छ । यसले निदान गर्ने क्षमता सुधार गर्नुको साथै जटिल केसहरू व्यवस्थापन गर्नु लगायत दुर्गमका चिकित्सकहरूको सेवा प्रति विश्वास समेत बढाउँछ । तर हाल युएसजि ट्रेनिङ्ग सर्व सुलभ रूपले उपलब्ध नहुँदा दुर्गमका बिरामीहरू को सेवाको लागि यस्तो किसिमको ट्रेनिङ्ग अपरिहार्य रहेको र तालिम प्राप्त चिकित्सकबाट पोइन्ट अफ केयर अल्ट्रासाउन्ड गर्दा अवश्य नै आमा तथा बच्चाको मृत्यु दर तथा दूर दराजमा रहेको अस्पतालहरूको आकस्मिक सेवा र निदानात्मक सेवामा पनि सुधार हुनेछ ।

ग्रामीण क्षेत्रका अस्पतालहरूमा बिरामीको सुरक्षामा मेडिकल अधिकृत तथा जीपी डाक्टरहरू (जीपीइएम) को भूमिका

ग्रामीण अस्पतालहरूमा बिरामीको सुरक्षा सुनिश्चित गर्न मेडिकल अफिसर तथा जीपी चिकित्सकहरू सुरक्षित तरिकाले उपचार प्रविधिलाई अगाडि बढाउन महत्वपूर्ण छन् ।

विस्तृत रूपमा हेरचाहः जीपीइएम डाक्टरहरूले बिरामीको रोगको विस्तृत अध्ययन गरी उपचारको दायरालाई सम्बोधन गर्दै सबै रोगहरूको विस्तृत रूपमा उपचार तथा परामर्श प्रदान गर्छन् ।

विभिन्न विधामा पर्याप्त तालिम र गहन अध्ययन पछि तयार हुने एमडीजीपीहरु अन्य विशेषज्ञहरूको अनुपस्थितिमा समेत प्रभावकारी रूपमा गर्भवती, परिवार नियोजन, खोप, परामर्श सेवा, बच्चा , वृद्ध वृद्धा, आकस्मिक बिरामी, गम्भीर प्रकृतिका बिरामीहरूलाई उपचार गर्न विशेष रुपमा तालिम प्राप्त हुन्छन् ।

प्रारम्भिक अवस्था पत्ता लगाउने र व्यवस्थापनः प्वाइन्ट–अफ–केयर अल्ट्रासाउन्ड जस्ता उपकरणहरू प्रयोग गरेर, जीपीइएम डाक्टरहरूले बिरामीको अवस्थाहरू चाडै पत्ता लगाउन, व्यवस्थापन गर्न र जटिलताहरू रोक्न सक्छन् ।

यसले बिरामीको परिणाम सुधार गर्न सकिन्छ । बिरामीलाई शिक्षा र बिरामीको संलग्नताः जीपीइएम डाक्टरहरू बिरामी र तिनिहरूका परिवारहरू लाई उपचार पद्धतिमा संलग्न गराउँछन् । उनीहरूलाई स्वास्थ्य अवस्था र समयमै उपचारको महत्वको बारेमा सल्लाह दिन्छन । यसरी बिरामीको उपचारमा संलग्नताले उपचार प्रति विश्वास बढाउँछ र बिरामीहरूलाई तुरुन्तै उपचार लिन प्रोत्साहित गर्छ ।

सहयोग र समन्वयः हाल विभिन्न प्रादेशिक अस्पतालहरूमा हब र सेटे लाइट अस्पतालको धारणा आइ सकेको हुँदा आवश्यक परेको समयमा हब अस्पताल सँग समन्वय गरी बिरामीलाई समयमा परामर्श र रेफर गर्न सकिन्छ भने जिल्लामा रहेका अन्य स्वास्थ्य संस्था सँग समन्वय गरी त्यहाँ का बिरामीहरूलाई प्रादेशिक अस्पतालमा ल्याई सेवा दिन सकिन्छ ।

अन्त्यमा, विश्व बिरामी सुरक्षा दिवस २०२४ ले बिरामीको सुरक्षा बढाउन, निदानमा सुधार गर्ने कुरालाई महत्वको साथ जोड दिन्छ ।

त्यसै गरी नेपालका ग्रामीण अस्पतालहरूमा, एमडीजीपी चिकित्सकहरू र आपतकालीन चिकित्साहरू द्वारा अन्य जाँचको साथ साथै पोइन्ट अफ केयर अल्ट्रासाउन्डको प्रयोगले ग्रामीण क्षेत्रको उपचारमा ‘गेम चेन्जर’ को काम गर्नेछ । यसले निदान र उपचारमा सरल र सहज तरिकाले सल्लाह एवं उपचार को प्रक्रियामा मात्र सुधार गर्नुको साथै विस्तृत रूपमा बिरामीको गुण स्तरीय हेरचाह सुनिश्चित गर्दछ ।

ग्रामीण क्षेत्रहरूमा एमडीजीपी डाक्टरहरूको काम प्रतिको समर्पण र विशेषज्ञता बिरामीको सुरक्षा र स्वास्थ्य परिणामहरूमा सुधार गर्न पछिल्लो दशकमा जुन प्रभावकारी भूमिका खेलेको छ त्यो अवश्य नै नेपालको स्वास्थ्य क्षेत्रको लागि अमूल्य योगदान को रूपमा छ र रहि रहने छ । (लेखक डा. त्रिभुवन चन्द्र झा, रसुवा अस्पतालका वरिष्ठ कन्सल्टेन्ट मेडिकल जनरलिस्ट हुन)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!