‘किन गरिव राष्ट्रमा मुटु रोगको प्रकोप धनी राष्ट्र भन्दा बढी छ ? मुटु रोग विशेषज्ञ डा.ओम मुर्ति अनिल’

नेपाल जस्तो गरिव राष्ट्रमा मुटु रोगको कारण मृत्यु हुनेको संख्या ७५% भन्दा बढी छ ।हृदयरोग वाट आकाल मृत्यु हुने घटना ८५% जति गरिव राष्ट्रमा हुन्छ । यसैले हामीले रोगै लाग्न नदिने, जीवनशैली लाइ सुधार गर्ने, अलिकति जोखिमका कारक देखिए, त्यसको समय मै पहिचान र उपचार गर्ने तर्फ लाग्नु पर्छ


नेपाल जस्तो गरिव राष्ट्रमा मुटु रोगको कारण मृत्यु हुनेको संख्या ७५ प्रतिशत भन्दा बढीछ ।संसार भरिमा मुटु र रक्त नली संग सम्वन्धित (कार्डियो भास्कुलर) रोगले हुने मृत्यु, जसमा मस्तिष्क घात र हृदयघात पनि समावेस छ, त्यसबाट हुने ७५ प्रतिशत भन्दा बढी मृत्यु निम्न र मध्यम आय भएका नेपाल जस्तो राष्ट्रमा हुने गर्छ । यो विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नया तथ्याङ्क हो ।

धेरै व्यक्ति लाइ के लाग्छ भने मुटु रोग संग सम्वन्धित समस्या धनी व्यक्ति लाइ, धनी राष्ट्रमा बढी हुने गर्छ । तर वास्तविकता यसको ठ्याक्कै उल्टो रहको छ । धनी राष्ट्र र व्यक्तिको दाँजोमा गरिव राष्ट्रमा , गरिव व्यक्ति लाइ मुटु रोग संग सम्वन्धित समस्याको प्रकोप बढी सामना गर्नु पर्छ ।

यसको कारण के हो ? ल हामी खोतलौँ त । सामान्य रुपले हेर्दा नै हामी धेरै कारणहरु पाउन सक्छौं ।सव भन्दा पहिलो कारण नै मुटु रोगको कारक (फ्याक्टर) हरु गरिव राष्ट्रको गरिव व्यक्ति मा उत्तिकै व्याप्त छ । जस्तै चुरोट मदिरा गरिवीले पनि खान्छन् । धनी र गरिव देशमा यसको उपयोग उस्तै जस्तो छ ।

फलफुल र सागसब्जी, हरियो तरकारी, रेसा दार खानेकुरा, गरिव राष्ट्रमा झन कम उपयोग हुन्छ ।नुनको उपयोग गरिवले धेरै बढी गर्छन ।चिनी को उपयोग अझ बढी गर्छन । मानसिक तनाव ले गरिव लाइ पनि असर गर्छ । वंशाणुगत कुराले समेत गरिवलाइ असर गरिरहेको हुन्छ ।

मोटोपनाको समस्या धनीमा अलि बढी छ र गरिवमा अलि कम देखिएको छ । शारिरीक निस्किृयता गरिवमा कम छ र धनीमा बढी छ । भन्नाले मुटु रोगको १० वटा प्रमुख कारकहरू मा ६–७ वटा कारक हरु त गरिव र धनीमा उस्ता उस्तै छन । केहि कुरा त गरिव मै बढी छन ।

जस्तै सुगर (चिनी), प्रेसर (रक्तचाप), कोलेस्टेरोलको समस्या धनीमा अलि बढी छ र गरिवमा अलि कम छ । यसरी मुटु रोगका कारण हेर्दा खेरी गरिवमा पनि उत्तिकै व्याप्त पाइन्छ ।

यो कुरा नेपालको सन २०१९ मा गरिएको स्टेप सर्वेक्षण र हामीले सन २०१४ मा काठमाडौं उपत्यकामा गरेको अनुसन्धानले पनि पुष्टि गर्छ की कार्डियो भास्कुलर रिस्क फ्याक्टर (मुटु र रक्तनली सम्वन्धि रोगको जोखिमको कारक) को नेपालमा प्रिभलेन्स (प्रसार) र अन्तर्राष्ट्रिय तथ्याङ्क संग उस्ता उस्तै मिल्छ ।

