हैजा, के गर्ने, कसरी जोगिने?

हाल देखि राखिएको हैजा ‘भिब्रियो कोलेरी ०१ ओगावा’ सेरो टाइप


काठमाडौं– मुलुकमा काठमाडौं उपत्यका लगायत अन्य भागमा समेत हैजाको बिरामी देखिन थालिएको छ । हैजा ब्याक्टेरियाको सङ्क्रमण हो जसले पखाला निम्त्याउँछ । हैजा को ब्याक्टेरिया सामान्यतया मानव मल द्वारा दूषित पानी वा खानामा पाइन्छ ।

अनियन्त्रित रूपमा चौलानी जस्तो पातलो दिसा हुने रोगलाई बोलचालको भाषामा झाडा पखाला (डाइरिया) भनिन्छ । यस्ता रोगीको पखालामा ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’ जीवाणु देखियो अर्थात् पखाला उक्त जीवाणुको सङ्क्रमणले गर्दा भएको हो भने त्यो हैजा हो ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का निर्देशक डा.यदुचन्द्र घिमिरे को अनुसार यो वर्ष हाल सम्म ललितपुरमा १४, काठमाडौंमा १ र कैलाली जिल्लामा ७ गरी २२ जनामा प्रयोगशाला प्रमाणित हैजा देखिएको हो । मनसुन शुरु भए पछि मुलुकको विभिन्न भागमा हैजा देखिने क्रम बढ्दो देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रंजन राज भट्टको अनुसार मुलुकमा यो वर्ष देखिएको हैजा को प्रकोप ‘भिब्रियो कोलेरी ०१ ओगावा’, सेरोटाइपले गर्दा भएको हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को अनुसार भिब्रियो कोलेरीका धेरै सेरो समूहहरू छन्, तर केवल दुईवटा ०१ र ०१३९ प्रकोपहरू निम्त्याउँछ । भिब्रियो कोलेरी ०१ ले हालैका सबै प्रकोपहरू निम्त्याएको छ । दुई सेरोटाइप को कारण हुने रोग मा कुनै पनि फरक छैन ।

असुरक्षित पिउने पानी, सरसफाइको कमी र अपर्याप्त स्वक्षता भएको ठाउँमा बस्ने मानिसहरू हैजाको उच्च जोखिममा हुन्छन् ।

खाने पानीको शुद्धीकरण, मानव फोहरको उचित व्यवस्थापन हैजा को सङ्क्रमण बाट जोगिने महत्वपूर्ण उपाय रहेको औँल्याउँदै डा.घिमिरे भन्छन–‘विशेष गरी दूषित पानी र दूषित खाना वाट फैलिने हैजा वाट जोगिन आगामी केही महिना सम्म विशेष सतर्कता अपनाउनु आवश्यक छ ।’

हैजा आन्द्राको एउटा गम्भीर सङ्क्रमण हो । यो ‘ग्राम नेगेटिभ ब्याक्टेरिया’, ‘भिब्रियो कोलेरी’ ले गर्दा हुन्छ । यो सङ्क्रमण गम्भीर पखालाको कारण बन्नु को साथै उचित उपचार अभावमा ज्यान समेत लीन सक्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को अनुसार अधिकांश हैजा सङ्क्रमितमा कुनै लक्षण नदेखिने, लक्षण देखिनेहरुमा हल्का देखि मध्यम गम्भीरता र यसलाई ओरल रिहाइड्र्रेसन थेरापी को माध्यमले सफलतापूर्वक उपचार गर्न सकिन्छ ।

१० जना संक्रमित मध्ये १ जनामा गम्भीर जटिलता देखिन सक्छ । यदि उनीहरूले समय मै उपचार पाएनन् भने, यी लक्षणहरू भएका व्यक्तिहरूको केही घण्टा भित्रै मृत्यु समेत हुन सक्छ ।

डब्लुएचओका अनुसार हैजाको लक्षण देखिनु अघि यो पाँच दिन सम्म शरीरमा विकसित हुन सक्छ अर्थात् लक्षण शरीरमा हैजाको सङ्क्रमण भएको ५ देखि १२ दिनको बीचमा देखिन सक्छ ।

अमेरिका स्थित सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) को अनुसार हैजाको लक्षण सामान्यतया ब्याक्टेरियाको सम्पर्कमा आएको दुई देखि तीन दिन पछि सुरु हुन्छ ।

अनुसन्धान कर्ताहरूले अनुमान गरेका छन् कि हरेक वर्ष हैजाका १३ लाख देखि ४० लाख घटनाहरू हुन्छन् र हैजाका कारण विश्व भर २१ हजार देखि १ लाख ४३ हजार को मृत्यु हुने डब्लुएचओ ले जनाएको छ ।

हैजाको निदान 

हैजाको निदान संकास्पद व्यक्तिको मलको नमुनामा भिब्रियो कोलेरी ब्याक्टेरियाको पहिचान गरेर गरिन्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रंजन राज भट्टले हैजाको पहिचानको लागि सबै भन्दा सटीक मलको नमुनाको कल्चर रहेको बताउँछन् । तर हाल रैपिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) द्वारा समेत हैजा पहिचान गरिन्छ । तर यसको सटीकता सतप्रतिशत हुँदैन ।

