‘बढ्दो आङ खस्ने समस्या र अपुग जनचेतना’

अध्ययन अनुसार नेपालमा १५ देखी ३० प्रतिशत महिलालाई कुनै न कुनै प्रकारको पाठेघर, पेल्भिक क्षेत्र झर्ने समस्या (प्रोल्याप्स )देखिएको छ ।आङ खस्ने अवस्थामा पाठेघरले मात्र आफ्नो स्थान छोडेर तल झर्दैन कहिलेकाही यसको साथ साथै पिसावको थैलो, दिशागर्ने भाग, मांशपेशी, तन्तु लगायतका पेल्भिक क्षेत्रमा भएको भाग तल खस्ने गरेकोछ


मुलुकको हिमाल पहाड र मधेश वाट आङ्ग खस्ने समस्याको उपचार प्रकृयाको लागि दिनहुँ राजधानी काठमाडौं आउने महिलाहरू सङ्ख्यामा कमी आएको छैन।

बढ्दो सूचनाको प्रवाह र सञ्चारको पहुँचले समेत यो समस्यामा जुन रुपमा भरथेग गर्नु पर्थ्यो त्यो हुन सकेको छैन ।केही वर्ष अघि शुरु भएको यो क्रम अझै जारी मात्र छैन, यसमा उल्लेख्य कमी समेत देखिएको छैन ।

अर्को शब्दमा भन्ने हो भने आङ्ग खस्ने समस्या ले पीडित महिलाहरू उपचार प्रकृयाको लागि राजधानी काठमाडौं धाउनु पर्ने अवस्थाको अझै अन्त्य भएको छैन ।

मुलुक सङ्घीयतामा गएको केही वर्ष विति सक्दा पनि अझै स्थानीय रूप मै आफ्नो तात थलोमा महिलाहरूले निःशुल्क रुपमा आङ खस्ने समस्याको उपयुक्त, गुणस्तरीय उपचार सहज रुपमा पाउन सक्ने अवस्था छैन । उसो उपचार निःशुल्क हुनु ले मात्र समस्या भएकाहरूमा यसको सहज पहुँच स्थापित गर्न सक्दैन ।

पछिल्लो केही वर्ष यता आङ खस्ने अवस्था स्वास्थ्य समस्या रहेको जानकारी हुन लागेको नेपाली समाजमा अझै बहुसंख्यक पीडित महिला यसलाई सामान्य रूपमा लिने अवस्था कायमै छ।

एकातर्फ गुणस्तरीय उपचारमा सहज पहुँचको अभाव छ भने, उपचार आवश्यक रहेकाहरूले यसलाई आफ्नो जीवन कै अंग ठानेकाले पीडा, अपमान सँग सँगै सहज स्वस्थकर जीवन यापन गर्न वाट बञ्चित छन ।

शुरु मै उपचार गर्दा व्यायाम लगायतका अन्य सहयोगी उपायहरुले शल्यक्रिया सम्म न जानु पर्ने यो अवस्था भएका मध्ये अझै धेरै जना अन्तिम अवस्थामा मात्र चिकित्सा प्रकृयामा आउने गरेका छन ।

‘पछिल्लो केही वर्ष देखि आङ खस्ने समस्याको लागि महिलाहरू दिनहुँ काठमाडौँ आउने क्रम जारी नै छ’, काठमाडौं मोडल अस्पतालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) अन्तर्गतका प्रसुती तथा स्त्री रोग विषयका प्राध्यापक डा.गणेश दंगाल भन्छन– ‘पहिले यो समस्या पहाड तिर बढी रहेको भनिए पनि पछि व्यवहारमा हेर्दा यो हिमाल पहाड मधेश सबै तिर देखिने समस्या हो ।’

