नेपालको ६ प्रतिशत जनसंख्या मा अति तिव्र र २३ प्रतिशतमा मध्यम अपाङ्गता
काठमाडौं– नेशनल डेमोग्राफिक एण्ड हेल्थ सर्भे –२०२२ को अनुसार नेपालको करिव ६ प्रतिशत जनसंख्यामा अति र तिव्र किसिमको एवं २३ प्रतिशतमा मध्यम किसिमको अपाङ्गता देखिएको छ ।
अपाङ्गता को मार सँगै यस्ता व्यक्ति स्वस्थ व्यक्तिको दाँजोमा बढी मात्रामा अन्य स्वास्थ्य सम्बन्धी समस्याको जोखिममा हुन्छन ।
विज्ञहरूको अनुसार अपाङ्ग व्यक्तिलाई मधुमेह हुने सम्भावना तिन गुणा बढी हुन्छ भने अपाङ्ग बालबालिकालाई कुपोषित हुने सम्भावना दुई गुणा बढी हुन्छ ।
अझ मुलुक मै गरिएको अध्ययनहरूले के देखाएको छ भने नेपालमा अपाङ्गता भएका व्यक्तिहरू मध्ये ८० प्रतिशत को पुनर्स्थापन सेवामा पहुँच छैन भने ६४.८ प्रतिशत को स्वास्थ्य सूचना मा पहुँच छैन ।
यति मात्र नभइ अपाङ्गता भएका व्यक्तिहरू मध्ये २९.२ प्रतिशत को अन्य स्वास्थ्य सेवाहरूमा समेत पहुँच छैन ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूको ३१ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा शनिवार सम्पन्न सरोकारवाला र सञ्चारकर्मीहरू सँगको अन्तरक्रियामा सरकारी अधिकारी एवं विशेषज्ञहरूले उक्त जानकारी दिएका हुन ।
‘अपाङ्गता भएकाहरूको औसत आयु समेत अन्य व्यक्तिको दाँजोमा कम देखिएको छ’, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा.प्रसन्न नापितले भने–‘अपाङ्गता भएकाहरूले राज्य द्वारा पाउने सेवा सुविधा हाल कम भए पनि यस्तो सेवा काठमाडौं वासीले जति पाइ रहेका छन अन्य जिल्लामा त्यस्तो पाइ रहेको छैनन् । देशभरीमा सेवा सुविधामा एक रूपता आवश्यक छ ।’
अझ हाल अपाङ्गता भएकाहरूलाई आफूले कुन सेवा सुविधा पाउने भन्ने वारे समेत थाहा नभएको अवस्था रहेको औँल्याउदै डा.जसवहादुर गुरुङ्ग भन्छन–‘अर्कोतिर बहिराहरूले कान सुन्दैनन् भनेर सहज आवागमनको लागि अत्यावश्यक रहेको गाडी चलाउने लाइसेन्स नपाउने अवस्था छ ।’
आम नागरिकको लागि स्वास्थ्य सेवा समुदाय सम्म जानु पर्ने जनाउदै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्र रमण सिंहले भने–‘अब स्वास्थ्य घर दैलो सम्म जाने बाटो कोर्नु पर्छ । हामी ३– ३ महिनामा एउटा घरमा पुग्थ्यौं । अहिले त्यो बन्द भएको छ यसलाई फेरी हामी जीवित बनाउने तर्फ जानु पर्छ ।’
हाल अपाङ्गता मैत्री स्वास्थ्य लगायतका भौतिक पूर्वाधारहरू निर्माण भइ रहेको जनाउदै इपिडिमियोलोजी का तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले ५० बेड वा यो भन्दा माथिको क्षमता भएको अस्पतालमा फिजियोथेरापीको बेड समेत हुने बताए ।
डा.दासले आगामी दिनमा सात वटै प्रदेशमा पुनर्स्थापन केन्द्र निर्माण हुने र यसको लागि मापदण्ड बनाउन लागिएको समेत जनाए ।
प्रतिक्रिया दिनुहोस