हैजाको लागि आरडिटी (रैपिड डाइग्नोस्टिक टेस्ट) परीक्षणले दुर्गम क्षेत्रहरूमा चिकित्सा कर्मी लाई छिट्टै हैजाको निदान को पुष्टि गर्न सक्षम बनाउने डा.भट्ट बताउँछन् ।

द्रुत हैजा परीक्षणले धेरै छिटो हैजाको पुष्टि गर्ने भएकोले यसले हैजाको प्रकोपको शुरुमा मृत्यु दर घटाउन मद्दत गर्छ र प्रकोप नियन्त्रणको लागि सहयोग प्रदान गर्छ ।

हैजाका पहिचान गर्न चिकित्सा कर्मीले संकास्पद व्यक्तिको मलको नमुना लिन्छन् वा मलाशयबाट नमुना प्राप्त गर्न स्वाब प्रयोग गर्छन् । यसलाई प्रयोगशालामा पठाइन्छ जहाँ मलमा हैजाको ब्याक्टेरिया छ भने बढाउन (कल्चर) गरिन्छ । बिरामीको दिसाको नमुनामा भिब्रियो कोलेरी को पहिचान गर्नु ले हैजा सङ्क्रमण भएको पुष्टि गर्छ ।

पछिल्लो समय चिकित्सकहरूले ब्याक्टेरियाको आनुवंशिक पदार्थ (डिएनए) को मात्रा बढाउन पोलिमरेज चेन रियाक्सन (पीसीआर) प्रविधिको प्रयोग गर्न सक्ने समेत डा.भट्ट बताउँछन् । यसले ब्याक्टेरियालाई छिटो पत्ता लगाउन सकिन्छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मुलुकको विभिन्न भाग वाट प्राप्त संकास्पद हैजाको नमुनाहरू लाइ कल्चर गरेर यो सङ्क्रमण भए नभएको पुष्टि गर्ने गर्छ ।

हैजाको उपचार 

अमेरिका स्थित सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) को तथ्य पत्र अनुसार हैजाको उपचारमा रिहाइड्रेशन थेरापी (पुनर्जलीय उपचार), एन्टिबायोटिक्स र बच्चाहरू को लागि जिंक पूरक समावेश हुन सक्छ ।

पखाला र बान्ताको माध्यमले शरीरबाट निस्किएको पानी र लवण लाइ द्रुत गतिमा प्रतिस्थापन गरेर जीवन बचाउन सकिन्छ । धेरै जसो मानिसहरूलाई मुखको माध्यमले दिइने ओरल रिहाइड्रेसन साल्ट (ओआरएस), जसलाई हामी बोलचालको भाषामा जीवन जल समेत भन्छौं वाट प्रभावकारी रूपमा उपचार गर्न सकिन्छ ।

यी विधिहरू शरीर वाट गुमेको तरल पदार्थ प्रतिस्थापन गर्न डिजाइन गरिएको हो । तर गम्भीर रूपमा निर्जलीकरण भएका अर्थात् शरीरमा पानी को कमी भएका व्यक्तिहरूका नसा वाट पानी चढाइने गरिन्छ ।

एन्टीबायोटिक्स 

झाडा पखालाको गम्भीरता कम गर्न र यसलाई चाडै रोक्न कहिले काही एन्टिबायोटिक पनि दिने गरिन्छ । प्रकोप फैलिएको समयमा एन्टिबायोटिक सेवन गर्ने व्यक्तिहरू वाट सङ्क्रमण फैलिने सम्भावना थोरै कम हुन्छ ।

तर आफू खुशी कसैलाई सोधेर नभइ यो डाक्टर वा चिकित्सा कर्मीले प्रस्तावित गरे मात्र उपयोग गर्नु पर्छ । चिकित्सकहरूले यस्तो एन्टिबायोटिक छनौट गर्छन् जुन स्थानीय समुदायमा हैजा उत्पन्न गर्ने ब्याक्टेरिया विरुद्ध प्रभावकारी मानिन्छ ।

हैजा बाट जोगिन के गर्ने ? 

  • पिउन, भाँडाकुँडा धुन, आइस् क्यूब बनाउन र दाँत माझ्नका लागि शुद्ध पानी मात्र प्रयोग गर्नुहोस्
  • यदि तपाइ धाराको पानी प्रयोग गर्नुहुन्छ भने, यसलाई उमाल्नुहोस् वा आयोडिन ट्याबलेट, क्लोरिन चक्कीहरू प्रयोग गर्नुहोस्
  • साबुन र सफा पानीले बारम्बार हात धुनुहोस्
  • तपाई ले खाएको पकाइएको खाना पूर्ण रूपमा पकाइएको र तातो पस्किएको सुनिश्चित गर्नुहोस्
  • कम पकाएको पानीमा पाइने ‘शेलफिस’ बाट जोगिनुस पानीमा पाइने ‘शेलफिस’ले अन्य प्रकारका भिब्रियो पनि बोक्छ
  • नधोइएको वा नखुलेका काँचो फलफूल र तरकारीहरू नखानुहोस्


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!