मुलुक कै पहिलो मानव मिल्क बैक शुरु
यो मानव दुग्ध बैक अन्तर्गत आमाको दूधलाई संक्रमणमुक्त गरि ६ महिनासम्म भण्डारण गरेर आवश्यकता अनुसार शिशुहरूलाई खुवाउन मिल्ने व्यवस्था लागू गरिएको छ
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालको ६३ औं वार्षिकोत्सव समारोहमा अमृत कोषको नामले स्थापित मुलुकको पहिलो मानव दुग्ध बैकको उद्घाटन गरेकी छिन ।
यो मानव दुग्ध बैक अन्तर्गत आमाको दूधलाई संक्रमणमुक्त गरि ६ महिनासम्म भण्डारण गरेर आवश्यकता अनुसार शिशुहरूलाई खुवाउन मिल्ने व्यवस्था लागू गरिएको छ । यो केन्द्रको नेपाली नामकरण अमृत कोष रहेको छ ।
यसले समय नपुगी जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई सबैभन्दा बढी आवश्यकता परेको बेलामा अरू आमाहरूको दूध उपलब्ध गराउँछ ।
यस आमाको दूध भण्डारण केन्द्र अर्थात ह्युमन मिल्क बैकबाट आमाको दूधबाट बञ्चित शिशुहरू प्रत्यक्ष लाभान्वित हुने अस्पतालले जनाएको छ ।
आमाको दूध खान नसक्ने, आमाले खुवाउन नसक्ने, दुध न आउने आमा लगायतकाको समस्या यो मिल्क बैंकले समाधान गर्न सक्ने अस्पतालका निर्देशक प्रा.डा.अमिर बाबु श्रेष्ठ बताउँछन ।
उनको अनुसार आमाले आफ्नो बच्चालाई पुगेर बढी भएको दुध यहा दान गर्न सक्छिन् भने आमाको दूध आउने तर बच्चाले खान नसक्ने हरु वाट संकलित गर्न सकिन्छ ।
प्रसुतिगृहको आकलन अनुसार मिल्क बैकले हरेक महिना एक हजार भन्दा बढी शिशुहरूलाई प्रत्यक्ष लाभ दिने छ । पूर्ण स्तनपानले विश्वभर हरेक वर्ष ५ वर्ष उमेर मुनिको सम्भावित मृत्युलाई १३ प्रतिशतले कम गर्न सकिन्छ । यस्तै, जन्मेको पहिलो घण्टा भित्र गराइने स्तनपान सागै पूर्ण स्तनपानले विश्वभरिका सबै नवजात शिशुको मृत्युलाई २२ प्रतिशतले घटाउन सक्छ ।
मिल्क बैंकको सफलता बाट नेपालको उच्च शिशु मृत्यु दरमा कमी ल्याउन सहयोग मिल्ने निर्देशक डा. श्रेष्ठ बताउँछन । उनको अनुसार निकट भविष्य मै यस्ता केन्द्रहरू देशका सातै प्रदेश हरूमा स्थापना हुने छ ।
प्रतिक्रिया दिनुहोस