पाठेघरलाई शरीर भित्र वरिपरिका मांसपेशी र तन्तुहरुले आफ्नो ठाउँमा अड्याउने गरेको छ । पाठेघरलाई आफ्नो ठाउँमा थामेर राख्ने मांसपेशी र तन्तुहरू विभिन्न कारणले गर्दा कमजोर हुन जान्छन् । यसले गर्दा पुरै पाठेघर वा यसको केही भाग योनि सम्म अथवा योनि भन्दा बाहिर निस्किएको अवस्था लाई आङ खसेको भनिन्छ ।

स्त्री रोग विशेषज्ञहरूको अनुसार केही अघिको एक अध्ययन अनुसार नेपालमा १५ देखी ३० प्रतिशत महिलालाई कुनै न कुनै प्रकारको पाठेघर, पेल्भिक क्षेत्रको प्रोल्याप्स देखिएको छ ।

परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल अर्थात प्रसुती गृह थापाथलीमा दिनहुँ पेल्भिक अर्गेन प्रोल्याप्सका लक्षण लिएर वहिरंग विभागमा ४ देखी सात जना सम्म आउने गरेको छ ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बरिष्ठ कम्युनिटी नर्सिङ्ग प्रसासक कविता अर्यालका अनुसार आङ खस्ने समस्याको नया तथ्याङ्क हाल उपलब्ध छैन ।

सन २०१६ मा तत्कालिन परिवार स्वास्थ्य महाशाखाले गरेको अध्ययन अनुसार करिव ६.४ प्रतिशत महिलाहरुमा आङ खस्ने समस्या रहेको छ । जस मध्ये ३.७ प्रतिसतमा पहिलो डिग्री, १.४ प्रतिसतमा दोश्रो डिग्री, ०.८ प्रतिशत मा तेश्रो डिग्री र ०.३ प्रतिसतमा चौथो डिग्री को गम्भिररता रहेको छ । समस्याको गम्भिरता हेरेर महिलाहरुलाइ रिङ्ग पेसरी, व्यायाम र शल्यक्रिया गर्नु पर्ने हुन्छ ।

वोलचालमा आङ खस्ने समस्या भनिएको अवस्थामा पाठेघरले मात्र आफ्नो स्थान छोडेर तल झर्दैन कहिलेकाही यसको साथ साथै पिसावको थैलो, दिशागर्ने भाग, मांशपेशी, तन्तु लगायतका पेल्भिक क्षेत्रमा भएको भाग तल खस्ने गरेको परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालका चिफ कन्सलटेन्ट डा.सन्देश पौडेल बताउछन ।

दिनहुँ अलि गती आङ खसेको लक्षण लिएर प्रसुती गृहको वहिरंग विभागमा आउनेहरु मध्ये १० प्रतिशत जतिलाइ उपचार चाहिदैन । लक्षण देखिएकाहरुलाइ उपचार चाहिन्छ । हाल मुलुकमा आङ खस्ने समस्याको कुनै एउटा कारणले नभइ वहुकारणको परिणाम रहेको देखिएको छ ।

महिलाको उमेरमा भएको वृद्घि सँगै आङ्ग खस्ने जोखिम समेत बढछ । महिनावारी सुके पछि आङ खस्ने जोखिममा बढी बृद्घि हुन्छ । प्रेग्नेन्सी, डिलेभरी पछि समेत यो समस्या देखिन सक्ने जोखिम हुन्छ ।

‘डिलेभरी हुदा दक्ष जनशक्तिले नभइ अन्यले गराएको अवजसथमा वा जसरी डिलेभरी गराउनु पर्नेहो त्यो नगराएको अवस्थामा समेत पछि आङ खस्ने समस्या हुन सक्छ’,

डा.पौडेल भन्छन–‘प्रसुती प्रकृयामा महिलाका अति सम्वृदनशील भाग धेरै च्यातिए पछि, त्यो भाग कमजोर भएर आङ खस्ने समस्या हुन सक्छ ।’

