कसरी थाहा पाउने मिर्गौला बिग्रँदैछ?
आफू रोगी त छैनौ भने भनेर पछिल्लो समय धेरै जसो व्यक्ति ठूलठूला परीक्षण गराउँछन् तर मिर्गौलाको अवस्था कस्तो छ जान्न एउटा सामान्य क्रिएटिनिन , वा पिसाबको परीक्षण गराउँदैनन्ः डा.पुकार चन्द श्रेष्ठ
काठमाडौं– नेपालमा लाखौँ व्यक्ति मिर्गौला को रोग सँगै वाची रहे पनि उनीहरूलाई आफू बिरामी रहेको सामान्य जानकारी समेत छैन । यसैले गर्दा मिर्गौला को रोग लाई मौन हत्यारा समेत भन्ने गरिएको छ । मिर्गौलाको समस्याले उग्र रूप धारण नगर्दा सम्म आम व्यक्तिले आफू पनि यो रोगबाट पीडित रहेको थाहा पाउँदैनन् ।
पछिल्लो समय नियमित स्वास्थ्य जाँच प्रति आकर्षण बढे पनि यो मुख्य रूपमा रक्तचाप, डाइबिटिज, कोलस्ट्रोल लगायतका समस्यामा केन्द्रित रहने गरेको छ । ‘आफू रोगी त छैनौ भने भनेर पछिल्लो समय धेरै जसो व्यक्ति ठूलठूला परीक्षण गराउँछन् तर मिर्गौलाको अवस्था कस्तो छ जान्न एउटा सामान्य क्रिएटिनिन , वा पिसाबको रुटिन परीक्षण समेत गराउँदैनन्’, शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक एवं मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा.पुकार चन्द श्रेष्ठ भन्छन–‘पछिल्लो समय युवा हरूमा समेत विशेष गरी वैदेशिक रोजगारमा गएकाहरुमा मिर्गौला फेल हुने समस्या देखि राखिएको छ । उच्च रक्तचाप र मधुमेह मिर्गौला बिग्रने एउटा प्रमुख कारकको रूपमा देखिएको छ ।’
मिर्गौला रोग हुने थुप्रै कारण भए पनि पछिल्लो समय नेपालमा मिर्गौला बिग्रिने मधुमेह र उच्च रक्तचापको रुपमा दुई वटा कारण स्थापित हुँदै गएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हाल सम्म हजार जना भन्दा बढी मिर्गौला प्रत्यारोपण गराएकाहरुमा खाडी मुलुकबाट फर्किएका युवाहरूको समेत उल्लेख्य संख्या छ ।
हालै गरिएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को अनुसार नेपालमा १५ वर्ष वा सो भन्दा माथिको उमेर समुहमा १८ प्रतिशत महिला र २३ प्रतिशत पुरुषमा उच्च रक्तचाप छ । शहरी क्षेत्रमा १८ प्रतिशत महिलाहरूमा र ग्रामीण क्षेत्रका १७ प्रतिशत महिलामा उच्च रक्तचाप पाइएको छ भने शहरी क्षेत्रका २५ प्रतिशत पुरुष र ग्रामीण क्षेत्रका १८ प्रतिशत पुरुषमा उच्च रक्तचाप छ । यस्तै ७० वर्ष वा सो भन्दा माथिको ५२ प्रतिशत महिलाहरूमा र ६५ वर्ष वा सो भन्दा माथिका ४५ प्रतिशत पुरुषहरूमा सबै भन्दा बढी उच्च रक्तचाप रहेको छ ।
‘हेर्नोस, मिर्गौला रोग को एउटा लक्षण उच्च रक्तचाप समेत हुन सक्छ’, डा. पुकार भन्छन–‘जसरी जसरी मिर्गौला को कार्य क्षमता बिग्रँदै जान्छ शरीरमा सोडियम (नुन) र पानी जम्न थाल्छ जसले उच्च रक्तचाप देखिन्छ ।’
टाउको दुखाइ, अँध्यारो छाउनु, पेट दुखाइ जस्तो उच्च रक्तचापको लक्षण सम्भवतः मिर्गौला रोगको प्रारम्भिक लक्षण मा सामेल छ । यस्ता चेतावनीको संकेतलाइ समय मै पहिचान गरेर चिकित्सकीय सल्लाह लिदा मिर्गौला फेर्नै पर्ने अवस्था न आउन सक्छ । मिर्गौलामा समस्या भएको सङ्केतको प्रारम्भिक लक्षण खुट्टा , गोलीगाँठो, कुर्कुच्चो नजिक सुन्निनु समेत हो । यस्तो लक्षण देखिन साथ मिर्गौला रोग विशेषज्ञको सल्लाह लिनु अत्यावश्यक हुन्छ ।
