प्रयोगशाला जाँच कसरी गुण स्तरीय हुन्छ?


पछिल्लो समय नेपालमा समेत स्वास्थ्य उपचार प्रकृया अन्तर्गत प्रयोगशाला जाँच ले उल्लेख्य र महत्वपूर्ण स्थान ओगट्न थालेको छ । यो जाँच सटीक, सही र गुण स्तरीय नभए रोग पहिचानमा समेत असर पर्न सक्ने र बिरामीले उचित र सही उपचार पाउन नसक्ने सम्भावना समेत हुन्छ । यस्तो अवस्थामा राम्रो, सटीक र उपयुक्त प्रयोगशाला जाँच प्रति चिकित्सा कर्मी मात्र नभइ स्वास्थ्य उपभोक्ता समेत जागरूक भएका छन् ।

एकै व्यक्तिको एउटै जाँच को फरक फरक प्रयोगशालावाट फरक फरक रिपोर्ट आउने गरेको गुनासो समेत नयाँ होइन । प्रयोगशाला का रिपोर्टहरू सही हुनको लागियो प्रकृयामा संलग्न थुप्रै कारकहरू को सही र उपयुक्त सम्मिश्रण आवश्यक छ । हामीले यो बिर्सनु हुन्न की, प्रयोगशालाको रिपोर्ट गुणस्तरका सूचकहरू जनशक्ति, उपकरण, रिएजेंट/किट्स, कन्ज्युमेबल, विधुतिय सप्लाई, प्रयोगशालाको वातावरणको उचित सम्मिश्रणको प्रतिफल हो ।

कुनै कम्पनीको उपकरण आफैमा गुणस्तर निर्धारण नगरीकन गुणस्तरीय रिपोर्ट दिँदैन । चाहे यो नेपालमा बनेको होस वा अन्य कुनै देशमा । आज सम्म कुनै कृत्रिम बुद्धिमत्ता (आर्टिफिसिएल इन्टेलिजेन्स) होस् वा अन्य प्रविधिबाट निर्मित उपकरण, मानव बुद्धिमत्ता अगाडि फिका नै हुन्छ ।

कुनै खास कम्पनीले बनाएको उपकरणले मात्रै राम्रो रिपोर्ट दिन्छन् भन्नु गलत हुन सक्छ है । प्रयोगशाला जाँचको गुणस्तरको विभिन्न पाटाहरू मध्ये एक पाटा मात्र गुण स्तरीय कम्पनीले निर्माण गरेको उपकरण हुन् सक्छ । तर त्यसलाई प्रयोग गर्ने जनशक्ति दक्ष भएन भन्ने गुण स्तरीय रिपोर्टको अपेक्षा राख्नु गलत साबित समेत हुन सक्ने कुरा बिर्सनु हुन्न ।

हाल प्रयोगशाला जाँच राम्रो हुनको लागि प्रचारित मिथ्याहरुः 

  • नयाँ उपकरण भयो भन्ने रिपोर्ट सही हुन्छ ।
  • उच्च शिक्षा हासिल गरेको व्यक्तिले गरेको रिपोर्ट सही हुन्छ ।
  • राम्रो, ठूलो वा नाम चलेको कलेज वा विश्वविद्यालयबाट पढेको व्यक्तिले गरेको रिपोर्ट सही हुन्छ ।
  • कुनै अत्यन्त विकसित मुलुकको गुणस्तर निर्धारण गर्ने निकाय को ट्याग लागेको उपकरण भयो भन्ने रिपोर्ट सही हुन्छ ।

जनशक्तिः रिपोर्ट गुण स्तरीय हुनको लागि दक्ष, समर्पित, तालिम प्राप्त, काउन्सिलमा दर्ता भएका जनशक्ति एवं मानक सञ्चालन प्रकृया (स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर /एसओपी) अनुसरण गर्ने जनशक्तिले मात्र गुण स्तरीय रिपोर्ट दिन सक्छ । उच्च शिक्षा हासिल गरेको व्यक्ति, राम्रो–ठूलो वा नाम चलेको कलेज या विश्व विद्यालयबाट पढेको व्यक्तिले होइन ।