डेलिभरी गर्दा साल निस्किने, जवरजस्ती तान्ने लगायतकाको परिणिती समेत आङ खस्ने अवस्था हुन सक्छ । यस्तै युवा उमेर मै डिलेभरी हुने, एउटा सन्तान भएको दुइ तिन वर्ष नवित्दै कम समय मै अर्को वच्चा पाउने जस्तो अवस्थाले समेत आङ खस्ने समस्यामा मलजल गरिरहेको छ ।

अन्य कारण वाहेक सुत्केरी महिला वा प्रजनन योग्य महिलामा उपयुक्त पौष्टिक आहारको कमीले समेत यो समस्या निम्त्याउन सक्ने डा.दंगाल वताउछन ।

यति मात्र नभइ डिलेभरी पछि महिलाले तुरन्त काममा फर्कनु पर्ने, भारी वोक्नु – उचाल्नु पर्ने जस्ता कामक्रिया पनि आङ खस्न समस्याको कारक तत्वको रुपमा देखिएको औल्याउदै डा.पौडेल भन्छन–‘चुरोट सेवन पनि आङ खस्ने एउटा कारक हो, पेल्भिक फ्लोरको मांशपेसी र छातीमा संक्रमणले कफ एवं पेटमा दवाव उत्पनन हुने त्यो दवाव तल जाने गर्दा समस्या देखिन्छ ।’

यस्तै गाउघरमा चुरोट नखानेहरुमा चुलो दाउरामा गरिने भान्साले पनि धुलो धुवाले गर्दा दिर्घकालिन कफको समस्या देखिएर आङ खस्ने समस्यामा बृद्घि गरेको देखिन्छ ।

पछिले घर दायरा, टाढा वाट पानी पघेरो गर्नु पर्ने भारी उचाल्नु पर्ने जस्ता कारणले पहाडी क्षेत्रमा आङ्ग खस्ने समस्या बढी रहेको आम जनमानसमा मान्यता रहे पनि हाल को अध्ययनहरुले पहाड भन्दा तराइमा प्रोल्याप्सको समस्या बढी रहेको औल्याएको डा.पौडेल बताउछन । ‘जेनेटिक कारण पनि हुन सक्ला, हिमाल क्षेत्रको महिलालाई प्रोल्याप्स भएको सुनेको छैन’, डा.पौडेले भन्छन ।

चिकित्सकहरुको अनुसार अझ लामो समय सम्म कब्जियत हुदा बल गर्ने अवस्था आउने भएकोले आङ खस्ने समस्या देखिन सक्छ । हाल पाठेघरको शल्यक्रिया पछि देखिने प्रोल्याप्स बढी आउने गरेको छैन तर पाठेघर निक्लेपछि वाकी रहेको योनि लाई सपोर्ट गर्ने संरचना रहदैन र पछि समस्या हुन सक्ने समेत चिकित्सकहरु बताउछन ।

झण्डै ६ लाख नेपालीमा आङ खस्ने समस्या
करिव एक दशक अघिको अध्ययन अनुसार नेपालमा प्रजनन उमेरका १० प्रतिशत नेपाली महिलामा कुनै न कुनै रुपमा आङ खस्ने समस्या रहेकोछ ।

डा.दंगालको अनुसार आङ खस्ने समस्यावाट पीडित ६ लाख मध्ये २ लाख लाई शल्यक्रिया गर्नु पर्ने र ४ लाख लाई रिङ्ग पेसरी राख्नु पर्ने वा व्यायाम गराउनु पर्ने आवश्यकता देखिएको हो ।
आङ खस्ने समस्याको नया तथ्याङ्ग हाल नरहेको समेत वताउदै डा.दंगाल भन्छन–‘तेश्रो र चौथो अवस्थाको आङ खस्ने समस्याले महिलालाई धेरै समस्या निम्त्याउने गरेको छ । यसमा पाठेघर पनि खस्ने, पिसाबको थैलो पनि निस्किने, मलद्वार खस्ने लगायतका समस्या देखिन्छ ।’