उच्च रक्तचाप नेपालमा पनि २५ प्रतिशत छ विश्वमा पनि २५ प्रतिशत छ । भन्नाले मुटु रोगको कारण त हामी संग पनि उत्तिकै छ । मुटु रोगको कारण र कारक भयो भने मुटु रोग लाग्छ ।

कुनै व्यक्तिलाई मुटु रोग लाग्यो भने धनी राष्ट र गरिव राष्ट्रमा के परक छ त ? अब मुटु रोग को कारण वारे दोश्रो चरणको कुरा गरौ ।पहिलो चरण वारे हामीले यो लेखमा यस अघि नै धेरै चर्चा गरि सक्यौं ।

दोश्रो चरण अन्तर्गत रक्तचाप, चिनी, कोलेस्टेरोल आदि । यसको पहिचान, उपचार र नियन्त्रण गरिवीले राम्रो गर्न सक्छन की धनीले ? विचार गरौ त । उत्तर स्पष्ट छ, पकै धनीले राम्रो गर्न सक्छ । किनभने यसको लागि ज्ञान पनि हुनु पर्यो, पैसा र सुविधा र मोटिभेसन (अभिप्रेरणा) पनि हुनु पर्यो । यो गरिव भन्दा धनीले बढी गर्न सक्छ ।

त्यो भन्नाले रिस्क फ्याक्टर (जोखिमका कारकहरू) हरुको पहिचान, उपचार र नियन्त्रण गरिबको दाँजोमा धनीले बढी राम्ररी गर्न सक्छन ।

अर्थात प्रेसर (रक्तचाप), सुगर (मधुमेह) र कोलेस्टेरोल(वोसो जम्ने समस्या) ले आफनो प्रकोप धनीको दाँजोमा गरिवमा बढीदेखाउँछ ।

अव तेश्रो तेश्रो चरणमा प्रवेश गरौं । कसैलाई मुटु रोग लाग्यो । मुटु रोग भयो भने एउटा धनीले पहिले पहिचान गर्न सक्छ, किनभने उसलाई ज्ञान छ, उसले रोग, लक्षणहरूको वारेमा सहज रुपमा पहिचान गर्न सक्छ । उ संग पहुँच छ, पैसा छ, उसले सहज रुपमा उपचार गराउन सक्छ । प्रारम्भिक चरण मै धनीले मुटु रोगको निदान, उपचार गर्न सक्छ र भविष्यमा यो समस्याले गर्दा देखिन सकिने जटिलता वाट वाच्छन ।

अव हेरौं, गरिवीले के गर्छ ? उसले लक्षण लाइ सहजै पहिचान गर्दैन । हर्ट एटैकलाइ पनि ग्यास्ट्रिक भनेर घरमा वस्न सक्छ । उ संग पैसा हुदैन, पैसाको कमीले हस्पिटल जान चाहँदैन । उपचार गराउन चाहँदैन । उपचार गरे पनि पैसाको कारणले आर्थिक र अरु सामाजिक कुराहरुले उपचार र फलो– अप गर्दैन वा यसलाई निरन्तरता दिन सक्दैन ।अव उ (गरिव) मुटु रोगको जटिलताको चरणमा पुग्छ ।

अर्थात धनी देशमा कसैलाई हर्ट एटैक भयो मस्तिस्काघात (स्ट्रोक) भयो भने उपचार प्रकृयामा जाने तुरुन्त सुविधा उपलब्ध हुन्छ । एम्वुलेन्स, हस्पिटल, इमर्जेन्सी को व्यवस्था , विमा, विज्ञ तुरुन्त उपलब्ध भएर उपयुक्त स्वास्थ्य उपचार र स्याहार पाइन्छ ।

हर्ट एटैक भए पछि धनी देशमा ८ प्रतिशत मान्छे मर्छन् । तर गरिव देश मा कति प्रतिशत मान्छे मर्छन्, एक पटक यसबारे सोचौं त ? ४० प्रतिशत , ५० प्रतिशत ? यस्तो खासै तथ्याङ्क छैन ।

तर गरिव राष्ट्र मा हर्ट एटैक भएका मध्ये आधा जतिको मृत्यु हुने गरेको छ । किन भने हामी कल्पना गरौं मेची, महाकाली पहाडको क्षेत्रमा रहेका एउटा दुर्गम व्यक्तिलाई हर्ट एटैक भयो भने ३ घन्टा भित्र एन्जियो प्लास्टि हुन सक्छ ? जसमा अढाइ , तिन लाख रुपिया खर्च लाग्छ ? सामान्यतया हुन सक्दैन ।