मिर्गौला बिग्रन थाल्दा सुन्नाइ खुट्टा मा मात्र हैन आँखा नजिक पनि देखिने गरिन्छ । आखा को छेउछाउमा तरल पदार्थको संचयले गर्दा यो क्षेत्र सुन्निएको देखिने गरिन्छ । यो संकेत लाई पनि टार्नु हुन्न, चिकित्सकीय परामर्श लिनु आवश्यक हुने डा.पुकार बताउँछन ।
यस्तै बिहानै वाकवाकी लाग्नु, वान्ता आदि पनि मिर्गौला सम्बन्धी समस्या जटिल भएको संकेत हुन सक्छ । मिर्गौला समस्या मा केही नखादा पनि पेट भरेको अनुभव हुन सक्छ ।
यति मात्र नभइ कमजोरी अनुभव हुनु, समेत मिर्गौला रोगको लक्षण हुन सक्छ । मिर्गौला मा जसरी खराबी बढ्दै जान्छ त्यस अनुपात मा नै शरीर मा कमजोरी बढ्दै जान्छ ।
रातमा सुतेको वेला उठेर पिसाब गर्नु पर्ने आवश्यकता वा बढी पिसाब हुनु अथवा पिसाब उत्पादनमा परिवर्तन को अनुभव भए मिर्गौला रोग विशेषज्ञ सँग सल्लाह लिनु आवश्यक हुन्छ । पिसाब मा धेरै बढी फिँज आउनु भनेको यसमा प्रोटिनको उपस्थिति दर्साउँछ । मिर्गौलाको छान्ने क्षमता मा कमी आउँदा वा क्षतिग्रस्त हुँदा पिसाबमा प्रोटिन, रगत कोषिका आदि देखिन थाल्छ । यो मिर्गौलामा पत्थरी, लगायतका विभिन्न सङ्क्रमणको पनि संकेत हुन सक्छ । दिनहुँ मिर्गौला ले करिव २ सय लिटर रगत लाई छान्छ । यो प्रकृयामा करिव २ लिटर विषाक्त पदार्थ अपशिष्ट र पानी बाहिर निस्किन्छ ।
मिर्गौलाको समस्यामा बृद्घि हुँदा यसको संकेत छालामा समेत देखिन सक्छ । छाला सुक्खा हुनु चिलाउनु मिर्गौला रोगको संकेत हुन सक्छ । मिर्गौलाको काम नलाग्ने पदार्थ छान्ने क्षमता मा कमी आउँदा शरीरमा विषाक्त पदार्थ थुप्रिन थाल्दा छाला सुक्खा हुने चिलाउने लगायतका समस्या देखिन सक्ने डा.पुकार बताउँछन ।
विज्ञहरूको अनुसार मुलुकमा दीर्घकालीन मिर्गौला रोगको अन्तिम अवस्था मा धरै जसो चिकित्सक कहाँ पुग्ने गरेका छन् । अन्तिम अर्थात् ‘पाचौ अवस्थाका’ मिर्गौला रोगी स्वास्थ्य निकाय वा चिकित्सकको सम्पर्कमा आउँदा प्रत्यारोपण बाहेक उपचार गर्ने खाँसै विकल्प नरहेको प्रत्यारोपण केन्द्रका नेफ्रोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका डा.सुमित आचार्य बताउँछन् ।
दीर्घकालीन मिर्गौला रोग ६ प्रतिशत जनसङ्ख्यामा
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नसर्ने रोग सम्बन्धी जनसंख्या मा आधारित व्यापकता बारे गरेको अध्ययन अनुसार नेपाल मा २० वर्ष माथिको जनसंख्या मा दीर्घकालीन मिर्गौला रोगको व्यापकता ६ प्रतिशत छ । परिषद ले सन २०१६ देखी २०१८ सम्म ७२ जिल्लाको १३ हजार २ सय नमुना मा सर्वेक्षण गरेर यो नतिजा निकालिएको थियो ।
वर्षेनी एक पटक मिर्गौला परिक्षण
वर्षेनी गराउने शारीरिक परीक्षणमा मिर्गौला लाइ समेत सामिल गर्नु पर्छ । सामान्यतया रगतमा क्रिएटिभिटीको मात्रा र पिसाबमा प्रोटिन , एल्बुमिनको मात्रा परीक्षण गराउँदा मिर्गौलाको अवस्था थाहा हुन्छ । अझ उच्च रक्तचाप र मधुमेहको बिरामीहरूलाई मिर्गौला रोग हुने जोखिम बढी हुने भएकोले कम्तीमा हरेक ६ महिनामा उनीहरू किड्नी परीक्षण गराउनै पर्छ । अन्य सामान्य अवस्था का व्यक्तिले वर्षमा एक पटक रगत र पिसाब जाँच गराएर आफूलाई मिर्गौला रोग भए नभएको यकिन गर्न सकिन्छ । चार दशक नाघेका हरूले हरेक वर्ष यो दुवै परीक्षण गराउनु अत्यावश्यक छ । यति मात्र नभइ परिवार मा मिर्गौला रोगको इतिहास भएकाहरूले २० वर्ष को उमेर देखी नै वर्षेनी एक पटक यस्ता परीक्षण गराउनु फाइदा जनक हुन्छ ।
प्रतिक्रिया दिनुहोस