कस्तो शल्यक्रिया
हाल मुलुकको स्वास्थ्य चौकी र अस्पतालहरुमा आङ खस्ने समस्या भएकाहरुको लागि रिंग पेसरी राख्ने लगायतका सुविधा उपलब्ध छ ।उपचारको लागि काठमाडौं लगायतका ठुला शहरहरुमा योनि मार्ग वाटै शल्यक्रिया गरेर दिसा र पिसाव नली लगायतकालाइ आफ्नो वास्तविक स्थानमा राख्ने गरिएको डा.दंगाल वताउछन ।

काठमाडौं मोडल अस्पतालमा विभिन्न दाताहरुको सहयोगमा यो शल्यक्रिया हाल नि:शुल्क रहेको डा.दंगाल वताउछन । यस्तै विमा लागु भएको अस्पतालहरुमा समेत यो शल्यक्रिया निःशुल्क हुन सक्छ । विमा लागु नभएका प्रसुती गृह लगायतका ठुला सरकारी अस्पतालहरूमा समेत आङ खस्ने समस्याको शल्यक्रिया निःशुल्क हुने गरेको उनि वताउछन ।

शुरुकै अवस्थामा उपचार शुरु गर्नु फायदा जनक
पाठेघर खस्ने समस्या शुरु भएकै अवस्थामा उपचार प्रकृया शुरु गर्दा श्रोणी ( पेल्भीक ) क्षेत्रको मांसपेशी वलियो वनाउने किगल व्यायाम, कव्जियत वाट जोगाउने आदि गरेर तत्काल शल्यक्रिया नै गर्नु पर्ने अवस्था वाट जोगाउन सकिन्छ ।

तर यो विधि पुर्ण उपचार नरहेको र यसले गर्दा विरामीलाइ थप सहयोग पुग्ने जनाउदै डा.दंगाल भन्छन–‘पाठेघर वा क्षेत्र पुरै निस्कि सकेकोलाइ शल्यक्रिया नै गर्नु पर्छ ।’

विज्ञहरुको अनुसार समय मै शुरु गरिएको केही किगल लगायतका खास व्यायाम र बचाउका उपायहरुले भविष्यमा आउने सक्ने शल्यक्रियाको अवस्थालाइ लम्व्याउन वा आउन नै नदिन समेत भुमिका खेल्न सकछ ।

महिला स्वास्थ्य को मुद्दा ओझेलमा
धेरे जसो संञ्चार माध्यमले महिला स्वास्थ्य सँग सम्वन्धित पाठेघर खस्ने समस्या, पाठेघर मुखको क्यान्सर, प्रजनन स्वास्थ्य लगायतका लेख, रचना, मुद्दा आदिलाइ अति कम मात्रामा प्राथमिकता दिने गरेको एउटा अध्ययनले देखाएको छ ।

सन २०२१ को जुलाइ देखी मइ २०२२ सम्म विभिन्न राष्ट्रिय स्तर लगायतका अन्य मिडियामा प्रकासित सामाग्री लाई विश्लेषण गर्दा उक्त नतिजा देखिएको हो ।

मित्र समाजद्वारा गरिएको उक्त अध्ययनको प्रमुख अनुसन्धानकर्ता लाछिरिङ ग्लान तामाङका अनुसार पछिल्लो दिन मिडिया मुख्य रुपमा कोभिडमा केन्द्रित भएकोले समेत महिला स्वास्थ्यको मुद्दा ओझेलमा परेको हो ।

उनको अनुसार कोभिड काल भन्दा अगाडी एक त मिडियाले स्वास्थ्य लाई उच्च प्राथमिकतामा कहिल्ये राखेको देखिएन कोभिड कालमा समेत योप्राथमिकतामा परेन।

संञ्चार माध्यम, सामाजिक संञ्जाल आदिमा महिला स्वास्थ्य उच्च प्राथमिकतामा नभए सम्म जनचेतनाको स्तरमा अपेक्षित बृद्घि देखिदैन भने अन्ततः मुलुकको एउटा ठुलो जनसंख्या प्रभावित हुने समेत उनि वताउछन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!