यदि यस्ता व्यक्ति दक्ष, समर्पित, तालिम प्राप्त वा मानक सञ्चालन प्रकृया( स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर/एसओपी) अनुसरण या नैतिकता (इथिक्स) को अनुसरण गरेन भन्ने त्यस प्रकारको जनशक्तिले गरेको रिपोर्ट सही नुहुन सक्छ ।

उपकरणः उपकरण उक्त जाँच को लागि प्रमाणित(भेलिडेट) गरेको अर्थात् उपकरण केलिब्रेट भएको साथै कम (लो), सामान्य (नर्मल) र उच्च (हाई) गुणस्तर सेरा लाई जाँच गरिएको, डिटेक्सन लिमिट तोकिएको, लिनियरिटी थाहा भएको, उपकरणमा पठाइने विद्युत प्रवाह (इलेक्ट्रिक करेन्ट), उक्त उपकरण काम गर्ने तापक्रम प्रयोगशालामा नियन्त्रण गरिएको, अरथिंग लगायत भोल्टेज नियन्त्रण गरि प्रयोगमा ल्याइएको अवस्थामा मात्र गुण स्तरीय रिपोर्ट दिन सक्छ । नयाँ उपकरण वा ठुलो आकारको उपकरण वा विकसित मुलुकको ट्याग लागेको उपकरण लाई माथि उल्लेखित अवस्थामा नराखेको खण्डमा त्यस उपकरणले दिएको रिपोर्ट सही नहुन सक्छ ।

रिएजेंट/किट्सः उचित तापक्रम, धुलो रहित वातावरण लगायत उचित रूपले भण्डारण नगरेको खण्डमा पनि रिपोर्ट सही नहुन सक्छ । दैनिक रूपमा तापक्रमलाई दुई पटक, बिहान र बेलुका लेखेर नियमित तापक्रमको चार्ट तयार गर्नु पर्दछ । त्यसो नगरेको खण्डमा रिपोर्ट सही नहुन सक्छ ।

उपभोग्य (कन्ज्युमेबल) :  उपकरणमा प्रयोग हुने टिप्स, डिस्टिल्ड पानी लगायत अन्य सामग्रीलाई उचित तापक्रम, धूलो रहित वातावरण लगायत उपयुक्त भण्डारण नगरेको खण्डमा पनि रिपोर्ट सही नहुन सक्छ । बिधुतिय सप्लाईः बिधुतिय सप्लाई, अरथिंग, भोल्टेज, करेन्ट, मिटरको प्रकृति उपयुक्त नभएको खण्डमा पनि उपकरणले सही रिपोर्ट नदीन सक्छ ।

प्रयोगशालाको वातावरणः व्यवस्थित, तापक्रम नियन्त्रित, धूलो रहित, दैनिक सरसफाइ, दैनिक तापक्रमलाई दुई पटक बिहान र बेलुका लेखेर नियमित तापक्रमको चार्ट तयार गरिएको वातावरण नभएको खण्डमा पनि रिपोर्ट सही नहुन सक्छ ।

प्रयोगशाला जाँचको रिपोर्ट गुणस्तरको लागि चाहिने तत्त्वहरू 

तसर्थ अमेरिकी, जापानी, चिनियाँ, भारतीय, नेपाली, जर्मन, युरोपियन कम्पनीका उत्पादनको आधारमा गुणस्तर लाई सही ठान्ने नगरौँ । प्रमाणको आधारमा मापन गरेर तथ्यको आधारमा प्रयोगशाला जाँच को रिपोर्टलाई गुण स्तरीय रिपोर्ट ठानेर जनतालाई प्रदान गरौँ । न कि विदेशी वा स्वदेशी ट्यागको आधारमा रिपोर्ट लाई गुण स्तरीय भए नभएको ठानौं । (डा.मिश्र मधेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरका निर्देशक हुन )


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!