काठमाडौ मा त हर्ट एटैक भएका व्यक्ति औसत रुपमा १२ घन्टा ढिलो गरी अस्पताल पुग्ने गरेको अध्ययनहरुले देखाएको छ ।
जवकी ३ –४– ६ घन्टा भित्र हर्ट एैेक भएकाको उपचार गर्नु पर्ने हुन्छ । शहर मै उपचार अर्थात एम्बुलेन्सको सुविधा हुदैन, ट्राफिक जाम हुन्छ, समय मै विरामी अस्पताल पुग्दैन । आफूलाई हृदयाघात भएको पहिचान गर्दैनन् ।

त्यसपछि जटिलता शुरु हुन्छ । घरको मुख्य मान्छेलाई हर्ट एटैक भएको हुन्छ । हर्ट एटैक वा स्ट्रोक कमाउने उमेर समुहमा बढी हुने गर्छ । अर्थात ७० वर्ष मुनीकाहरुमा । ८५ प्रतिशत यो घटना गरिव राष्ट्रमा छ । यसैले हृदय रोग वाट आकाल मृत्यु ( प्रि म्याच्योर डेथ फ्रम कार्डियो भास्कुलर डिजिज) हुने घटना ८५ प्रतिशत जति गरिव राष्ट्रमा हुन्छ ।

अव व्यक्ति विशेषलाई हर्ट एटैक भइ सके पछि त उपचार एकदम खर्चिलो छ ।जटिलतामा गए पछि मिहेनत, पैसा र समय बढी लाग्छ । र प्रभावित व्यक्तिले पैसा पनि कमाउन सक्दैन । यसले मानसिक , समाजिक , आर्थिक सवै तिर वाट विरामी पिडित हुन्छ ।

अव हेरौं , घरको मुख्य मान्छे कमाउन सक्दैन । यसले फेरी मनोवैज्ञानिक असर अन्तर्गत व्यक्तिलाई झन ‘दमन’ मा लान्छ । मानसिक रोगको सिकार वनाउछ, आयु घट्छ र अन्ततः चाडै मृत्यु हुन्छ ।

यो सवै घटना प्रकृयालाई चरणवद्ध रुपमा हेर्दा खेरी व्यक्तिलाई हर्ट एटैक , स्ट्रोक (मस्तिष्क घात) धनी मात्र हैन गरिव, विकासिल राष्ट्रमा पनि उतिकै सामान्य समस्या हो ।

तर यो समस्याको पहिचान नभएर हामी भ्रम मा छौं की यो हामी कहा हुदैन वा धेरै कम हुन्छ । यसैले यदि हर्ट एटैक , स्ट्रोक हाम्रो जस्तो मुलुकमा भयो भने मान्छेको मृत्युको सम्भावना धनी राष्ट्रको दाँजोमा धेरै बढीहुन्छ । यहि समस्या धनी देशका व्यक्तिलाई हुदा उ चाहि समय मै उपयुक्त उपचार पाएर जोगिन्छ।

त्यसैले हाम्रो जस्तो गरिव र विकासोन्मुख राष्ट्रमा मुटु र रक्त नली संग सम्वन्धित रोग र यसले एकासी हुने मृत्यु वाट जोगाउन स्वास्थ्य शिक्षा (हेल्थ लिटरेसी) नै सवै भन्दा महत्वपुर्ण कुरा र उपयुक्त औजार हो ।

स्वास्थ्य सचेतना को अभियान चलाएर हामीले व्यक्तिलाई रोगै लाग्न नदिने, जीवनशैली लाइ सुधार गर्ने, अलिकति जोखिमका कारक (रिस्क फ्याक्टर) देखिए, त्यसको समय मै पहिचान र उपचार गर्ने तर्फ लाग्नु पर्छ ।

मुटु रोग जटिलतामा न जाओस् भनेर समयमै रोग पहिचान र उपचार गर्नु पर्छ । यस्तो गरियो भने कम पैसामा मुटु रोगको प्रकोपबाट हामी राम्ररी जोगिन सक्छौं ।

(डा . ओममुर्ति भारतको नयादिल्ली स्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडीकल साइन्स (एम्स) बाट इन्टरभेन्सन कार्डियोलजि मा डिएम हुन्)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!